भर्खरै :

नेता नभई पार्टी हुँदैन, पार्टी भएन भने नेता पनि हुनेछैन

माथिको सच्चाइ हुँदै पश्चिमबाट पूर्वसम्मको नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरूले जनतासँगको छलफलमा एकैमुखले भनेजस्तै नेपाली काङ्ग्रेसका नेता शेरबहादुर देउवा, एमालेका नेता केपी शर्मा ओली र एमाओवादी नेता प्रचण्डलाई समान रूपले असफल र अयोग्य नेताको चित्रण गरे । कारण सोध्दा जनताले क्षेत्रवादी, जातिवादी र आफ्नै मानिसलाई मात्र काम दिने, पदमा राख्ने र ठेक्का दिने बताए । ओलीको विषयमा उनीहरूले अति घमण्डी, जुहारी खेल्न मन पराउने र कामको कुरै नगर्ने खालि आफ्नो जिल्लाको र क्षेत्रको विकासमा बजेट लगानी गर्ने गुनासो गरे । प्रचण्डको विषयमा जनताले खालि प्रधानमन्त्री हुन खोज्ने, काम केही नगर्ने, अस्थिर र आफ्नै पार्टीका कार्यकर्ताहरूलाई पैसाले मात्रै मुखमा बुजो लगाउने आदि आरोप लगाए ।
आखिर बुद्धिजीवी र पार्टीका माथिल्ला कार्यकर्ताहरूलाई थाहा छ – नेता भनेको पार्टी हो र नेता नभई पार्टी चल्दैन । तर, बुद्धिजीवी समुदाय र माथिल्ला कार्यकर्ताहरू आआफ्ना नेताहरूलाई सत्तोसराप गर्दा समेत पार्टी र नेताको अन्तरसम्बन्धबारे किन मौन बस्छन् ? जनतालाई बुझ्न गाह्रो यही विषय हो । सत्य के हो भने हरेक राजनीतिक पार्टीको स्थापना हुँदा विचार मिल्ने समूहहरू मिलेर सुरुमै कुनै एक नेतालाई चुनेका हुन्छन् । पछिपछि सैद्धान्तिक मत मतान्त्तर, नीतिगत विचारमा एकमत हुन नसक्दा र नेताको व्यक्तिगत कमजोरीलाई समेत लिएर पार्टी फुटेर वा सम्मेलन वा महाधिवेशनबाट नयाँनेतृत्व चयन गर्दै आएका हुन् ।
विदेशमा पनि राजनैतिक सङ्गठन वा सङ्घसंस्थाहरू एकपछि अर्को फुट्ने र जुट्ने गरेका छन् । त्यसमा सिद्धान्त एवं नीतिबारे नेताहरूमा भिन्नता र व्यक्तिगत कारणले पनि विभाजनहरू भएका छन् ।
नेपालको राजनीतिक इतिहासमा ‘राष्ट्रिय काङ्ग्रेस’ भित्र‘रेग्मी गुट’ र ‘कोइराला गुट’ को रूपमा विभाजित भयो । पछि ‘सुवर्णशमशेर’ को नेतृत्वको ‘प्रजातान्त्रिक काङ्ग्रेस’ र कोइराला नेतृत्वको ‘राष्ट्रिय काङ्ग्रेस’ को ‘राष्ट्रिय’ झिकेर ‘नेपाली काङ्ग्रेस’ बन्यो ।
तर, भारतीय राष्ट्रिय काङ्ग्रेसमा पूर्वसभापति अब्दुल कलाम आजाद भने गान्धीजी र नेहरूको नीतिसँग असहमत भई सभापतिको निर्वाचनमा उठेनन् वैचारिक मतभेदकै कारण । अर्थात्, बेलायती उपनिवेशवादको विरोधमा सशस्त्र क्रान्ति गर्नेबारे सुभाषचन्द्र बोष र गान्धीजीहरूसँग मतभेदको कारण राष्ट्रिय काङ्ग्रेसबाट अलग भई बोषले ‘हिन्द आजाद फौज’ को निर्माण गरे । यो मतभेद व्यक्तिगत नभई नीतिगत निर्णयहरू थिए ।
त्यस्तै सोभियत सङ्घभित्रको सोभियत कम्युनिस्ट पार्टीको मतभेद समाजवादको हितमा साम्राज्यवादीहरूसँग सङ्घर्ष गर्ने हो वा शान्तिपूर्ण रूपले पुँजीवाद र समाजवादको बिचमा शान्तिपूर्ण रूपमा वा सशस्त्र सङ्घर्ष गर्ने भन्ने थियो । कम्युनिस्ट आन्दोलनभित्रै बसेर पुँजीवादको हित हुने उद्देश्यले ख्रुश्चेभ गुटले अमेरिकी साम्राज्यवादको अगाडि घुँडा टेक्ने नीति लियो । त्यसकोे विरोधमा क्रान्तिकारी कम्युनिस्टहरूले संशोधनवादीहरूको विरोधमा गरिएको सङ्घर्षलाई सैद्धान्तिक सङ्घर्ष भनिन्छ ।
व्यवहारले साबित ग¥यो ख्रुश्चेभहरूको साम्राज्यवादसँगको मेलको नीतिअनुसार सोभियत सङ्घ पूर्वी युरोपका साम्राज्यवादी देशलाई एकएक गरेर पुँजीवादको पुनःस्थापना गराइयो र सोभियत सङ्घमा समेत पुँजीवादको पुनःस्थापना गराउँदै सोभियत सङ्घलाई पन्ध्र टुक्रामा विभाजित गरी समाजवादलाई विघटन गर्ने अपराध ग¥यो । यस्ता सङ्घर्ष नेताहरूको व्यक्तिगत स्वार्थको विषय नभई सैद्धान्तिक सङ्घर्ष भन्ने हो । राजनीतिक दलहरूले आआफ्ना कार्यकर्ताहरूलाई मतभेदलाई सुरुदेखि प्रस्ट पारेका भए पार्टीहरूमा पद, पैसा र व्यक्तिगत स्वार्थको चर्काे प्रतिस्पर्धा हुने थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *