फर्कनेको होइन, बिदेसिनेको लर्को
- भाद्र १०, २०८३
गाजाको हृदयविदारक कथा, जहाँ माटो बारूदको गन्धले रगतसँग मिसिएको छ र आकाश धुवाँले ढाकिएको छ । कुनै पनि संवेदनशील मनको लागि यो एउटा गहिरो घाउ हो । २४ अर्ब डलरको खर्च र १२–१५ वर्षको समय भग्नावशेष हटाउनमात्र लाग्ने अनुमान, करिब २ लाख टन विस्फोटकको प्रयोग, हजारौँको हताहती र ९० प्रतिशत घरहरू बस्न अयोग्य हुनु – यी तथ्याङ्कले युद्ध र द्वन्द्वले मानव सभ्यता र भौतिक संरचनामाथि पु¥याउने अपूरणीय क्षतिको भयावह चित्र प्रस्तुत गर्छन् । यो भूगोलको नक्सामा सीमित विनाश मात्र होइन, बरु परिवार, समुदाय, शिक्षा, स्वास्थ्य, अर्थतन्त्र र सामाजिक संरचनामाथि लागेको गहिरो चोट हो, जसको दाग मेट्न शताब्दी लाग्न सक्छ ।
गाजाको अवस्थाले स्पष्ट सन्देश दिएको छ ः वसुधैव कुटुम्बकम्को कालजयी शाश्वत वाणी र विश्वव्यापाकीकरणको आजको समयमा हुने कुनै पनि नाममा भएको युद्ध, विवाद र विद्रोहको बाटो केवल विनाश, पीडा र पछौटेपनको हो । यसले कुनै पनि पक्षलाई दिगो विजय वा समृद्धि प्रदान गर्दैन । यो कटु सत्यलाई हामीले नेपालको सन्दर्भमा पनि गहिरो रूपमा मनन गर्नुपर्ने भएको छ ।
नेपालले इतिहासका विभिन्न कालखण्डमा थुप्रै आन्दोलन, विद्रोह र राजनीतिक उथलपुथल बेहोरेको छ । प्रजातन्त्रको स्थापनादेखि गणतन्त्रसम्मको यात्रामा ठुलो त्याग, सङ्घर्ष र धनजनको क्षति भएको छ– चाहे त्यो १० वर्षे सशस्त्र विद्रोह होस् वा विभिन्न चरणका जनआन्दोलनहरू । भौतिक सम्पत्तिको क्षतिले सामाजिक सद्भावमा आँच पु¥याएको छ । यसले पूर्वाधारको अभाव, युवा पलायन र आर्थिक सुस्तता बढाएको छ । पछिल्लो पटक जेन–जी आन्दोलनको क्रममा भएको धनजनको क्षतिले फेरि पनि हाम्रो देशलाई दीर्घकालीन पीडा र आर्थिक विकासमा पछाडि धकेलेको छ ।
विस्फोटकले भत्किएका गाजाको भवनजस्तै, हामीले पनि पटक–पटकको राजनीतिक टकराव र द्वन्द्वका कारण विकासको गतिलाई भत्काएका छौँ । नेपालको सन्दर्भमा गाजामा थुप्रिएझैँ ६ करोड टन भग्नावशेष त नहोला, तर दशकौँदेखि थुप्रिएको अविकास, बेथिति र राजनीतिक विसङ्गतिको बोझ त्योभन्दा कम छैन । गाजामा जस्तै, यहाँ पनि शिक्षा, स्वास्थ्य र सामाजिक संरचनामा क्षति पुगेको छ – फरक यति हो कि हाम्रो क्षति भौतिक विनाशभन्दा बढी अवसरको क्षति र मानव पुँजीको पलायनको रूपमा भएको छ ।
अब प्रश्न उठ्छ ः के हामी गाजाको कथाव्यथाबाट पाठ सिक्ने कि पुरानै विनाशकारी चक्रमा फस्ने ?
स्पष्ट छ, हामीले अब युद्ध र द्वन्द्वको मानसिकतालाई पूर्णरूपमा परित्याग गर्नुपर्छ । दशकौँको राजनीतिक क्रान्तिले राजनीतिक अधिकार त दिलायो, तर अबको क्रान्ति आर्थिक विकास, सुशासन र सामाजिक न्यायको हुनुपर्छ । विगतका सबै आन्दोलन, विद्रोह र धनजनको क्षतिबाट गहिरो पाठ सिक्दै, नेपालले अब चौतर्फी विकासका लागि ‘एकीकृत’ भएर काम गर्नैपर्छ ।
Leave a Reply