भर्खरै :

गुरु दत्तात्रयबारे छोटो चर्चा

  • जेष्ठ २३, २०८२
  • विश्वमोहन जोशी
  • विचार
गुरु दत्तात्रयबारे छोटो चर्चा

हिन्दू धार्मिक कथाहरूमा वर्णन गरिएअनुसार सत्य युगमा ऋषि अत्रि र उनकी पत्नी अनुसूया एक आश्रममा बसी सामान्यतया जीवन बिताउँदै थिए । संस्कृत शब्द ‘अत्रि’ ले भक्ति वा प्रार्थना भन्ने अर्थ र ‘अनुसूया’ शब्दले डाह, इष्र्या केही नगर्ने अर्थ जनाउँछ । ती दुवै पति पत्नी नामअनुसारकै स्वभावका थिए । ऋषि पत्नी अनुसूयाको पतिव्रता धर्म र सुन्दरताको खुबै चर्चा हुने गथ्र्यो । त्रिदेव ब्रह्मा, विष्णु र महेश्वरका पत्नीहरू सरस्वती, लक्ष्मी र पार्वतीले पनि अनुसूयाको बारेमा बखान सुनेछन् । उनीहरूमा इष्र्याभाव आयो । त्यसपछि तिनीहरूले आ–आफ्ना पतिदेवहरूलाई अनुसूयाको परीक्षा लिन जान बाध्य पारे । ब्रह्मा, विष्णु र महेश्वर भेष बदलेर भिक्षुक रूप लिई भिक्षा माग्न भनी ऋषि अत्रिको आश्रममा पुगे । त्यतिखेर आश्रममा ऋषि थिएन† उनकी पत्नी अनुसूया एक्लै थिइन् । भिक्षुकहरू आफ्नो आश्रम बाहिर भिक्षा माग्न आएको स्वर सुनेर अनुसूया भिक्षा दिन भनी आश्रम बाहिर आए । तिनको रूपबाट नक्कली भिक्षुकहरू प्रभावित भए । तिनीहरूले ऋषि पत्नीले आफू निर्वस्त्र भई भिक्षादान गरेमात्र आफूहरूले भिक्षा ग्रहण गर्ने सर्त राखे । तिनले आफ्नो पतिव्रता धर्म र तपोवनको शक्तिबाट ती नक्कली भिक्षुकहरूको वास्तविकता थाहा पाएपछि तिनीहरूलाई ६ महिने दुधे बालकहरूमा परिणत गरी आफ्नो मातृत्व प्रदान गरी आश्रममा पालिराखे । केही दिन बित्दा पनि आफ्ना पतिहरू घर नफर्केकाले सरस्वती, लक्ष्मी तथा पार्वती चिन्तित भएर ध्यान दृष्टिले हेर्दा सबै कुराको चाल पाए । अनि, उनीहरू तिनै जना ऋषि आश्रममा आई अनुसूयासित माफी माग्दै आ–आफ्ना पतिदेवहरूलाई पूर्ववतरूपमा परिणत गरिदिन आग्रह गर्दा अनुसूयाले ती तीनजना दुधेबालकहरूलाई ब्रह्मा, विष्णु र महेश्वरकै रूपमा परिणत गरी फर्काइदिए । यसबाट खुसी भएर ती त्रिदेवहरूले आफूहरू अनुसूयाकै गर्भबाट पुत्रको रूपमा जन्म लिने बरदान दिई त्यहाँबाट फर्के । त्यसैको फलस्वरूप अनुसूयाको गर्भबाट ब्रह्मको अंशबाट चन्द्रमा, विष्णुको अंशबाट दत्तात्रय र महेश्वरको अंशबाट ऋषि दुर्वासाको जन्म भयो । विष्णुको अंशबाट जन्मेको कारणले दत्तात्रयलाई विष्णुको २४ अवतारमध्ये एक अवतार मानिन्छ । तथापि ब्रह्मा, विष्णु र महेश्वर त्रिदेवहरूको एउटै स्वरूपको रूपमा पनि दत्तात्रयलाई लिइन्छ ।
ऋषि अत्रिको पुत्र भन्ने अर्थमा साथै त्रिदेवहरूले प्रदान गरेको भन्ने अर्थमा अत्रि ऋषि र उनकी पत्नी अनुसूयाका छोराको नाम दत्तात्रय रहन गयो । बाल्यकालदेखि नै दत्तात्रय सौम्य, दयालु एवं वैरागी स्वभावका थिए । उनी यताउति भ्रमण गरिरहन्थे । भ्रमणकै दौरानमा विभिन्न जीव जीवात्मा मानवजस्ता प्राकृतिक संरचनाहरूको क्रियाकलाप स्वभावबाट धेरै महत्वपूर्ण शिक्षा र ज्ञानहरू प्राप्त गर्दै गए । ती ज्ञान नै मानिसलाई उनले सल्लाह वा उपदेशको रूपमा दिने गर्थे । विनम्रता उनको विशेष स्वभाव थियो । उनी कसैलाई पनि यो गर्नु त्यो गर्नु भनी आदेश दिँदैनथे । कोहीबाट केही पनि लिने उनको बानी नै थिएन । उनको यस्तो स्वभाव र क्रियाकलापहरूले गर्दा जनमानसमा उनी गुरु दत्तात्रय भनी प्रख्यात हुँदै गए ।
पुराण कथामा वर्णन गरिएअनुसार अब हामी गुरु दत्तात्रयको स्वरूपबारे थोरै चर्चा गरौँ । उनका चित्रहरू पनि विभिन्न ठाउँमा देख्छौँ । उनको शरीर एउटै भएर पनि ब्रह्मा, विष्णु र महेश्वर स्वरूपको ३ वटा टाउको रहेको छ । त्यसैले यिनलाई त्रिदेवहरूको संयुक्त रूपको एक देवको रूपमा पनि लिइन्छ । मन्द वैराज्ञ (धन सम्पति नस्ट हुँदा उत्पन्न हुने वैराज्ञ), तीव्र वैराज्ञ (दुःख हुन्छ भनी घर परिवार त्यागेर संसारबाट हिँड्दा उत्पन्न हुने वैराज्ञ) र तीव्रतर वैराज्ञ (सारा सुख सम्पत्ति वैभव हुँदाहुँदै पनि ती सबैलाई त्याग्दा उत्पन्न हुने वैराज्ञ) । यी तीनवटा वैराज्ञको प्रतीकको रूपमा पनि गुरु दत्तात्रयका ३ वटा शिरलाई लिने गरिन्छ । उनका ६ वटा हातले त्रिदेवले धारण गर्ने विभिन्न आयुधहरू वा वस्तुहरू जस्तैः कन्दमूल, रूद्राक्ष माला, शङ्ख, चक्र, डमरु, त्रिशुल आदि समातिराखेको देखिन्छ । कतैकतै कन्दमूललाई आफ्नो छेउमा राखी एउटा हातले कमलको फूल समातिराखेको पनि देखिन्छ । भिक्षुक वा फकिरले जस्तै उनको काँधमा कपडाको एउटा झोलाजस्तो देखिने वस्तु पनि भिरेको पाइन्छ । ती विभिन्न आयुधहरू बोकेका भए तापनि उनी आफूलाई भिक्षुक वा फकिरकै रूपमा बढी मात्रामा प्रस्तुत गर्न रुचाउँछन् । गुरुतिर हेर्दै गरेका ४ वटा कुकुरहरू पनि यिनको चित्रमा देखिन्छ । प्रायः मानव हृदयमा रहने इच्छा, आशा, तृष्णा र वासनाको प्रतीकको रूपमा यी ४ वटा कुकुरका चित्रहरूलाई लिइन्छ । ती चारवटा भावनाबाट आफू प्रभावित नभई तिनीहरूलाई आफ्नो वसमा पार्न गुरु दत्तात्रय सफल भएको अर्थमा ती कुकुर चित्रहरूलाई अथ्र्याइन्छ । चारवटा वेदहरू ऋग्वेद, सामवेद, अथर्वेद र यजुर्वेदको सङ्केतको रूपमा पनि लिने गरिन्छ । यसको अतिरिक्त गुरु साथमा एउटी गाईको चित्र पनि रहेको पाइन्छ । यसलाई पञ्चतत्व (पृथ्वी, जल, अग्नि, वायु र आकाश) तथा पृथ्वीमाताको प्रतीकको रूपमा मानिन्छ ।
गुरु दत्तात्रय यत्रतत्र घुम्दै जाँदा एकदिन यदु नाम गरेको राजाको दरबार पुगे । राजाले गुरुसित भलाकुसारी गर्दै अनेक प्रश्नहरू सोधे । गुरु सदैव शान्त, आनन्द, सरल एवम् सौम्यरूपमा देखिने र अति सन्तुष्ट सुखी भएको पाए राजा यदुले । गुरुका अमूल्य ज्ञान उपदेशबाट राजा यदु निकै प्रभावित भए । त्यसैले गुरु दत्तात्रयले कहाँबाट को गुरुबाट यस्तो महत्वपूर्ण ज्ञान पायौँ भनी राजाले प्रश्न गर्दा गुरुले राजालाई अरूले जस्तै आफूले कुनै गुरुकुलमा गई गुरुबाट औपचारिक शिक्षा प्राप्त नगरेको बताए । प्रकृति र प्राकृतिक वस्तुहरू जीव जीवात्माहरू मानिसहरूकै विभिन्न स्वभाव, क्रियाकलाप र अनुभवबाट आफूले विभिन्न उपयोगी महत्वपूर्ण ज्ञान प्राप्त गरेको भनी बताए । त्यसरी ज्ञान प्राप्त गर्न विभिन्न प्रकृतिका २४ वटा संरचना जीव र मानिसहरूको स्वभाव तथा क्रियाकलापहरूले आफूलाई सघाएकाले तिनीहरूलाई नै आफूले गुरु मानेको तथ्य राजासमक्ष गुरु दत्तात्रयले प्रस्तुत गरे ।
अब हामी गुरु दत्तात्रयका २४ गुरु र तिनीहरूबाट प्राप्त ज्ञान, शिक्षा र पाठ जे भनौँ तिनीहरूको बारे छोटो चर्चा गरौँ । आफूमाथि जतिसुकै विपत्ति आइपरे पनि प्रहार भए पनि आफ्नो कर्तव्य निर्वाह गर्नबाट कहिल्यै च्युत हुनु हुँदैन भन्ने ज्ञान पृथ्वीबाट, आफू कन्चन निर्मल भए पनि अरूको फोहर हटाई सफा गर्ने, अरू प्राणी र वनस्पतिलाई जीवन्तता प्रदान गर्ने ज्ञान जलबाट, सदैव उध्र्वमुखी तेजिलो भएर अरूलाई पनि आफू जस्तै बनाउने ज्ञान अग्निबाट, सारा ब्रह्माण्ड आफूमै समाहित भएर पनि र आफूमै अपार सम्पत्ति भएर पनि अलिकति पनि घमण्ड नगर्ने ज्ञान, आकाश र समुद्रबाट सदैव गतिशील भइरहनुपर्दछ भन्ने ज्ञान हावाबाट, आफूमात्रै प्रकाशित नभई अरूलाई पनि प्रकाशित गरी निरन्तर कर्तव्य निर्वाह गरिरहनुपर्ने ज्ञान सूर्यबाट, आफूमा नभए पनि सूर्यबाट प्रकाश प्राप्त गरी पृथ्वीमा चन्द्रज्योति छरी अरूलाई सहयोग गर्नुपर्दछ भन्ने ज्ञान चन्द्रमाबाट, अरूले दियो ख्वायो भन्दैमा खानु हुँदैन लिनु हुँदैन भन्ने ज्ञान जालमा परेको परेवाबाट, अरूलाई सदैव त्रास दिनेले आफू पनि सदैव त्रासमै रहनुपर्छ भन्ने ज्ञान सर्पबाट, सदैव इन्द्रियहरूको वसमा पर्नु हुँदैन भन्ने ज्ञान बल्छीमा परेको माछा र मधुरो धुन सुन्न व्यस्त हुँदा ज्यान गुमाउनुपरेको मृगबाट, कुनै लक्ष्य प्राप्तिका लागि एकाग्रता प्रयास चाहिन्छ भन्ने ज्ञान ब्याधाबाट, जीवनमा सुख र आनन्द केबल सरलता र निःस्वार्थतामा मात्र हुन्छ भन्ने ज्ञान एक अबोध बालक र एक सरल ग्रामीण कन्याको जीवनबाट, विभिन्न चोट खाँदै जाँदा, परिश्रम गर्दै जाँदा बेकम्मा मानिस पनि पछि काम लाग्न सक्छ भन्ने ज्ञान टुक्राटाक्री फलामहरूलाई तताउँदै पिट्दै गरेर उपयोगी औजार बनाउने कामिबाट, समयमै सत्कर्म गर्नुपर्दछ पछि पछुताउ गरेर हुँदैन भन्ने ज्ञान यौवनावस्थामा खुब भाउ पाएकी र पछि उनकी वृद्ध र रोगी अवस्थामा सबैबाट तिरस्कृत भई बसेका बेश्याबाट, जतिसुकै प्रतिकूल अवस्था भए पनि माटो नै खाएर भए पनि धैर्यपूर्वक जीवन निर्वाह गर्नुपर्दछ भन्ने ज्ञान अजिङ्गरबाट, फूलहरूबाट परागसेचन गरी मह बनाउने माहुरीबाट, अरूलाई सेवा गर्नुपर्दछ र परोपकार गर्नुपर्दछ भन्ने ज्ञानको साथै अन्य माकुरा, पुतली, हात्ती, बारुलो आदिबाट थुप्रै ज्ञान गुरु दत्तात्रयले प्राप्त गरेका थिए ।
माथि उल्लेखित विवरणबाट हामीले प्रकृति नै हामीहरूका सहयोगी गुरु रक्षक हो भन्ने तथ्य बुझ्दछौँ । सर्दी गर्मी अनुकूलका आहार विहारबारे प्रकृतिले मौसमअनुसारका विभिन्न फलफूलहरू खाद्यवस्तु उत्पादन गरेर हामी दिइरहेका हुन्छौँ । सम्पूर्ण प्राकृतिक वस्तुहरू एक अर्कामा आश्रित छ, सम्बन्धित छ । प्राकृतिक वस्तुहरू प्रयोग नगरी हामी बाँच्न पनि सक्तैनौँ । त्यसैले उचित र उपयुक्त मात्रामा मात्र ती वस्तुहरू प्रयोग गर्नुपर्दछ । दुरूपयोग गर्नु हुँदैन । तिनीहरूको संरक्षण र संवद्र्धन गर्नुपर्दछ । त्यसो नगरेमा हामीले विपत्ति सामना गर्नुपर्दछ जस्तोः– भूमि, वन, जङ्गल, पानी आदिको दुरूपयोग गरी व्यक्तिगत स्वार्थमा मात्र लागेमा कटान बगान डुबानजस्ता प्रकोपहरू खडेरीजस्ता सङ्कटहरू हामीले भोग्नुपर्ने हुन्छ । आ–आफ्नो स्वार्थ, घमण्ड र अहङ्कारले गर्दा आज विश्वका केही शक्तिशाली राष्ट्रहरूले रासायनिक आणविक हतियारहरू प्रयोग गरी प्रकृतिको स्वरूप बिगार्दै छन् । यस्तो दुष्परिणाम विश्वका जनताले भोग्नुपर्दछ र भोग्दै पनि छन् । त्यसैले, प्रकृतिलाई आफ्नो महान् गुरु मान्ने गुरु दत्तात्रयको ज्ञान र शिक्षाबाट ज्ञान प्राप्त गरी कुनै पनि अप्राकृतिक अमानवीय क्रियाकलापहरू नगरूँ र गर्न नदेऊँ ।
गुरु दत्तात्रयको ठुलो प्रभाव भारतको महाराष्ट्र, कर्नाटकमा भए पनि पुने, नासिक, हैदरावाद आदि क्षेत्रहरूमा उनका मन्दिरहरू पाइन्छ । भक्तपुर नगरको वडा नं. ९ तचपाल टोलमा दत्तात्रयको विशेषखालको मन्दिरमा मन्दिर जोडिएको नेपाली छानेशैलीको तीनतले मन्दिरले यहाँको संस्कृति कलाकृतिको प्रदर्शनमात्र गरेको छैन कि गुरु दत्तात्रयप्रति ठुलो भक्तिपूर्वक उनको ज्ञानलाई महत्व दिएको तथ्यतर्फ सङ्केत गर्दछ । नेपालमण्डलका अन्तिम शासक राजा यक्ष मल्लको शासनकालमा पूर्वमध्यकालमा सम्भवतः विसं १५२७ तिर निर्माण भए तापनि उनी पछि भक्तपुरका राय मल्ल, विश्व मल्ल र अन्य मल्ल राजाहरूको शासन कालमा यस मन्दिरले भव्यता पाउँदै गयो । यो मन्दिरको गर्भ गृहमा ऋषि, अत्रि र देवी अनुसूयाका छोराहरूको रूपमा जन्मेका चन्द्रमा, दत्तात्रय र दुर्बासा ऋषिको प्रतिमा स्वरूप ३ वटा प्रस्तर मूर्तिहरू रहेका छन् । देवी अनुसूयाको प्रतिमालाई पनि यसै मन्दिरमा समाहित गर्न मन्दिरको अगाडितिर अर्को मन्दिर जोडियो । यस मन्दिर परिसरमा साउन महिनाको सोमबार, पुस महिनाको बुधबारका दिन र महाशिव रात्रिको दिन यहाँ थुप्रै दर्शनार्थी र भक्तजनहरू गुरु दत्तात्रयको दर्शन गर्न भनी आउँछन् र मेला लाग्ने गर्दछ । विश्वास भनौँ या अन्धविश्वास भनौँ बच्चाहरूले आफ्नो समय आएर पनि बोल्न जाने, सकेन भने यहाँ ल्याई भगवान्को दर्शन गरी यहाँ पूजा अर्चना सकिएपश्चात् भक्तालुहरूमा बाँडिने प्रसादरूपी दहीच्युरा बालकलाई ख्वाइयो भने उसले कुरा गर्न जान्छ, बोल्न जान्छ भनी त्यस्ता बालकहरूलाई गुरुको दर्शन गराउने गरिन्छ । सायद त्यही आसले होला, अचेल बच्चाको पास्नी गर्न ल्याउनेहरूको यहाँ भिड लाग्ने गरिन्छ । तर, भक्तपुर दरबार क्षेत्रमा रहेको दरबार हेरचाह अड्डा पस्दाखेरि २, ३ वटा सिँढीहरू चढ्ने बित्तिकै देब्रेतिर अवस्थित त्रिमूर्ति भगवान् दत्तात्रयको मूर्ति एउटा सानो मन्दिरभित्र रहेको छ । मन्दिर मूर्ति जेजस्तो होस् त्यसको आफ्नै महत्व हुन्छ । तर, गुरु दत्तात्रयको कथामा वर्णन गरिएअनुसार उपयुक्त शिक्षालाई हामीले आफ्नो जीवनमा थोरै मात्र लागु गर्न सकेमा हामी सबैको हित हुने तथ्यमा सायद विवाद नहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *