भर्खरै :

भक्तपुर काण्ड नेमकिपाविरुद्धको राज्यस्तरको षड्यन्त्र

भक्तपुर काण्ड नेमकिपाविरुद्धको राज्यस्तरको षड्यन्त्र

भक्तपुर, ८ भदौ । भक्तपुर काण्ड (भदौ ९) को भत्र्सना एवं विरोध गर्दै नेपाल क्रान्तिकारी महिला सङ्घ, प्रभात सेकेन्डरी स्कूल समितिको आयोजनामा आइतबार प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले नेमकिपाले राजनीतिलाई देश र जनताको निःस्वार्थ सेवा गर्ने क्षेत्र बनाएको उल्लेख गर्दै निर्दलीय र निरङ्कुश पञ्चायती सरकारलाई नेमकिपाको यो राजनीतिक निष्ठा मन नपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पञ्चायती सामन्तवादको विरूद्ध नेमकिपाले किसान आन्दोलन अघि बढायो । पञ्चायती निर्वाचनमा उम्मेदवार उठाएर जालि फटाहाहरूलाई पराजित गर्ने पार्टीको नीतिदेखि शासकहरू आक्रोशित भए ।”
नेपालको सुस्तामा भारतीय विस्तारवादले अतिक्रमण गरेको विरोधमा भक्तपुरका अग्रजहरूको पहिलो विरोध प्रदर्शन निस्क्यो । देश र जनताप्रति पार्टीको यो निष्ठालाई विचलित पार्न पञ्चायती सरकारले राज्यस्तरको षड्यन्त्र रची ‘भक्तपुर काण्ड’ झूटा मुद्दामा नेता–कार्यकर्ताहरूलाई फसाएको हो । अन्ततः पञ्चायती सरकार यो षड्यन्त्रमा परेर आफै समाप्त भयो, उहाँले थप्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य एवं नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतमप्रसाद लासिवाले नेमकिपाले स्थापनाकालदेखि नै भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गरी कामदार जनताको न्यायपूर्ण सङ्घर्षमा साथ दिँदै आएको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्यहरू रोशनमैयाँ सुवाल, भनपा ६ वडाका वडाध्यक्ष हरिराम सुवालले भक्तपुर काण्डबारे जानकारी दिँदै कम्युनिस्टहरूलाई दबाउन गरिएको जर्मनीको राइखस्टाग काण्ड र भारतको केरलामा भएको षड्यन्त्रबारे स्पष्ट पार्नुभयो ।
कार्यक्रममा शिक्षकहरू बलराम गोसाई, सुनिता दुवाल, मनिस गोरा, अनिता देशेमरू, तारा न्यौपाने र राजु तामाङले भक्तपुर काण्डसँग सम्बन्धित विविध घटनाबारे बोल्नुभएको थियो ।
आयोजक समितिका अध्यक्ष एवं ब्लक इन्चार्ज मीरा दुगुजुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सदस्य एवं विद्यालयका सहप्राचार्य स्वर्णिमा मूल र शिक्षक लिना लासिवाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *