भर्खरै :

नमस्कार !

नमस्कार !

रुद्र दाइ र श्याम दाइ दुईजना एउटा कार्यक्रममा जाँदै हुनुहुन्थ्यो । उहाँहरूले बाटोमा यस क्षेत्रको जनप्रतिनिधि वरिपरि मान्छे राखेर आउँदै गरेको देख्नुभयो । रुद्र दाइले श्याम दाइलाई भन्नुभयो, “देख्नुभएको छ ? हाम्रा जनप्रतिनिधि वरिपरि मान्छेहरू राखेर कोही दादा आएजस्तै आउँदै छन् ? यस्ता दादाको पछाडि किन लागेका होला मानिसहरू ? मलाई त ऊ आफ्नो ठाउँको जनप्रतिनिधि भएर पनि उनलाई नमस्कार भन्नु त के मुख पनि हेर्न मन लाग्दैन ।”
“तपाईँलाई मन नलागेर के गर्ने ? देश यस्तै भ्रष्ट मान्छेहरूको हातमा छ । पावर र पैसा भएका मानिसहरूको इज्जत राख्ने र तिनीहरूको पछि लाग्ने देशमा कोही त्यस्तो पछि लागेको देख्दैमा आश्चर्य मान्नुपर्दैन । किनकि, कोही खान पाउने आशाले, कोही मोजमस्ती गर्न पाउने आशाले त कोही कामको लागि पछि लागेका हुन्छन् ।” श्याम दाइले आफूलाई त्यस किसिमको चाकडी मन नपर्ने किसिमले भने ।
“तपाईँलाई थाहा भएकै कुरा हो, उनीहरू हामीजस्तो पढेलेखेका मान्छेहरूलाई मान्छे गन्दैनन् । उनीहरू आफ्ना नेता र गुण्डाहरूबाहेक कोही चिन्दैनन् । मलाई त देश बिगार्ने यस्तै जनप्रतिनिधि र तिनीहरूको पछि लाग्ने बिचौलियाहरू नै हुन् । त्यस्ता भ्रष्ट मान्छेहरूलाई इज्जत र सम्मान दिनु भन्नु उनीहरूलाई प्रोत्साहन दिनुजस्तो लाग्छ ।” रुद्र दाइले आफ्नो घृणा भाव पोख्छ ।
“हाम्रो संस्कारमा पावर र पैसा भएकालाई मान्ने परिपाटी छ । उनीहरूले जे गरे पनि विरोधमा कोही बोल्न नसक्ने  । मानिसहरू नेपालमा गणतन्त्र आयो भन्ने गर्छन् । मलाई त यो व्यवस्था पञ्चायतभन्दा गएगुज्रेको लाग्छ ।” श्याम दाइले पनि विडम्बना पोख्यो ।
त्यतिबेलै जनप्रतिनिधि र उनको पछिपछि लागेर आएका मान्छेहरू रुद्र दाइहरूको नजिक आइपुगे । कहिल्यै नबोल्ने र कहिल्यै आँखासमेत लगाउन नसकेका जनप्रतिनिधिले आज टाढैबाट हात जोडेर “दाइहरू टाढै ? नमस्कार ! ज्वजलपा ! है” भन्दै आएको देख्दा रुद्र दाइ र श्याम दाइ अचम्मित भए । उनीहरू पनि छक्क पर्दै “नमस्कार ! ज्वजलपा !” भन्दै बाटो लागे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *