भक्तपुर, ३१ असोज । भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को लागि शैक्षिक ऋण दिन ९८ जना विद्यार्थी छनोट भएका छन् । सोही क्रममा भक्तपुर नगरपालिकाले शैक्षिक ऋणका लागि छनोटमा परेका विद्यार्थीसँग शुक्रबार शैक्षिक ऋणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ग¥यो ।
भक्तपुर नगरपालिकाभित्र स्थायी बसोबास गर्ने जेहेनदार तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक योग्यता (एकेडेमिक सर्टिफिकेट) धितो राखेर सहुलियत ब्याजदरमा ऋण दिई स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई भक्तपुर नगरपालिकाबाट शैक्षिक ऋण प्रदान गर्ने सम्बन्धमा आवेदन पर्न आएकामध्ये अन्तर्वार्ताबाट यो आर्थिक वर्षमा ९८ जना विद्यार्थीहरू छनोट भएको कार्यक्रममा जानकारी दिइयो ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले कुनै पनि नगरवासी विद्यार्थीहरू आर्थिक कारणबाट उच्च शिक्षाबाट वञ्चित हुन नपरून् भन्ने उद्देश्यले भक्तपुर नपाले शैक्षिक ऋणको व्यवस्था गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपाले विद्यार्थीलाई शैक्षिक ऋण प्रदान गरी विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने अधिकार सुनिश्चित गर्ने काम गर्दै आएको उल्लेख गर्दै नपाले १४ करोड बराबरको शैक्षिक ऋण प्रदान गरिसकेको बताउनुभयो ।
शिक्षा राज्यको दायित्वभित्र पर्ने बताउँदै उहाँले शैक्षिक ऋणबाट अध्ययन गर्ने विद्यार्थीहरूले समाज, परिवार र देशप्रति सम्मानभाव र उत्तरदायी भएर अगाडि बढ्न प्रेरित गर्नुभयो ।
भक्तपुर नपाले शैक्षिक ऋणसँगै नेपालभाषा, संस्कृति, अर्थशास्त्रलगायतका विषयमा पनि छात्रवृत्ति दिएर अध्ययनको अवसर प्रदान गर्दै आएको स्पष्ट पार्दै उहाँले नगरपालिकाले शिक्षामा गरेको लगानीले देशकै लागि फाइदा पुगेको बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले शैक्षिक ऋणलाई विद्यार्थीहरूले उच्च शिक्षा अध्ययन गर्ने अवसरको रूपमा लिई आफ्नो व्यक्तित्व विकास गर्न मार्गनिर्देश गर्दै आफूले अध्ययन गरेको विषयमा विशेषज्ञता हासिल गर्नेतर्फ विद्यार्थीले जोड दिनुपर्ने बताउनुभयो ।
विद्यार्थीहरू राजनैतिक रूपमा पनि सचेत हुनुपर्ने बताउँदै उहाँले शैक्षिक ऋणको सही सदुपयोग गर्न प्रेरित गर्नुभयो ।
भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले भक्तपुर नगरपालिका शैक्षिक ऋण प्रदान गर्ने पहिलो नगरपालिका भएको बताउँदै अन्य नपाले पनि भक्तपुर नपाले जस्तै शैक्षिक ऋणको व्यवस्था गरिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका २०७५ सम्बन्धी व्यवस्था, शैक्षिक ऋण माग गर्न आवश्यक प्रक्रिया, ऋणको सीमा र सर्त, ऋणको सावाँ ब्याज असुली आदिबारे प्रस्ट पार्नुभयो ।
भक्तपुर नगरपालिकाले आ.व. २०७५/७६ देखि नै आर्थिक अभावका कारण पढाइबाट वञ्चित गरिब तथा जेहेनदार विद्यार्थीलाई वार्षिक रूपमा शैक्षिक ऋण वितरण गर्दै आएको थियो । शैक्षिक ऋणको लागि छनोट हुनेमा भनपा वडा नं. १ का ८ जना, भनपा २ का ८ जना, भनपा ३ का ६ जना, भनपा ४ का १७ जना, भनपा ५ का ९ जना, भनपा ६ का १३ जना, भनपा ७ का १५ जना, भनपा ८ का ५ जना, भनपा ९ का १० जना र भनपा १० का ७ जना रहेका छन् ।
Leave a Reply