म भैल खः हुँ
- बैशाख ४, २०८३
सन्दर्भ : अन्तर्राष्ट्रवादी पत्रकार एड्गर स्नो जन्म दिवस
चिनियाँ जनता र संसारलाई चिनियाँ क्रान्तिका नेता को हुन् र कस्ता छन् भन्ने जानकारी दिने अमेरिकी पत्रकार एड्गर स्नो थिए । २२–२३ वर्षको उमेरमा उनी अमेरिकाबाट चीन पुगे । उनले त्यहाँ ७ वर्ष चिनियाँ भाषा र चीनको अध्ययन गरे तथा येनचिङ (Yenching) विश्वविद्यालयमा अध्यापन गरे । शिकागो ट्रिब्युन (Chicago Tribune), न्युयोर्क सन (The New York Sun) र न्युयोर्क हेराल्ड ट्रिव्युन (The New York Herald Tribune) जस्ता अमेरिकी पत्रिका र बेलायतको ‘द लण्डन डेली’ (The London Daily) को संवाददाताको रुपमा कार्य गरे ।
एड्गर स्नो संरा अमेरिकाको मिसौरी (Missouri) राज्यको केन्सास (Kansas) महानगरमा १७ जुलाई १९०५ मा जन्मेका थिए ।
परिवार
एड्गर स्नोका जिजुबाजे सामुयल फ्रोस्ट स्नो (Samuel Frost Snow) ले अमेरिकाको दासमोचनको गृहयुद्धभन्दा पहिले नै आफ्ना दासहरूलाई मुक्त गरेका थिए ।
उनका बुबा जेम्स एड्गर (James Edgar) सन् १८७३ मा जन्मेका थिए । उनकी आमा आइरिश जर्मनी आमाबाबुबाट जन्मेका अन्ना क्याथेरिन इडेल्मान (Anna Catherine Edelman) थिइन् । अन्नाका बुबा जर्मनीको सिलेसिया (Silesea) मा जन्मेका थिए र उनी दुई वर्षको हुँदा अमेरिका पुगेका थिए ।
एड्गर स्नोका बुबाले एक सानो छापाखाना र प्रकाशन गृह स्थापना गरेका थिए । त्यस छापाखाना कम्पनीले ‘केन्सास नगर नक्षेत्र’ (Kansas City Star) पत्रिका छाप्थ्यो । उनका आमाबुबाको दुई छोरा र एक छोरी थिए । उनी कान्छा छोरा थिए । धर्ममा उनको बुबा उदार थिए ।
सानोमा उनले फ्रान्सेली उपन्यासकार भिक्टर ह्युगोका ‘अभागी’ (Des–Miserables), रोबिन्सन क्रुसो (Robinson Crusoe), स्वीस परिवार रोबिन्सन (The Swiss Family Robinson), ‘धनको टापु’ (Treasure Island) जस्ता पुस्तकहरू पढेका थिए । उनले मिसौरी विश्वविद्यालयमा पत्रकारिताको अध्ययन गरे । विश्व भ्रमणको निम्ति पैसा जम्मा गर्न उनी न्युयोर्क पुगे तथा सन् १९२८ मा उनी चीनको साङ्घाई पुगे । त्यसबेला उनी २३ वर्षका युवा थिए ।
साङ्घाईको अर्थ ‘समुद्रभन्दा माथि’ हो – राजनैतिक र आर्थिकरूपले राष्ट्रभन्दा माथि । साङ्घाईको एक भाग फ्रान्सेलीहरूको क्षेत्र थियो । त्यो क्षेत्र १० हजार एकडको थियो, ३० लाख चिनियाँ मजदुर र विदेशीहरू त्यहाँ बस्थे । त्यसमा धेरै चिनियाँ महिलाहरूको चिया पसल, रिक्सा तान्ने व्यवसाय र वेश्यालयहरू थिए । सारमा, साङ्घाई अत्यन्त फोहर थियो, भोका नाङ्गा, शरणार्थीहरूको स्थल थियो । राम्रा केटाकेटीहरू बेचिने ठाउँ साङ्घाई थियो । त्यसबेला चीन भन्नु नै साङ्घाई थियो । तर, साङ्घाईमा शक्तिशाली देश बेलायती, फ्रान्सेली, अमेरिकी र जापानी बासिन्दा र तिनीहरूका वाणिज्य दूतहरू हुन्थे । फ्रान्सेली क्षेत्र मुठ्ठीभर फ्रान्सेलीहरूको हातमा थियो र चिनियाँहरूले फ्रान्सेलीहरूलाई सबै प्रकारको कर तिर्नुपर्दथ्यो ।
उनले चीनमा रहेर ‘शिकागो ट्रिब्युन’ (Chicago Tribune) का लागि काम गरे । उनले न्युयोर्कको ‘हेराल्ड ट्रिव्युन’ (Herald Tribune) भन्ने साप्ताहिकमा पनि योगदान गरे । पछि ‘हेराल्ड ट्रिव्युन’ दैनिक भयो । उनले त्यसमा काम गर्दै गए र उनी चीनको उत्तरी भागको यात्रामा पठाइए । अमेरिकामा सँगै पत्रकारिता पढेका साथी जे. बी. पावेल (J.B. Powell) को सम्पादनमा निस्कने अङ्ग्रेजी ‘चिनियाँ साप्ताहिक समीक्षा’ (China Weekly Review) मा उनले काम गरे । उनी पुनः दक्षिणी चीन हुँदै भारततिर पठाइए ।
एड्गर स्नोले निङपो (Ningpo) देखि हान्को (Hankow), नानकिङबाट हार्बिन (Harbin), पेइचिङबाट ठुलो पर्खाल (Great Wall) र त्यहाँबाट मञ्चुरिया र कोरियाको ८ हजार माइलको रेलयात्रा गरे । कुब्ला खाँले शासन गर्दाको मार्कोपोलो पुल, चीनको भेनिस भनिने हांगचाउ, नानकिङ, कन्फ्युसियसको जन्मस्थल आदिको भ्रमण गर्दै चीनको विदेशी समाज र माथिल्लो स्तरका मानिसहरूबारे जानकारी हासिल गरे । त्यसबेला चीनको जनसङ्ख्या ४० करोड थियो ।
बिस्तारै उनी दक्षिण–पूर्वी एसियाको समेत संवाददाता भए र साङ्घाईबाट सानो जापानी जहाजबाट उनी फार्मोसा (Farmosa) पुगे । तुलनात्मकरूपमा उनले फार्मोसा अर्थात् ताइवान (Taiwan) राम्रो पाए । सफा, समृद्ध र माग्नेहरू फाट्टफुट्ट मात्रै उनले देखे । स्वास्थ्य सेवा र शिक्षा राम्रो, जीवनस्तर र साक्षरता प्रतिशत धेरै माथि थियो ।
फार्मोसाबाट उनी फूचो (Foochow), अमोई (Amoy) र स्वाटो (Swatow) हुँदै क्वान्तुङ प्रान्तको क्यान्टन (Canton) पुगे । क्यान्टन चीनको गणतन्त्रवादी र पहिलो राष्ट्रपति सन यात सेनको जन्मथलो र राष्ट्रवादी क्रान्तिको थलो थियो । त्यो ठाउँ त्यसबेला होनोलुलुका चिनियाँहरूको प्रभावमा थियो । क्यान्टन चीनको तेस्रो र सबभन्दा ठुलो महानगर थियो । त्यहाँ ‘सत्य चीन’ (China Truth) भन्ने पत्रिका चल्थ्यो । तर, क्यान्टन सोचेजस्तो राष्ट्रवादीहरूको उदाहरण या नमुनाको भने उनले पाएनन् । त्यहाँ कर्मचारी, साहुमहाजन, बैङ्कका मालिक र गुण्डाहरूको दबदबा थियो । भूमि, यातायातको साधन, नुन, सुती, रक्सी, वेश्यालय, रेष्टुराँ र अन्य मनोरञ्जनका साधनहरूमा कर छलिन्थ्यो र भ्रष्टाचार हुन्थ्यो ।
क्यान्टनबाट उनी सानो पोर्चुगाली उपनिवेश मकाओ (Macao) पुगे । त्यहाँको आम्दानीको स्रोत पनि जुवा, अफिम र वेश्यावृत्ति थियो । मकाओबाट सानो पानीजहाज चढेर एड्गर स्नो उत्तर भियतनामको टोन्किन (Tonkin) खाडीतिर लागे । ४५० किलोमिटरको यात्रापछि उनी राजधानी हनोइको पूर्वको बन्दरगाह हाइफोङ (Haiphong) ओर्लिए ।
फ्रान्सेली उपनिवेशवादीहरू कुराकानीमा हिन्द– चीनमा परोपकारी वा सभ्य ढङ्गले उपनिवेश चलाएको धाक लाउँथे । दुई चारजना माथिल्लो खान्दानीहरूलाई फ्रान्समा अध्ययन गर्न पठाई, केही महिलाहरूलाई फ्रान्सेली भाषा र संस्कृतिमा अभ्यस्त गराउनुलाई नै तिनीहरू ठुलो काम गरेको सम्झन्थे । तर, साँचो अर्थमा तिनीहरू साधारण भियतनामी जनतालाई पशुसरह व्यवहार गर्ने र दमनको कारण टोन्किनका जनतामा हाँसो भन्ने कुनै उनले देखेनन् ।
पूर्वी एसियामा जापानबाहेक हनोइका सडक चौडा र दायाँबायाँ बिरुवा रोपिएको राम्रो देखिन्थ्यो । दक्षिणको सैगोन सहर ठुलो भए पनि कठिन भूगोल थियो । यसकारण, विदेशी कार्यालयहरू हनोइमा थिए । भियतनाममा एउटा मात्रै रेलको बाटो थियो । दुई करोड जनता भएको भियतनाममा हजारौँ जनता रोग, भोक, अज्ञानता र हिलोमैलोमा डुबेका थिए ।
युनानबाट बर्मा
भियतनामबाट एड्गर स्नो युनानफु (Yunanfu) पुगे । कुन्मिङ (Kunming) त्यसको राजधानी थियो । अफिमको व्यापार, डकैतीको बिगबिगी, केटीहरूको बेचबिखन, युद्ध सरदारहरूजस्ता सिद्धान्तहीन राजनैतिक नेताहरू, अमेरिकी बैङ्कमा पैसा जम्मा गर्ने धनीहरू र पाँच लाख दासहरूको प्रान्त थियो । क्रान्ति, प्रतिक्रान्तिकारी र राष्ट्रवादबारे माथिल्ला स्तरका व्यक्तिहरू र क्षेत्रहरू विभाजित हुँदै थियो । युनान (Yunnan) को अर्थ हो– बादलको दक्षिण ।
धेरै भरियाहरू राखेर एड्गर स्नो येनान, तिब्बतको सीमा हुँदै केही दिनपछि बर्माको सरहद पुगे । बर्माको सरहदबाट रङ्गुन जाने बाटोमा खच्चरबाट लडेर उनको घुँडामा ठुलो चोट प¥यो र केही दिन उनले त्यहीँ उपचारमा बिताए । बर्माका नेताहरूमा चिनियाँ कम्युनिस्टको प्रभाव नपरून् भनेर अङ्ग्रेजहरू समाजवादको प्रचारमा लागेका थिए र बर्माका जनता र नेताहरूमा भारतविरोधी भावना थियो र बर्माले स्वतन्त्रता पायो ।
चीन फर्के
एड्गर स्नो बर्माबाट भारत पुगे । भारतको उनले पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिणसम्मको यात्रा गरे । भारतमा उनले दार्शनिक, विचारक, लेखक, कवि–कलाकारहरूसँग भेट गरे तथा छलफल गरे । तिनीहरूकै माध्यमबाट गान्धीजी, नेहरू र अन्य नेताहरूसम्म उनी पुगे । केही स्थानीय तहका भूमिगत महिला कम्युनिस्ट कार्यकर्ता सुहासिनी (Suhasini), युवा कम्युनिस्ट लीग, मजदुर सङ्गठनका अधिकारी आदिसँग कुराकानी गरे । भारतका मजदुरहरूको स्थिति अत्यन्त दयनीय थियो । गरिब महिलाहरू आफूलाई बेच्न बाध्य थिए र भारतमा माक्र्सवादलाई त्यसबेला धर्मको रूपमा लिन्थे ।
गान्धीजीको सत्याग्रह अहिंसा धर्म मिश्रित राजनीति उनलाई दुरुह लाग्यो भने नेहरूको समाजवाद समस्याको समाधान लाग्यो, पछि उनलाई अफिमको व्यापारी, तस्कर र कमिन्टर्नको एजेन्टको झूटा आरोपमा पक्राउ पर्ने सम्भावना हुँदा उनी चीन फर्के । सन् १९३२ मा अमेरिकी वाणिज्य दूतावासमा काम गर्ने हेलेन फोस्टर स्नो (Helen Foster Snow) सँग उनको प्रेम भयो ।
Leave a Reply