भर्खरै :

ब्रह्मायणी मन्दिरको मौलिक स्वरूप र शैलीबारे अन्तरक्रियात्मक छलफल

ब्रह्मायणी मन्दिरको मौलिक स्वरूप र शैलीबारे अन्तरक्रियात्मक छलफल

भक्तपुर, १२ साउन । भक्तपुर नगरपालिका ९ नं वडा कार्यालयको संयोजनमा वडा नं. ९ स्थित ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको ब्रह्मायणी मन्दिर पुनः निर्माण गर्ने सन्दर्भमा राय सुझाव लिन सोमबार ब्रह्मायणी परिसरमा एक छलफल कार्यक्रमको आयोजना ग¥यो ।
पुराना चित्रकार, ज्येष्ठ नागरिक, इन्जिनियर, सम्पदाप्रेमी, शिक्षक, संस्कृतिप्रेमी, डकर्मी, सिकर्मी, किसान, महिला, मजदुर, युवा, विद्यार्थी, जनप्रतिनिधि तथा स्थानीय वडावासीहरू सहभागी भएको सो भेलामा भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले ऐतिहासिक प्रमाणकै आधारमा मन्दिर निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
थंथु दरबार, कला सङ्ग्रहालय, गुठी संस्थान भवन आदि मल्लकालीन शैलीमा बनाउन लागिपरेको उल्लेख गर्दै उहाँले लक्ष्मी नरसिंह मन्दिर सम्बन्धित व्यक्ति, विज्ञहरूसँगको लामो अध्ययन र अनुसन्धानपछि मात्र बनाएको बताउनुभयो ।
यहाँका हरेक मठ, मन्दिर, सत्तल, पाटी, ढुङ्गेधारा आदि सबैको साझा सम्पत्ति भएको हुँदा सोको संरक्षण गर्ने जिम्मेवारी पनि सबैको हुने उल्लेख गर्दै उहाँले पुरानो बचाउने या संरक्षण गर्ने नाउँमा मौलिक स्वरूपविपरीत आधुनिकीकरण गर्न नहुने विचार व्यक्त गर्नुभयो ।
ब्रह्मायणी मन्दिरको स्वरूप कस्तो हो भन्ने कुराको हरेक दृष्टिकोणबाट हेर्नुपर्ने आवश्यकता औँल्याउँदै पुरातात्विक, ऐतिहासिक आधार, संस्कृतिविद् र इतिहासहरूको अनुभव सङ्कलन गरी अध्ययन अनुसन्धानपछि प्राप्त सुझावमा पनि अन्तरक्रियात्मक छलफल गरी निचोडमा पुगेपछि मात्रै ब्रह्मायणी मन्दिर पुनः निर्माण प्रक्रिया अघि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
भक्तपुरलाई देशकै सुन्दर, आकर्षक र नमुना नगर बनाउने उद्देश्यले काम गरिरहेको स्पष्ट पार्दै उहाँले भक्तपुर सबैको निम्ति सिक्ने, सिकाउने र अध्ययन गर्ने थलोको रूपमा परिचित हुँदै गएको बताउनुभयो ।
भक्तपुर नगरको सम्पदा संरक्षण विदेशी लगानीबिना यहाँका जनताको स्रोत, साधन, सीप र लगानीमा भइरहेको उल्लेख गर्दै उहाँले नगरको प्रवेशद्वारदेखि नै आकर्षक र सुन्दर बनाउनेतर्फ नपा लागिपरेको बताउनुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले ब्रह्मायणी मन्दिर, पीठ सबैको आस्थाको केन्द्र, धार्मिक, ऐतिहासिक र सांस्कृतिक केन्द्र भएको उल्लेख गर्दै ब्रह्मायणी मन्दिर पहिले कस्तो शैली र स्वरूपमा बनेको हो, त्यसबारे विज्ञ र वडावासीहरूसँग राय सुझाव लिन भेला आयोजना गरिएको बताउनुभयो ।
हरेक सम्पदाको अभिलेखीकरण गर्नुपर्ने आवश्यकतामा जोड दिँदै उहाँले ब्रह्मायणी मन्दिर मौलिक स्वरूपमै पुनः निर्माण गर्नुपर्ने पुरातत्वविद्, संस्कृतिविद् र विज्ञहरूको सुझाव आइरहेको बताउनुभयो ।
सहरी विकास मन्त्रालयले ब्रह्मायणी परिसर सुधारको लागि बजेट छुट्याएको जानकारी दिँदै उहाँले ब्रह्मायणी मन्दिरको मौलिक स्वरूप थाहा पाउन अन्तरक्रिया र छलफललाई चालु राख्ने बताउनुभयो ।
चाँगु नारायण नपा वडा नं. ९ का वडाध्यक्ष गणेश त्यातले ब्रह्मायणी मन्दिर र वरपरको सम्पदा संरक्षण र सुधारमा एक आपसमा समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।
रवीन्द्र ज्याख्वको सभापतित्वमा भएको सो भेलामा इन्जिनियर सरिता धुख्वाले ब्रह्मायणी मन्दिरको पहिलेको स्वरूप, संरचना, ज्येष्ठ र विज्ञहरूको भनाइ र स्थलगत अध्ययनबारे प्राप्त सुझावबारे जानकारी दिनुभयो ।
भेलामा छोरीमैया सुजखुले भेला आयोजनाको आवश्यकताबारे बताउनुभयो ।
भेलामा सहभागी विभिन्न व्यक्तिहरूले ब्रह्मायणी मन्दिरको स्वरूप र स्थितिबारे थाहा पाउन अभिलेख, शिलापत्र अध्ययन गर्नुपर्ने, त्यसको फोटो, चित्र खोजीनीति गर्नुपर्ने, डाफा भजनको गीत, इतिहास र संस्कृतिसम्बन्धी पुस्तक अध्ययन गर्नुपर्ने, ब्रह्मायणी मन्दिर काभ्रे र उपत्यकामा कहाँ कहाँ छन् बुझ्नुपर्ने सुझाव दिएका थिए ।
मन्दिरको हाल कायम रहेको अवशेष हेर्नुपर्ने, ब्रह्मायणी मन्दिर भत्केसँगै बाँकी रहेका विभिन्न टुँडाल, आँखीझ्यालको अध्ययन गर्नुपर्ने, इतिहासकार, चित्रकार, राजोपाध्याय, संस्कृतिविद्, ज्येष्ठ नागरिक आदिसँग बुझ्नुपर्ने, विदेशीहरूको यात्रा संस्मरण, यात्राको क्रममा खिचेको फोटो, अष्टमातृकाको मन्दिर आदिबारे पनि अध्ययन अनुसन्धान गर्नुपर्ने सुझाव सहभागीहरूले दिएका थिए ।
त्यस्तै, ब्रह्मायणी मसान घाटमा शव दाह गर्न आउने गुठीका नाइकेहरूसँग पनि आवश्यक परामर्श लिनुपर्ने सुझाव दिइएको थियो ।
स्मरणीय छ, यहाँका अष्टमातृकाहरूमध्ये ब्रह्मायणी मन्दिर र स्थान पनि एक हो । यस्तै अन्य मातृका देवीहरूमा महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी र त्रिपुरासुन्दरी पनि रहेका छन् ।
ब्रह्मायणी मन्दिरको स्वरूपबारे कुनै इतिहासकार, संस्कृतिविद्, पुरातत्वविद्, ज्येष्ठ नागरिक, विज्ञ या अन्य ज्ञाताहरूसँग कुनै ऐतिहासिक प्रमाण, फोटो, चित्र, मन्दिर, अभिलेख भए भनपा वडा नं. ९ या भनपाको कार्यालयमा सम्पर्क राखी सहयोग गर्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *