चे, फिडेलको संस्मरणमा – १४
- कार्तिक ६, २०८२
‘मेरो मुटुको टुक्रा आँखाको नानी’, ‘कलेजाको टुक्रा’, ‘कलेजोको टुक्रा जतिकै माया गर्छु’ भनेर हामीले धेरै माया गरेकोलाई भन्छौँ ।
भारतका एक प्रसिद्ध चिकित्सक डा. सरिनले लेखेको किताबले मलाई कलेजो स्वास्थ्यबारे धेरै कुरा सिकाएको छ । सुन्दा अचम्म लाग्छ, कलेजो एउटा यस्तो अङ्ग हो, यसको ७० प्रतिशत क्षति भएर निकाल्नुप¥यो भने यो पुनः सामान्य आकारमा फर्किन्छ । त्यसैले कलेजो दान गर्ने मानिसले आफ्नो स्वस्थ कलेजोको केही भाग दिए पनि उनीहरू स्वस्थ भएर बाँच्छन् ।
कसरी कलेजो स्वस्थ रहे सम्पूर्ण शरीरको स्वास्थ्यमा प्रभाव पर्छ भनेर उनले आफ्नो ज्ञान बाँडेका छन् । बिरामीका कथाहरूबाट कसरी कलेजोबारे जनचेतना फैलाउन सकिन्छ भनेर उनले धेरै राम्रा उदाहरण दिएर लेखेका छन् । उनको यो किताब पढेपछि मैले पनि ‘कलेजो स्वस्थ नभएका व्यक्तिको गर्धन हेरेर पनि कलेजोमा केही समस्या छ भन्ने ज्ञान दिन सक्ने सम्भावना छ’ भनेर बुझेँ। आजकल त मैले गर्धन हेरेर केही व्यक्तिलाई सल्लाह पनि दिने गर्छु ।
यो किताब पढ्दै गर्दा झन्डै एक वर्षअघि म नेपालगञ्जमा एक (मयुरी) तीनपाङ्ग्रे वाहनमा बसेको थिएँ । चालकको तौल धेरै थियो । उनको गर्धन पत्रपत्र परेको थियो । मैले उनलाई भनेँ, “ए भाइ, तपाईंको तौल धेरै छ, पेट ठुलो छ । तपाईंको गर्धनबाट थाहा हुन्छ कि तपाईंको कलेजोमा बोसो जमेको छ । तपाईंले आफ्नो स्वास्थ्यको ख्याल गर्नुभएन भने त चिनी रोग पनि लाग्ला है, अनि पछि धेरै समस्या पर्ला नि ।”
ती चालकले भने, “मलाई त चिनीको रोग भइसकेको छ । कलेजोमा बोसो पनि जमेको छ भनेर डाक्टरले भनेको छ तर के गर्ने मेरो त काम नै यस्तो छ । भोक लागिहाल्छ । तौल घटाउन सक्दैन । केही औषधी छैन, खाएपछि तौल घटिहाल्ने । मैले तौल घटाउन सकेन ।”
मलाई उनको कुरा सुनेर हाँस उठ्यो र भनेँ, “त्यस्तो तौल घटाउने औषधी र सुई हुँदैन । सायद अमेरिकामा होला । नेपालमा त आएको छैन तर लाखौँ रुपैयाँ पर्छ ।”
“अब के गर्ने, मेरो जीवन यस्तै होला,” चालकले भने । उनलाई डाक्टरले औषधि गरेर सल्लाह दिएर निको भए कि ? वा समस्या परेर सुतेका छन् कि ? ती चालकको स्वास्थ्य अवस्था अहिले कस्तो होला ? जान्न मन लाग्छ । तर, सरिनको किताब पढेपछि मोटो गर्धन देखेर समस्या छ भनेर चाहिँ बुझेको थिएँ।
यो किताबमा उनले एक राजनीतिक नेता र उनको छोराको कथा लेखेका छन् । अति मोटा, गर्धन मोटो, पेट ठुलो, उच्च रक्तचाप र मधुमेह भएका एक नेता उनीकहाँ आउँदा उनका १८ वर्षका छोरा पनि आएका थिए । नेतालाई जाँच गर्दा उनको कलेजोमा ५० प्रतिशतभन्दा बढी बोसो जमेको थाहा भएपछि डा. सरिनले उनलाई तुरुन्त भोजन परिवर्तन गर्ने, जीवनशैली सुधार्ने आदि जानकारी दिए । ‘औषधि त चलिरहेको छ तर औषधिले मात्र तपाईंको समस्या समाधान हुन सक्दैन’ उनले नेतालाई भने ।
नेतासँगै गएका ९० किलोका १८ वर्षका छोरालाई पनि उनले जाँच गर्ने सल्लाह दिए । “मलाई के भएको छ र मैले जाँच गर्ने ?” भनेर छोराले नमानेपछि उनले नेतालाई भनेछन्, “तपाईंको छोराको जाँच गर्ने सल्लाह दिन्छु । केही समस्या भए अहिले पत्ता लागि हाल्छ । नभए पछि त झन् समस्या पर्ला कि ।”
अनि बाबुले छोरालाई जाँच गर्न कर गरे । बाबुको कुरा छोराले सुने । अनि जाँच गर्दा थाहा भयो, छोराको रगतमा मधुमेह हुन सक्ने सम्भावना देखियो । कलेजोमा पनि २० प्रतिशत बोसो जमेको रहेछ । ‘यो अवस्था रहिरह्यो भने पछि धेरै समस्या पर्न सक्ने कुरा अनेक उदाहरण दिएर डा. सरिनले बुझाएपछि छोराले एक वर्षमा १५ किलो तौल घटाएछन् । पत्रु खाना छोडेछन्, स्वस्थ जीवनशैली अपनाएर योगासन र व्यायाम गरेछन् । पछि ती नेतापुत्र डाक्टरकहाँ आउँदा त उनी चिन्नै नसकिने भएका रहेछन् । ‘मलाई उनलाई देखेर खुसी लाग्यो’ सरिनले लेखेका छन् । यस्ता धेरै सफलताका कथा दिएर उनले किताब लेखेको कुरा पढेपछि मलाई लाग्छ – अरूलाई पनि आफ्नो स्वास्थ्य राम्रो पार्न ऊर्जा मिल्छ ।
यो किताब स्वास्थ्यमा चासो राख्ने सबै व्यक्तिका लागि अति नै महत्वपूर्ण छ । उनले लेखेका छन्– ‘कलेजो एउटा यस्तो अङ्ग हो, जसले जीवनको अन्तिम समयसम्म पनि काम गरिरहन्छ । अफसोच, केही व्यक्तिले यस्तो काम गर्ने अङ्गलाई रक्सी र बढी पत्रु खाना खाने बानीले खतम गर्छन् ।
Leave a Reply