लोकतान्त्रिक देशमा अलोकप्रिय निर्णय असान्दर्भिक
- बैशाख ११, २०८३
हिजोआज केही ‘बुद्धिजीवी’ हरू शासक दलका कर्तुतहरूको विरोध गर्ने नाउँमा राजनीतिक पार्टी प्रणाली र राजनीतिक सिद्धान्तकै विरोध गर्न थालेका छन् । राजनीतिक दर्शन, सिद्धान्त र प्रणालीबिना आधुनिक राज्य व्यवस्था चल्न नसक्ने सत्यलाई बुझेर पनि बुझ पचाइरहेका छन् । सबै राजनीतिक सिद्धान्त सबैलाई ठीक लाग्दैन र एउटै राजनीतिक पार्टी पनि सबैलाई ठीक लाग्दैन । फेरि पनि देशको राजनीति कुनै न कुनै राजनीतिक सिद्धान्तअनुसार नै चलेको हुन्छ । सैद्धान्तिक र वर्गीय राजनीतिको विरोध गर्नेहरू आफै कुनै न कुनै वर्गको राजनीति गरिरहेका हुन्छन् ।
वर्गहरू भएको समाजमा राजनीति वर्गीय नै हुन्छ; वर्गीय समाजमा नयाँ र पुराना, सत्य र असत्यबिचको सङ्घर्षको कहिल्यै अन्त्य हुनेछैन । सिद्धान्त र विचारको आधारमा नै कुनै दलले कुनै वर्गको प्रतिनिधित्व गरिरहेको हुन्छ । पुँजीवादी बन्दोबस्तमा अल्पमतले बहुमतमाथि शासन गर्छ । बहुमत जनतामाथि शोषण र अन्याय गरेर नै पुँजीपतिवर्गले शासन गरेको हुन्छ । अहिले नेपालमा पुँजीवादी बन्दोबस्त छ । पुँजीवादी ब्यवस्थाअनुसार नै देशमा शासन र प्रशासन चलिरहेको छ ।
कम्युनिस्टको खोल ओढेर पुँजीवादी व्यवस्थाअनुसार शासन गर्नु आफ्नो दलको सिद्धान्त र विचारविपरीत छ; यो सिद्धान्तहीन राजनीति हो । यस्तो सिद्धान्तहीन राजनीतिकै कारण नेपालका एमाले र माओवादी केन्द्रलगायत कम्युनिस्ट पार्टीहरू भाइकाङ्ग्रेस साबित भएका हुन् । नेपालका कम्युनिस्ट नामधारी पार्टीहरू कम्युनिस्ट सिद्धान्तमा अडिन सकेनन् । ती पार्टीहरू संसदीय व्यवस्थाको मूल्य मान्यतामा समेत रहन सकेनन् । त्यसैकारण, प्रमुख प्रतिपक्षमा रहेर सरकारलाई खबरदारी गर्नुपर्ने एमालेले संसदको पहिलो ठुलो दलको समर्थनमा सरकार चलायो । यसअघि तेस्रो ठुलो दल माओवादी केन्द्रले सरकारको नेतृत्व ग¥यो । ती सैद्धान्तिक राजनीति कदापि थिएनन् बरु सिद्धान्तहीन राजनीतिक दाउपेच मात्र थिए । नेपालका सत्तासीन कम्युनिस्ट पार्टीहरूले नेपाली समाजको वर्ग विश्लेषण नै गरेनन् या गर्न चाहेनन् । हुन त शोषितवर्गका जनताको मत लिएर शोषितवर्गका जनतामाथि नै शासन र शोषण गर्ने दललाई वर्ग विश्लेषणको आवश्यकता किन हुन्छ र ? पुँजीवादी पार्टीलाई शासन र शोषण गर्नुबाहेक अर्को चिन्ता हुँदैन । अतः जनताले आफ्नो सोचाइलाई परिवर्तन गर्नुपर्ने बेला आइसकेको छ । दलको सिद्धान्त र विचारै नबुझी कुनै दलको पछि दगुर्नु हुँदैन । आज त्यही नबुझेर कति श्रमजीवी जनता पुँजीपतिवर्ग र सामन्तवर्गको पक्षमा लागेका छन् । यो सर्वसाधारण जनताको राजनीतिक अपरिपक्वताको सङ्केत हो । श्रमजीवी जनताले श्रमजीवी जनतामाथि शोषण गरिरहेको दल या दलका उम्मेदवारलाई मतदान गर्नु कदापि सही होइन ।
नेपाली जनताले समाजवाद र पुँजीवादको भेदबारे थाहा पाउनैपर्छ । समाजवादी पक्षधरहरू पुँजीवादी पक्षमा लागेर बहुमत जनताको सेवा हुनेछैन; बहुमत जनताको पक्षमा ऐन कानुन बन्ने छैन । विगतमा नेकाको समर्थनमा माओवादीले सरकारको नेतृत्व ग¥यो । नेकाकै समर्थनमा एमालेले सरकारको नेतृत्व ग¥यो । युवा पुस्ताको आक्रोशमय आन्दोलनले केपी ओली नेतृत्वको अलोकप्रिय गठबन्धन सरकार त ढल्यो तर राजनीतिक व्यवस्था उही नै छ । आजको अन्तरिम सरकार पनि पुँजीवादी सरकार नै हो । तसर्थ, अहिलेको सरकारले पनि गरिब र कामदारवर्गका नेपाली जनताको हितमा कुनै ठोस कार्य गर्न सक्नेछैन ।
कुनै पनि राजनीतिक दलले लोकप्रिय नारा मात्र दिने होइन, आफ्नो पार्टीको सैद्धान्तिक आधारबारे जनतामाझ प्रस्ट राख्न सक्नुपर्छ, घोषित सिद्धान्तलाई आत्मसात गर्नुपर्छ र सही निष्कर्ष निकाल्नुपर्छ । आँखामा पट्टी बाँधेर भँगेरा समात्ने वा माछा समात्न खोज्ने अन्धोले झैँ व्यवहार गर्नु अधकल्चो हुनु हो; राजनीतिक अवसरवाद हो । हामी जनताले पनि आँखा चिम्लेर गुण दोष छुट्याउने होइन; सही गलत छुट्याउने होइन या लहैलहैमा लागेर समर्थन र विरोध गर्ने होइन । सद्धान्तहीन राजनीतिले देशलाई निकास दिँदैन ।
Leave a Reply