भर्खरै :

शैक्षिक विध्वंसकहरूमाथि निगरानी आवश्यक

आँधी–बेहरीले दुःख दिँदा पीडित क्षेत्रका जनता आ–आफ्ना घरका छाना र झ्याल–ढोकाको हेरचाह आदिबाट घरका सामान जोगाउन सारा बल लगाउनेबारे सबै अवगत छन् । तर, एउटा मौसमको आँधी–बेहरीको प्रलयबाट जोगिँदैमा अर्को मौसम वा अर्को साल आँधी–बेहरीको प्रकोप आउँदैन भन्ने होइन । जसरी नगर र गाउँका जनता आँधी–बेहरीसँग जुझ्छन् त्यस्तै समाजमा देखिने कुसंस्कार र प्रतिगामी कदमहरूबाट रातदिन सचेत हुनु आवश्यक छ ।
समुद्र किनारका सहर र गाउँहरूमा पनि समुद्रको ज्वारभाटा र छालको प्रहारले बारम्बार दुःख दिइरहन्छन् । यसकारण, ती ठाउँका बासिन्दाहरू सधैँ क्षति रोक्न वा छालबाट जोगिन अनेक उपाय अपनाउन सामूहिकरूपमै सचेत रहन्छन् ।
समाजमा आर्थिक सङ्कट एकचोटि मात्र हुने होइन, एउटा देशको सम्बन्ध अनेक देश र महादेशका देशहरूसँग जति जति व्यापारिक र राजनैतिक सम्बन्ध बढ्दै जान्छन् त्यति त्यति नै नयाँ–नयाँ आर्थिक समस्यासँग सामना गर्दै जानुपर्ने हुन्छ । व्यापकरूपले अध्ययन गर्दा सालाखाला पुँजीवादी संसारमा जसरी हरेक १० वर्षमा एकपटक आर्थिक सङ्कट हुन्छ, त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको परिवर्तनले विभिन्न देशमा राजनीतिक उथलपुथल हुने नेपाली जनताले पनि भोग्दै आएका हुन् ।
स्कूल, कलेज, निश्चित संस्था र फरक–फरक सामाजिक परिवेश भएका क्षेत्रमा पनि साना–ठुला घटना र बानी–व्यहोरा, सोच, फेसन र जीवनशैलीमा हेरफेर हुने अनुभव गर्दै आएको विषय हो ।
व्यवस्थितरूपले शैक्षिक सेवा दिइआएको भक्तपुरको एउटा विद्यालयका पिउन, कामदार, शिक्षकहरू र सञ्चालक समितिले नयाँ समस्यासँग सामना गर्नुपर्ने देखे । विषय अत्यन्त सानो थियो । विद्यालय बन्द गर्नुभन्दा पहिले पिउनहरूले खानेपानीका ट्याङ्कीहरूमा पानी भरिसकेपछि मात्रै ताला लगाएर घर जान्थे र राति पनि पहरा दिन्थे ।
तर, बिहान स्कूलको पढाइ सुरु हुने बेला हरेक कक्षा, तल्ला र भवनहरूमा विद्यार्थीहरूले धारामा पानी नआएको र बाथरुम फोहोर भएको हो–हल्ला गरे । बारम्बार दोहोरिएको ती घटनामा कतै राजनीतिक रङ् त छैन भन्नेबारे विद्यालयका स्टाफहरूको ध्यान गयो । विद्यालयमा पहिला प्रवेश गर्ने विद्यार्थी र सबभन्दा पछि जाने विद्यार्थी र व्यक्तिहरूमा निगरानी गर्दा केही विद्यार्थीमाथि शङ्का गरी सोधपुछ गरियो । केहीले आफ्नै अभिभावकहरूले गर्न अ¥हाएको स्वीकार गरे; ठुला मानिसहरूले समेत हातले खोल्नै नसक्ने धाराका टुटीहरूमा झुन्डिएर धाराको पानी खोलेर घर जाने गरे । ती अभिभावकहरू ‘प्रतिगामी विचारका दलहरूका समर्थक रहेछन्’ भन्ने पत्ता लाग्यो ।
केही विद्यालयमा बिजुलीका चिम र स्विचहरू हराउने, बत्ती बाल्यो कि फ्युज गएर हैरान पारेपछि हरेक कक्षाकोठा र कार्यालयहरूका समेत चिम झिकेर हेर्दा पातलो झिल्ली टाँसेर चिम जोड्ने गरेको देखियो । त्यसमा पनि ‘प्रतिगामीहरूको विरोध’ वा ‘साबोटेज’ वा ‘विध्वंस’ गर्न खोजेको थाहा लाग्यो । निगरानी बढाएपछि त्यस्ता घटनाहरू घटेनन् ।
परीक्षा नदिँदा पनि परीक्षा उत्तीर्ण गराउने शिक्षामन्त्री र शिक्षा मन्त्रालयका कर्मचारीहरूमा नेपालको शिक्षा कमजोरमात्र होइन, ध्वस्त पार्ने ‘विध्वंसक विदेशी तत्वहरू’ घुसेको हुनुपर्छ भन्ने जानकारहरू लख काट्दै छन् ।
२५ वर्ष पहिले नै विश्व बैङ्कले नेपालका केही नेपाली शिक्षकहरूमार्फत उच्च शिक्षामा सरकारको लगानी बन्द गर्ने र विद्यालय स्तरमा समेत समाज वा अभिभावकले विद्यालयहरू सञ्चालन गर्न जिम्मा दिने योजना बनाएको थियो । त्यो योजनामा विश्व बैङ्क असफल भएको थियो । पछि अन्तर्राष्ट्रिय श्रम ऐन लागु नहुने अर्थात् अरब देशहरूमा बहुराष्ट्रिय कम्पनीहरूले उद्योगमा लगानी गर्दा नेपाल, श्रीलङ्का, बङ्गलादेश आदि देशका युवाहरू ज्यामीको रूपमा लगे । नेपालका युवाहरूलाई स्तरहीन शिक्षाबाट अमेरिका र युरोपेली देशहरूमा पनि श्रमिक पठाउने ठुलो योजनाका पक्षपाती सरकारी नीतिले नै देश युवाविहीन हुँदै गएको हो । २०२५ वर्ष पहिले नै ‘विश्व व्यापार सङ्गठन’ को सदस्यताबारे जानकारीबिना नै संसद्ले पारित ग¥यो । नेपालमा आजै ५०–६० भन्दा बढी विदेशी विश्वविद्यालयका कलेज खुलेर परीक्षामा किताबहरू सार्न लगाएर परीक्षा उत्तीर्ण गर्ने काम गर्दै जानुको कारण आज युवा विद्यार्थीहरू अध्ययनको नाममा अर्बौँ डलर लिएर विदेश पलायन भएका छन् । यो पनि नेपाललाई ध्वस्त पार्ने ‘साबोेटेज’ गर्ने विदेशी पुँजीको षड्यन्त्र हो । त्यसका जिम्मेवार व्यक्तिहरूमाथि निगरानी आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *