म भैल खः हुँ
- बैशाख ४, २०८३
नेपाली भाषाको एउटा पृथक उपन्यास ‘गुलरको फूल’ का लेखक हुन् माधव प्याकुरेल । जब मैले यो पुस्तक पढ्न खोजेँ यसको शीर्षकले नै मलाई आकर्षित ग¥यो । यो फूलको नाम कहिल्यै सुनेको थिएन; त्यसैले अनौठो लाग्यो । गुलर कस्तो फूल होला, यसको अर्थ के होला भन्ने जिज्ञासाले गर्दा मैले पढ्न आरम्भ गरेँ ।
यो उपन्यासमा २६ खण्ड छन् । उपन्यासमा विसं. २०१६ सालदेखि २०६२÷६३ सालसम्मको कथावस्तु समेटिएको छ । उपन्यासका प्रमुख पात्र रुदल हुन् । उनी इन्डियाका एक माझी हुन् । गण्डक नदीछेउ इन्डियाको चम्पारणमा पर्ने भैँसालोटनमा उनको घर हुन्छ । उनीहरू माझी भएकाले पुख्र्यौली पेसा नै गण्डक नदीमा माछा मार्ने, बेच्ने र जाल बुन्ने हुन्छ ।
रुदलले गण्डक नदीमा बाँध बनाउने समाचार सुन्छन् र खुसी हुन्छन् । उनीमात्र नभई गाउँका अरु पनि औधी खुसी हुन्छन् । बर्खा याममा गण्डक खोलाले खेतबारी, घर, पशु, मान्छे सबैलाई बगाउँछन् । रुदलकी आमालाई पनि बाढीले नै बगाएको हुन्छ । गण्डक नदीमा बाँध बन्ने कुराले उनीसँगै भैँसालोटन गाउँका सबैको मुहार उज्यालो हुन्छ । गण्डक नदीमा ब्यारेज बन्यो तर सबैको पीडा जस्ताको तस्तै रहन्छ । झन् ब्यारेज बनेपछि माछा मार्न पनि प्रतिबन्ध लगाइन्छ । खेतबारीमा पानी पुग्दैन ।
उनी श्रीमती गेगरीसँगै दुई छोरा रामाज्ञा र भुलुवालाई लिएर वाल्मिकी आश्रम आउँछन् । रुदलले त्रिवेणीमा हर्के दाइसँग मिलेर उनको होटलको छेउमा पान पसल खोल्छन् । उनको घरमा नयाँ सदस्यको आगमन भइसकेको हुन्छ । छोरीको नाम कलावती (कलौतिया) हुन्छ । रुदलको पसलमा पहाडिया बाजे लक्ष्मीप्रसाद आउँछन् । बिस्तारै उनीहरूबिच मित्रता बढ्छ । रुदल बाजेको घर सिमरातिर घुम्न जान्छन् । उनले पसलमा रामाज्ञा र श्रीमतीलाई राखेका हुन्छन् । रुदललाई जमिनदार राणाको घरमा बाजेले काम लगाइदिन्छन् । त्यसपछि रुदलले गेगरी, भुलुवा र कलौवियालाई पनि यतै लिएर आउँछन् । केही समयमा नै जमिनदार राणा उक्त ठाउँ छोडेर बहिनीकोमा जान्छन् । रुदल पनि बाजेसँग सरसल्लाह गरेर सबै बाराको फत्तेपुर जान्छन् ।
रुदल र बाजेको भेट एक पण्डितसँग हुन्छ । त्यहाँको जग्गामा छाप्रो बनाएर रुदल र बाजेको परिवार बसोबास गर्न थाले । रुदलले खेती गर्छन् । बाजेले त्यसको रेखदेख गर्छन् । केही समयपछि राम्रै कमाइ हुन्छ । यता रुदलले अफिम र गाँजाको खेती गरेर राम्रै कमाइ गर्छन् । पछि यस्तो खेती गर्न नहुने थाहा पाउँछन् । सरकारले गाँजा खेती गर्न प्रतिबन्ध लगाउँछ । त्यसपछि रुदलले पशु किनबेच गर्ने काम गर्न थाले ।
पण्डितका छोरा मुकेश र रुदलका कान्छा छोरा भुलुवा एकदम मिल्ने साथी हुन् । मुकेश गोरो वर्णको हुन्छ भने भुलुवा कालो । बाउको जस्तै यिनको मित्रता पनि अति प्रगाढ हुन्छ । एक दिन स्कूल छुट्टीको बेला उनीहरू माछा मार्न जान्छन् । मुकेशले माछा भनेर सर्प समाउँछ । सर्पबाट डराउने हुनाले ऊ कालोनिलो हुन्छ । भुलुवाले उसको निम्ति घुँगी ल्याइदिन्छ । यो कुरा मुकेशकी आमाले थाहा पाउँछिन् र ‘पण्डितको छोरा भएर घुँगी खान्छस्’ भन्छिन् । भुलुवाले फकाउँदै भन्छ – घुँगी खाए रगत बढ्छ, यो मुकेशको शरीरमा रगतै छैन । त्यसपछि भुलुवाले घुँगी खान सिकाउँछ । जति गरे खान नजानेपछि मुकेशले धेरै खान मान्दैन । त्यसपछि भुलुवाकी बहिनी कलौतियाले बोलाउँछे र भुलुवा घरतिर लाग्छ ।
बाजे, पण्डित र रुदलको मित्रता धेरै गहिरो थियो । पूरै गाउँ मिलेर बसेको थियो । गाउँले सबै एक झुप्पाजस्ता थिए । सुत्ने र पकाउने ठाउँ फरक भए तापनि हिन्दूको घरमा पाकेको परिकार मुसलमानकहाँ पुग्थ्यो भने त्यहाँ पोकेको हिन्दूको घरमा पुग्थ्यो । जातिका आधारमा कुनै भेदभाव थिएन । एउटा घर दुःखी भए पूरै गाउँ नै दुःखी हुन्थ्यो । सबैले एक अर्कोलाई सक्दो सहयोग गर्थे । हुन त सबैलाई गरिबीले नै थिचेको थियो तर पनि सहयोग गर्न कोही पछि हट्दैनथे ।
सबैको आँखामा राखे पनि नबिझाउने भए पनि बाजेको स्वास्नी कुट्ने बानी भने राम्रो थिएन । अलिकति रिस उठ्यो कि स्वास्नी कुटिहाल्थे । कुट्नु पनि कहाँ कम हो र ? शरीरैभरि निलडाम हुन्थ्यो । बिचरा बज्यै हप्तादिन ओछ्यानमा हुन्थिन् । जति वाचा–कसम खाए पनि रिस उठ्दा बाजे बिर्सिहाल्थे । सहने पनि सीमा हुन्छ । त्यसैले, बज्यै घर छोडेर माइत गइन् । रुदल र बाजे लिन नगएका होइनन् । तर, उनी आइनन् । त्यसपछि पण्डित र रुदल मिलेर बाजेको अर्को विवाह गरिदिए ।
रुदलकी श्रीमती गेगरीलाई सर्पले टोक्छ र उनको ज्यान जान्छ । सम्पूर्ण गाउँ नै दुःखी हुन्छ । उनको क्रिया गर्न रामाज्ञा र हर्के दाइ पनि आउँछन् । क्रियाको काम सकेर उनीहरू फर्किन्छन् । भर्खरै त खेल्ने उमेर थियो कलौतियाको । आमा मरेपछि अब उसले घरको जिम्मेवारी पनि उठाउनुप¥यो । सधैँ परिवारलाई कसरी खुसी राखौँ भन्ने गर्थिन् गेगरी । सन्तानलाई आफ्नो प्राण ठान्थिन् उनी । तर, सधैँलाई सबैलाई छोडेर गइन् । कलौतिया आमालाई सम्झेर धेरै रुन्छे ।
उमेर सानै भए पनि कलावती हलक्क बढेकी थिई । त्यसैले उसको विवाह गर्ने भनेर जेठो दाइ रामाज्ञाले केटा खोजेको हुन्छ । भुलुवालाई यता छोडेर रुदल र कलावती इन्डियाको भैँसालोटन जान्छन् । सबैलाई केटी मन पर्छ । त्यसपछि दहेजको कुरा चल्छ । त्यो पनि दिने भएपछि तिलकको साइत जराएर तिलकको काम पूरा गर्छन् । त्यसपछि विवाह हुन्छ । दुलहाले साइकिल नदिए विवाह नगर्ने भन्छ । दुई–तीन महिनामा साइकल दिने भएपछि विवाह सम्पन्न हुन्छ । उमेर नपुगेकाले कलावती माइतीमा बस्छिन् । पछि गौना गरेर लिन आउने कुरा हुन्छ ।
बाजेकी कान्छी श्रीमतीबाट बालबच्चा हुन्छन् । उनले नगरेको काम केही पनि हुन्न । उनी गरिबीलाई पछार्न खोज्थे तर गरिबीले उनलाई पछाथ्र्यो । यसरी दुवैबिच भीषण युद्ध हुन्थ्यो र बाजे हार्थे । उनको नाम लक्ष्मीप्रसाद थियो तर लक्ष्मीले कहिल्यै साथ दिन्निन् । गाईसँग घोडी साटेर काम गर्छन्, भैँसी पाल्छन्, कोही काम बाँकी राख्दैनन् । तर, उनी कहिल्यै गरिबीको रेखामाथि उठ्न सक्दैनन् । जे भए पनि उनी कहिल्यै हिम्मत हार्दैनथे । उनले भैँसी पाल्छन्, बाच्छो मर्छ अनि भैँसीले दुःख दिन मान्दैन । बाजेले बाच्छालाई नमजाले कुट्छन् । यता भैँसी ल्याएको ऋण तिर्न बाँकी नै हुन्छ । त्यसपछि भैँसी बेचेर ऋण तिर्छन् । बाजे बिरामी भएर थला पर्छन् । सन्चो भएर यो–यो काम गर्छु भन्दाभन्दै उनले सास छोड्छन् । उनका छोराछोरी टुहुरा हुन्छन् । बज्यै मुर्छा पर्छिन् । केही दिन त गाउँलेले सहयोग गर्छन् । त्यसपछि उनी माइत जान्छिन् ।
यता भुलुवा पनि ठुलो हुन्छ । अब काम गर्न थाल्छ । बाबु रुदलले विवाह गर्नभन्दा भुलुवा मान्दैन । बहिनीको गौना गरेपछि मात्र विवाह गर्ने कुरा गर्छ । यता गौना गर्ने भनेर ठिक्क भएको उता बहिनीकी सासूको निधन हुन्छ । त्यसपछि कलावतीका बाबु र दाइको नाम नेपालको भोटर लिस्टमा लेखिन्छ । अब नागरिकता बन्ने पक्का हुन्छ । यो कुरा रामाज्ञाले ज्वाइँ (कलावतीको लोग्ने) लाई सुनाउँछ । कलावतीको पनि नागरिकता बने दोहोरो नागरिकता लिने लोभले ज्वाइँले कलावतीको नागरिकता बनेपछि मात्र गौना गर्ने कुरा गर्छ । यता कलावती आफूलाई कहिले लिन आउँछ भनी टोलाएर बस्छे ।
बहिनी र बुबाले कर गरेपछि भुलुवा विवाह गर्न राजी हुन्छ । तर, उसले इन्डियाको केटी विवाह गर्न मान्दैन । किनभने, उसको बहिनीलाई इन्डियाको केटाले नै धोका दिएको हुन्छ । सबैले सम्झाएपछि ऊ राजी हुन्छ र सिधै विवाह गर्छ । उसकी श्रीमती र कलावतीको विचार नमिलेर झगडा हुने हो कि भनेर पिर पर्छ तर पछि दुवैजना एकदम मिलेर बस्छन् । भाउजूले बच्चा जन्माउँछिन् । कलावतीले पालेका बाख्राले पनि पाठापाठी पाउँछन् । कलावतीले सोच्छे – म कहिले आमा बन्ने ? ऊभन्दा पछि विवाह भएका साथीहरू बच्चा बोकेर माइत आउँछन् । ऊ सधैँ आफ्नो गौना कहिले हुने होला भनेर सम्झिन्छे ।
रामाज्ञाले ससुरालीतिर सम्झाएर गौना गर्न मनाउँछ । उनीहरू आउँछन् तर कलावतीको छालामा सेतो दुबी देखेर फेरि भड्किन्छन् । फेरि कलावतीको नागरिकता बनेपछि मात्र विवाह गर्ने कुरा गर्छन् । त्यसपछि कलावतीले आफ्नो लोग्नेलाई सम्झिन छोड्छे । आफू ठगिएको कुरा सहन सक्ने भइसकेकी हुन्छे । रुदल भने आफ्नी छोरीको मुख राम्ररी हेर्न सक्दैनन् । भुलुवाले नेपालको नागरिकता बनाउन लाख कोसिस गर्छ । तर, सम्भव हुँदैन । गाउँमा माओवादी आउँछन् । तराई मधेसको आन्दोलन हुन्छ । पहाडियाहरूको सिकार सुरु हुन्छ । फारुक चाचा र रुदलले सम्झाएर पण्डितलाई रातारात हेटौँडा पठाउँछन् किनभने उनी पहाडिया हुन्छन् । कहिल्यै पराइ नभई बसेकाहरू आन्दोलनले गर्दा छुट्न बाध्य हुन्छन् ।
यता रुदल बिरामी पर्छन् । भैँसालोटनबाट रामाज्ञा सपरिवार नेपाल आउँछन् । सबै मिलेर रुदलको स्याहार सुसार गर्छन् । अहिले पनि उनी कलावतीको मुख हेर्न सक्दैनन् । देखिहाले रुन्छन् । यस्तैमा २०६३ सालमा नागरिकता बन्ने समाचार आउँछ । भुलुवाले नागरिकता ल्याएर बुबालाई देखाउँछ । रुदलको सास यही नागरिकता हेर्नलाई अड्किएको रहेछ । नागरिकता पाउँछन् तर छुन सक्दैनन् । यसरी जीवनको अन्तिम समयमा गुलरको फूल फुलेर के काम ? सबै परिवार रुन थाले । सधैँ मिहिनेत गर्दागर्दै पनि रुदलले कहिल्यै सुख पाएनन् । रुदल इन्डियाको भए पनि नेपाललाई धेरै माया गर्थे । एक दिन भुलुवा र कलावतीले ‘गाउँ छोडौँ’ भन्दा उनले मानेका थिएनन् । ‘गेगरी पनि यही मरिन् र म पनि यही मर्न चाहन्छु, जान्न कतै’ भनेका थिए । रुदलको अन्तिम इच्छा त पूरा भयो तर मृत्युको मुखमा ।
रुदलको मृत्युसँगै अधबैँसे उमेरमा पुगिसकेकी कलावतीले पनि नागरिकता पाउँछे । बुबाको मृत्युले उसको मुहारमा शोक र सुख दुवै हुन्छ । परिवारका सबैजना शोकमै रहेको बेला परबाट कोही आउँछ । कलावतीले आफ्नो लोग्ने आएको अनुमान गर्छे । शोकमा रुँदै गरेको बेला खुसी पनि टुप्लुक्क आइपुग्छे । यसरी अन्तिममा आएर कलावतीको जीवनमा गुलरको फूल फुल्छ ।
‘गुलरको फूल’ उपन्यासले मधेस तराईका गरिब मानिसको जीवन वर्णन गरेको छ । इन्डिया होस् वा नेपाल दुवैतिरका गरिब श्रमजीवी जनताको दुःख उपन्यासमा चित्रण गरिएको छ । उनीहरूको सम्बन्ध दुई देशको सीमाले कमजोर पार्न सकेको छैन । उनीहरूबिच आपसी सद्भाव छ । उपन्यासमा मुख्य समस्या हो दाइजो प्रथा । नेपालको नागरिकता आफैमा दाइजो बन्न पुगेको छ । कलावतीजस्ता कैयौँ नारी होलान् जसको गौना हुन बाँकी छ ।
तराई मधेसतिर गुलर भन्ने एक वृक्ष पाइन्छ । नेपालमा यसलाई खनिउँ भनिन्छ । गुलरको फूल फल्दैन तर फल लाग्छ । यही यसको विशेषता हो । पाउन नसकिने चीजलाई तराईमा ‘गुलरको फूल’ सँग तुलना गरिन्छ ‘आकाशको फल आँखा तरी मर’ भने जस्तो । कलावतीको जीवनमा गुलरको फूल फुल्छ । उनले नेपाली नागरिकता पाउँछिन् । नागरिकता पाउँदा उनको बुबाको निधन हुन्छ । तर, उनको जीवनको अन्तिममा लोग्ने लिन आउँछ । असम्भव ठानिएको कुरा सम्भव हुन्छ ।
लेखकले आफू हुर्किँदा तराईमा देखे र भोगेका पात्रलाई यो उपन्यासमा राखेका छन् । राजनीतिको आँखाबाट कताकता नमिल्दो लागे पनि रोजगारीका लागि नेपाल भासिएका इन्डियाका गरिब, दुःखी जनताको मार्मिक कथा हो ‘गुलरको फूल’ । यो उपन्यास नेपाल आउने सबै इन्डियनहरूको कहानी भने होइन ।
Leave a Reply