दैनिक पत्रिकाहरू हेर्दै जाँदा …
- भाद्र ८, २०८३
ठुलो वा सानो हरेक वस्तु वा प्राणीका आ–आफ्नै कमजोरी हुन्छन् । साइकल चालकले तत्काल आफ्नो वाहनलाई रोक्न सक्छ र ठुला बस र ट्रकलाई डात्रले तत्काल रोक्न सक्दैन । त्यस्तै धेरै छिटो गतिमा उड्ने हवाईजहाज रोक्न खोज्दा खोज्दै धेरै अगाडि बढिसकेको हुन्छ । ठुल–ठुला पानीजहाज आफ्नो गन्तव्य बदल्न खोज्दा खोज्दै केही माइल अगाडि बढिसकेको हुन्छ र आफ्नो पिँधको उचाइ धेरै हुँदा समुद्र किनारको नजिकसम्म पुग्न सक्दैन ।
त्यस्तै ससाना प्राणीहरू छिट्टै घुमफिर गर्न सक्ने र उठबस गर्न सक्ने हुन्छन् भने हात्ती लडेपछि छिटो उठ्न सक्दैन । त्यस्तै हरेक प्राणीका आआफ्नै कमजोरीहरू हुन्छन् । ‘मानिस सृष्टिको मुकुट’ भनिन्छ । मानिसहरूले संसारको उत्पत्ति र भौगोलिक नाप–तौल अनेक प्राकृतिक प्रकोप र त्यसका कारण, पृथ्वीको गति र ब्रह्माण्डका गम्भीर तथा गणितीय हिसाब–किताब एवं विज्ञान र प्रविधिका अनेक विस्मयकारी वस्तु र जीवनबारे पत्ता लगाए; जानकारी एवं आविष्कारहरू गरेर देखाए ।
त्यही वैज्ञानिकहरूकै देश र त्यहाँ शासन चलाउने शक्तिशाली शासकहरूले गाजाजस्ता क्षेत्रमा विध्वंसकारी र अमानवीय ढङ्गले बालबालिका र महिलाहरूको हत्या र हिंसाको प्रदर्शन गरी मानिसभित्रको राक्षसी प्रवृत्ति निरन्तर प्रदर्शन गरिरहँदा मानिसमा अझै बर्बरता र नृशंसता बाँकी रहेको अनुभव गर्दा मानिसका कमी कमजोरीले बिदा लिई नसकेको प्रस्ट हुन्छ ।
नेपालको सन्दर्भमा शासक दलका नेताहरूले निर्वाचनमा विजय हासिल गरेका हुन्छन्, जनताबाट प्रत्यक्ष र परोक्षरूपमा निर्वाचित प्रधानमन्त्री र राष्ट्रपतिहरूका अनेक सबल र कमजोर पक्षहरूको कारण देश सामाजिक, राजनैतिक, आर्थिक र नैतिकरूपले कमजोर हुँदै गएको देश र विदेशका जनताले अनुभव गर्दै छन् ।
राजनीतिक दलहरू केन्द्रदेखि प्राथमिक तहसम्म भ्रष्टाचार र कामचोर भावनाबाट नराम्रोसँग पीडित छन् । आर्थिकरूपले देश एकातिर ऋणमा डुब्दै छ भने अर्कोतिर राजस्व (भन्सार, अन्तशुल्क, दण्ड, जरिवाना आदि) घट्दै छ । कृषिको लगानीमा व्यापक चुहावट छ, उद्योगको निम्ति सहुलियत चालु छ तर औद्योगिक उत्पादन अदृश्य छ । जनशक्तिअनुसारको कृषि उत्पादन नहुँदा भारतीय कृषि उत्पादन आयातको कारण देशको कृषि उत्पादन निरुत्साही हुँदै छन् । नेपालका केही शिक्षण संस्थाहरूबाहेक अत्यन्त बढी शिक्षालयहरू बन्द हुँदै छन्; शिक्षाको स्तर घट्दो छ; नेपाली विद्यार्थीहरू भारतीय र अन्य देशमा पलायन हुँदै छन् । देशको एकतिहाइ जनसङ्ख्या विदेश पठाउने खोटपूर्ण नीतिले नेपाली समाज भताभुङ्ग हुँदै छ । देशको राजनैतिक अवस्था मूल्यहीन र आपराधिक स्थितिमा तल झर्दै छ । सैद्धान्तिक, नीतिगत र देशभक्तिको भावनाको हिसाबले शिक्षा सुन्ने प्रायः हुँदै छ । समग्रमा देश दुर्भाग्यतर्फ अग्रसर छ ।
नेता र माथिका पदस्थ व्यक्तिहरू र परिवारका सदस्यहरू अपराधमा तानिँदै छन्, आदर्श पुरुषहरूमा धुलोमैलो देखिँदै छन् । सरकारी उपचार केन्द्रहरू, बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान तथा नेताहरूका नाउँका स्थापित संस्थाहरू भ्रष्टाचारमा चुर्लुम्म डुब्दै छन् र नेपाल एवं नेपालीको छवि मैलिँदै छन् । अब त्यसबाट मुक्तिको बाटो पहिल्याउन ढिलो गर्नु आफ्नै अस्तित्वलाई अस्वीकार गर्नु जस्तो हुनेछ ।
Leave a Reply