भर्खरै :

युवाहरूले विश्वविद्यालयको ज्ञानसँगै सीप सिकेर आत्मनिर्भर हुनुपर्ने

युवाहरूले विश्वविद्यालयको ज्ञानसँगै सीप सिकेर आत्मनिर्भर हुनुपर्ने

भक्तपुर, २९ साउन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नपाले सञ्चालन गर्ने पाक शिक्षा, आधारभूत सिलाइ, एड्भान्स सिलाइ र हेयर कटिङ तालिमका प्रशिक्षार्थीहरूको भेला भनपा सभाकक्षमा बिहीबार सम्पन्न भयो ।
भेलामा अतिथि प्रजापतिले देशभक्तिपूर्ण भावना प्यालिस्टिनी जनताबाट सिक्नुपर्ने बताउँदै प्यालेस्टिनी जनता इजरायली आक्रमणकारीविरुद्ध निरन्तर लडिरहेका छन् भन्नुभयो ।
प्रत्येक युवाहरूले विश्वविद्यालयको ज्ञानसँगै सीप सिकेर आत्मनिर्भर हुनुपर्ने उल्लेख गर्दै उहाँले हरेक युवामा नयाँ नयाँ सीप सिक्ने इच्छाशक्ति बलियो हुनुपर्ने बताउनुभयो ।
समाजमा विकृतिहरू पैmलिरहेको हुँदा युवाहरू जोगिनु आवश्यक रहेको उल्लेख गर्दै उहाँले युवाहरू देशको भविष्य भएकाले राम्रो संस्कार र संस्कृति बिर्सनु हुन्न भन्नुभयो ।
विदेश जाँदैमा मान्छेले सुख पाउने होइन, बरु सुख छोडेर दुःख खोज्ने जस्तो हुन्छ भन्दै प्रमुख प्रजापतिले भन्नुभयो, “हरेक युवाहरू एउटा एउटा काममा दक्ष बन्ने र आफ्नो दक्षता देश र जनताको हितमा प्रयोग गर्नुपर्छ ।”
भक्तपुर देशको पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको हुँदा हाम्रो बोली व्यवहारदेखि हरेक क्षेत्र राम्रो हुनुपर्नेमा जोड दिँदै उहाँले भक्तपुरलाई उदाहरणीय नगर बनाउन यहाँका नागरिकहरू नै अग्रसर हुनुपर्ने बताउनुभयो ।
भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले प्रतिस्पर्धाको समयमा नागरिकहरू सीपयुक्त बन्नुपर्ने बताउँदै आफूसँग भएको ज्ञान र सीपलाई व्यवहारिक रूपमा प्रयोग गर्न सके सफल हुने जानकारी गराउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. १० वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखा, कार्यपालिका सदस्यद्वय रोशनमैंया सुवाल र छोरीमैँया सुजखूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *