भर्खरै :

यो हल्लै हल्लाको देश हो

यो हल्लै हल्लाको देश हो

कानमा इयरफोन लगाउनुपर्ने बहिराहरू
जहाँ सङ्गीत प्रतियोगिताका जजहरू हुन्छन्
र जहाँ आत्मामा पत्थर परेकाहरू
काव्यका निर्णायक मानिन्छन्,
काठका खुट्टाहरू जहाँ रेसमा विजेता हुन्छन्
र जहाँ प्लास्टर गरिएका हातहरूमा
सुरक्षाको सङ्गीन थमाइन्छ,
जहाँ बाटो र अट्टालिकाहरूका ढोकाअगाडि
डोकोका डोको,
खर्पनका खर्पन,
ट्रकका ट्रक आत्माका मण्डी सजाइन्छ,
स्टक एक्सचेन्जका शेयरजस्तै
आत्मा क्रय–बिक्रय गर्न सक्नेहरू
जहाँ नेता हुन्छन्
र जहाँ निधारभरि कर्कटपाताजस्तै
चाउरी परिसकेकाहरू
तन्नेरीहरूका अगुवा हुन्छन्
जहाँ जतिसुकै व्यभिचारीको पनि
इज्जतको ‘वास एन वियर क्रीज’ कहिल्यै बिग्रिन्न,
जहाँ जतिसुकै/पाप गरेको बेश्याको पनि
अनुहारको टेरेलिनको छाला कहिल्यै खुम्चिन्न,
जहाँ कृषिमेलाहरूमा
दोब्बर उब्जनी हुने बीउहरूको प्रदर्शनी गरिन्छ
र जहाँ खडेरी र अनिकालका संरचारले भरिन्छ,
जहाँ वाग्मती र विष्णुमतीका साटोमा
अब बीयर र ह्विस्की बग्दछन्,
जहाँ अब पशुपतिनाथ र स्वयम्भूनाथका मन्दिरको उपयोग
तिनका प्रसाद खानमा कम र
तिनका पछाडिका वनहरूमा
आडम र त्को ‘वर्जित फल’ खानमा बर्ता गरिन्छ,
जहाँ चिनीको कारखानाले
चिनी होइन, रक्सी मात्र बनाउँछ
र जहाँका स्वतन्त्र आमाहरूले
छोरा होइन लाहुरे मात्र जन्माउँछन्
जहाँ ऋण तिर्नको लागि महाकविले
असमयमै मर्नुपर्दछ,
जहाँ स्वदेशको पिरले बहुलाएको कविले
विदेशी अस्पतालको शरण पर्नुपर्दछ,
र जहाँ सरस्वतीकी एक्ली छोरीले
बिनाउपचार बैंसमै कुँजिएर जीवन बिताउनुपर्दछ,
जहाँ गाइडले टुरिस्टलाई
नेपालको विदेशलाई देन सम्झाउँछ
र बिदाको बेलामा उससित उसको
विदेशी क्यामराको देन माग्दछ,
जहाँ तन्नेरीहरू
किल्ला काँगडा र नालापानीको गीत गाउँदै
अब कवाज खेल्छन्
टाई र कोटको कलरमा खुकुरी भिरेर
यो देशमा मलाई भन्न कर लाग्छ
आफ्नो मुटु चिरेर
कि ए मेरो देशवासीहरू हो
ए मेरो देशका राष्ट्र–कविहरू हो
ए मेरा देशका सम्माननीय नेताहरू हो
भन्न मन लाग्छ भने भन मलाई
स्वदेशनिन्दक वा घृणाचिन्तक
तर यो देश तिम्रो जत्तिकै मेरो पनि देश हो
अंशैबन्डा गर्ने हो भने पनि यो देशका एक करोड
टुक्राहरूमध्ये एउटा टुक्रामाथि
मेरो पनि छाप्रो हुनेछ
र यो देशको असङ्ख्य बगरहरूमध्ये एउटा बगरमाथि
मेरो पनि चित्ता हुनेछ
यही भावनाले मलाई यो भन्न बाध्य गराउँछ र
आँट दिलाउँछ यो भन्न
कि ‘यो हल्लै हल्लाको देश हो’
खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरूका जगमा
त्यहाँ फगत हल्लै हल्ला थुप्रिएको पाइनेछ ।
त्यसैले यो हल्लै हल्लाको देश हो
यो हल्लै हल्लामाथि उभिएको देश हो
यो हल्लै हल्लामाथि उठेको देश हो
यो हल्लै हल्लाको देश हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *