भर्खरै :

कर्मचारीहरू इमानदार, नैतिकवान र सक्षम हुनु जरुरी

कर्मचारीहरू इमानदार, नैतिकवान र सक्षम हुनु जरुरी

भक्तपुर, १६ जेठ । नेपाल कर्मचारी समाज जिल्ला समिति भक्तपुरको आयोजनामा शुक्रबार जिल्लास्तरीय कर्मचारी भेला सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष एवं वाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले राजनीतिक कार्यक्रमहरू सिक्ने, सिकाउने दबु भएको बताउनुभयो ।
कर्मचारीहरू अनुशासनमा बस्न सिक्नुपर्ने उल्लेख गर्दै उहाँले कर्मचारीहरू इमानदार, नैतिकवान र सक्षम हुनु जरुरी छ भन्नुभयो ।
“सरकारमा गएका पार्टीहरूले गणतन्त्र ल्याएर जनताको सेवा गर्नुभन्दा भागबन्डामा लागेर देशलाई भड्खालोमा पार्दै छन् । दुई ठुला दलहरू मिलेर ल्याएको २०८२/८३ को नीति तथा कार्यक्रम पनि पुरानै शैलीको देखियो । सरकारमा जान पल्केका राजनीतिक दलहरूले जनतामुखी बजेट नल्याउने स्पष्ट छ । पुँजीवादी गणतन्त्रपछि समाजवादी गणतन्त्र ल्याउन सबैले सहयोग गर्नु आवश्यक छ, फालिएको राजतन्त्र ल्याउने होइन”, उहाँले भन्नुभयो ।
नेपाल कर्मचारी समाज केन्द्रीय समितिका अध्यक्ष गौतमप्रसाद लासिवाले कर्मचारीहरू टे«ड युनियनवादमा नलागी संस्थाको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
सरकारले सङ्घीय कर्मचारीलाई (क) वर्गको कर्मचारी, प्रदेशको कर्मचारीलाई (ख) वर्गको र स्थानीय कर्मचारीलाई (ग) वर्गको कर्मचारीको रूपमा गरिएको व्यवहार निन्दनीय भएको उहाँले बताउनुभयो ।
उहाँले सबै कर्मचारीलाई एकै प्रकारको दर्जामा राखी व्यवहार नगर्दा सरूवा वा बढुवा हुँदा धेरै नै भ्रष्टाचार भएको समाचारहरू आएको बताउनुभयो ।
नेपाल कर्मचारी समाज जिल्ला समितिका अध्यक्ष काजीबहादुर पञ्चको सभापतित्वमा भएको उक्त भेलामा आयोजक समितिका उपाध्यक्ष राजन जति र सचिव लक्ष्मीप्रसाद सुवालले भेलाको महत्वबारे बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *