संस्कृतिको खोजमूलक पुस्तक ‘होचो ढोका’ नियाल्दा
- चैत्र ३०, २०८२
जाडोको समय थियो । रामलाल अचेत अवस्थामा थिए । ‘राम दाइ’ ‘राम दाइ’ भनी दुई–तीन पटक सीताले बोलाइन्, रामबाट जवाफ आएन । हडबडाउँदै सीताले रामको पाइताला समाएर हेरिन्, मनमनै भनिन्, “कस्तो चिसो !” तिनीले रामको पाइतालालाई तलमाथि सुमसुम्याउन थालिन्, एउटा–एउटा औँलालाई समेत सुमसुम्याउन थालिन्, हात खुट्टा र जिउका हरेक अङ्ग प्रत्यङ्गमा आमा र धाईले बालकलाई सुमसुम्याए जस्तै सुमसुम्याउन थालिन् । स–साना नानीहरूलाई तेलमालिस गर्दाको शैलीले सुमसुमाउन थालिन् । उनको हातलाई दुवै हातले लिँदै आफ्नो दुवै गाला र जिउले न्यानो पार्ने र तताउने जुक्ति गर्न थालिन् ।
एकछिनमा रामलालले बिस्तारै खुट्टा र जिउ चलाउन कोसिस गरे र सीताले हत्त न पत्त रामको जीउमा पातलो सिरक ओढाइन् । उनको पाइतालाका औँलाहरू तिनले पुनः मालिस गर्न थालिन् । बिस्तारै उनले सास फेरेको अनुभव सीताले गरिन् र पुनः ‘राम दाइ, राम दाइ’ भन्दै टाउको र निधारमा हातले सुमसुम्याउन थालिन् । उनको आँखीभौ सञ्चालनको सङ्केत देखियो र सीताले आँखा खोल्न मद्दत गरिन् । लामो सास लिएर उनले बोल्न कोसिस गरेको अनुभव तिनले गरिन् र ‘राम दाइ राम दाइ’ भनी बोलाइन् । उनले दुवै हात बिस्तारै आफ्नो छातीमा राख्ने कोसिस गरे तथा सीतालाई मसिनो स्वरमा सोधे, “के भयो, सीता ?”
सीताले तत्काल सोधिन्, “दाइलाई के भयो, दाइ ?” उनले अलि कामेको स्वरमा भने, “मलाई अलि जाडो छ ।” सीताले एकैछिनमा तातो पानीको थैलो ल्याएर खुट्टातिर एउटा तौलियाले बेरेर राखिन् । एकैछिनमा उनले अलि सन्चो अनुभव गरे । सीताले थर्मसबाट अलि तातो तातो पानीलाई चिसो पानीसँग मिसाएर न्यानो पानी खान सहयोग गरिन् ।
एवम् रितले रामलाल केही दिनमा सन्चो भए ।
कोठाका झ्याल र ढोकामा दोहोरो लगाएको पर्दा थियो, बत्ती बाल्दा पनि भित्री कोठाको केही सङ्केत बाहिर देखिन्नथ्यो । रामलाल सन्चो भएपछि अर्कै क्षेत्रमा खटिन्थे र एवंरितले गुप्तरूपले लेख–पढ, स–साना र बैठकहरू चलाइरहन्थे ।
सीताले वर्षौंसम्म रामलालको कुनै खबर पाइनन् र तिनी पनि भूमिगत कालका विषयमा जानकार हुँदै गइन् ।
xx
रामलाल रात र दिन नभनी चिट्ठी आउनासाथै निश्चित गन्तव्यमा समयमै पुग्थे । दिन र रात, जाडो र गर्मीले उनको यात्रा रोक्दैनथ्यो । देशमा प्रजातन्त्रले पुनः स्थापनाको निम्ति युवा–विद्यार्थी, किसान–मजदुर, बुद्धिजीवी र राजनैतिक पार्टीका नेता र कार्यकर्ताहरू, शिक्षक र कर्मचारीहरू आन्दोलनमा हाम फाले । तिनीहरू कसैलाई पनि आ–आफ्नो नोकरी, प्रमोसन वा स्थायी हुने लोभ–लालच थिएन ती सबैलाई पर पन्छाएर निःस्वार्थरूपले सबै प्रजातन्त्र र देशको स्वतन्त्रताको निम्ति समर्पित भए ।
हिमाल र पहाड, उपत्यका र तराई हरेक क्षेत्रका जनता सडकमा उत्रे । निर्दलवादीहरू र शासकहरू हतास हुँदै तिनीहरूको आक्रमकताबाट पराजित हुँदै गए । पूर्व र पश्चिम, पहाड र तराई जहातहाँ सरकारको अत्याचार पनि हुँदै थियो, अश्रुग्यास, लाठीचार्ज र गोलीसँग नडराई नयाँ पुस्ता बढ्दै गयो । कति ठाउँमा दोस्रो विश्वयुद्धमा निषेध गरिएको दमदम गोली चल्यो, कति युवाहरू किसान र गरिबका छोराछोरी सहिद भए । जिल्ला–जिल्ला, सहर र बस्तीहरूमा नियन्त्रण गर्न नसक्दा ‘कफ्र्यु’ लगाउँदै रातदिन जनताको आवागमन बन्द गरे पनि आन्दोलन अगाडि बढ्दै गयो, शोषक, शासक र सामन्तहरूले हार स्वीकार गरे । प्रजातन्त्रको पुनःस्थापनाको घोषणा भयो, नयाँ संविधान पनि घोषणा भयो ।
जिल्ला–जिल्ला र गाउँ–गाउँमा जनसभा र विजयका प्रदर्शनहरू हुँदै गए । एउटा ठुलो जनसभामा रामलालले प्रजातन्त्रको महत्व र जनताको कर्तव्यबारे बोले । ‘प्रजातन्त्र भनेको शोषकवर्ग, टाठाबाठा, जालीफटाहा, विदेशी दलाल, कालाबजारी, ठूलाठूला स्वार्थी कर्मचारी र पुँजीपतिवर्गको हितमा होइन बरु व्यापक जनताको हितमा हुनुपर्छ त्यसको लागि निःस्वार्थरूपमा देशको हितमा आ–आफ्नो कर्तव्य पूरा गर्नु आवश्यक छ । शिक्षक र प्राध्यापकहरूले आ–आफ्नो हित होइन व्यापक जनता र देशको हितमा आ–आफ्नो कर्तव्य पालना गर्नु आवश्यक छ ।’
यसप्रकार देशभरि प्रजातन्त्रको उत्सव मनाइरहँदा स्वार्थीहरू जनताको बलिदानबाट फाइदा उठाउन हिजोका निर्दलवादीहरू पनि काङ्ग्रेस, एमाले र अन्य प्रजातान्त्रिक आन्दोलनका घटकहरूतिर लाग्ने षड्यन्त्र गर्दै थिए ।
xxx
अन्तर्राष्ट्रिय मई दिवसको दिन थियो । रामलालले मई दिवसको कारण, संयुक्त राज्य अमेरिकी मजदुरहरूको सङ्गठनले आफ्नो अधिकारको निम्ति हडतालको आह्वान गरेको र पुँजीपतिवर्गको अन्याय र शोषणको विरोधमा ठुलो प्रदर्शन भएको बताए । त्यस प्रदर्शनमा मजदुरहरूकै लुगामा प्रहरीका मानिसहरूले प्रहरीलाई ढुङ्गामुढा गरे । त्यो त आन्दोलन एवं सङ्घर्ष भाँड्ने एउटा चाँजो मात्रै थियो । प्रहरीले निहँु पाउनासाथै गोली चलाएर प्रदर्शनकारीहरूलाई तितरबितर पा¥यो र धेरै मजदुरहरू एवम् नेताहरू मारिए । त्यसबाट ‘एक मई’ आन्दोलनको दिवसको रूपमा संसारभरमा फैलियो । त्यसरी हरेक मई महिना वा त्यो दिवस नेपालमा पनि हरेक वर्ष मनाइँदै गयो ।
मईको पहिलो दिनमै आन्दोलनको एक उत्सवमा बोलिरहँदा रामलाललाई एकजना साथीले एउटा चिट्ठी दियो । उनले त्यो पत्रलाई भाषणपछि मात्र पढ्ने उद्देश्यले कोटमा हाले । पछि जनसभामा चिट्ठी हेर्ने फुर्सत हुने पनि भएन र रामलालले हेर्न बिर्से ।
दिनभरको थकाइले त्यो चिट्ठी पढ्छु भनेर खाम खोलेर हेर्दाहेर्दै उनी निदाए† पत्र खाटको तल झरेको थियो ।
निर्मला कोठाभित्र पसिन् र झरेको कागज हेरिन् – “राम दाजु, दिनदिनको अभिवादन !”
समाचारहरूमा दाजुको समाचार सुन्दै र हेर्दै मन शान्त पार्दै छु र हजुरको फुर्सद हुने दिन यहाँका दाजुहरूले मलाई सूचना दिनुभयो भने म तत्कालै अर्थात् २ घण्टाभित्र आइपुग्नेछु । अहिले पनि दाजुको भूमिगत अवस्थाको प्रभावले गाँजेकै जस्तो छ । धन्यवाद ! (बहिनी सीता)
निर्मला पत्र हेरेर एकछिन विस्मित् भइन् । केही बुझेको र केही नबुझेको अलमलको भुमरी झेल्दै रामलाई अलिअलि तराईको भाषाको लयमा “रामबाबु, रामबाबु, उठ्नुस् त एउटा चिट्ठी”… भन्दै रामलालको हातमा थमाइन् । “अहो, मैले हेर्नै भ्याइनँ” भन्दै चिट्ठी हेर्दै भने, “यो त भूमिगत जीवनको, एक बहिनीको पत्र हो ।” के सोचेर हो निर्मलाले रामलाई तत्काल भेट्न जान आफ्नो पतिलाई सल्लाह दिइन् ।
Leave a Reply