भर्खरै :

विदेशी सङ्घ संस्थाहरूको चलखेलले देश गम्भीर अवस्थामा

विदेशी सङ्घ संस्थाहरूको चलखेलले देश गम्भीर अवस्थामा

भक्तपुर, १ कार्तिक । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिको आयोजनामा नेपाल संवत् ११४६ नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवांले बहुमत कामदार जनता वर्तमान देशको अवस्थाबारे जानकार हुनुपर्ने उल्लेख गर्दै भदौ २३÷२४ गतेको युवा पुस्ताको आन्दोलनमा घुसपैठ भई देशको ठुलो धनजन तथा सम्पदा विनास हुनुमा शासक नेताहरू जिम्मेवार छन् भन्नुभयो ।
भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादले नेपालमा अस्थिरता कायम गरी आफ्नो इच्छा पूरा गर्न गराउन लागिपरेको चर्चा गर्दै उहाँले विदेशी सङ्घ संस्थाहरूको चलखेलले देश आजको गम्भीर अवस्थामा पुगेको हो भन्नुभयो । उहाँले युवाहरूको भावना देशको सम्पत्ति विनास, आगलागी, लुटपाट थिएन भन्नुभयो । नेपाल मजदुर किसान पार्टी ६ दशदेखि नै भ्रष्टाचारको विरुद्ध सुशासन कायम गर्न गराउन सङ्घर्षरत थियो, उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “वास्तवमा भ्रष्टाचारको अन्त्य र सुशासन पुँजीवादी राज्य व्यवस्थामा हुनेछैन । यो समाजवादमा मात्र सम्भव छ ।”
“देशका युवाहरूलाई विदेशमा पठाएर देशलाई झन्झन् परनिर्भरतामा लैजाने, देशको उत्पादनका स्रोतसाधनहरू, कलकारखाना–उद्योगहरू विदेशीलाई सुम्पे देश र जनताको अवस्था राम्रो हुने छैन”, उहाँले भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका सदस्य कृष्णगोविन्द लाखाले शासकहरूको अपरिपक्वताले देश दुर्गतिमा परेको हो† कुनै पनि देशलाई आफ्नो कब्जामा राख्न विस्तारवादी र साम्राज्यवादीहरू सांस्कृतिक आक्रमण गर्छन् भन्नुभयो । विदेशीको रहनसहन, खानपिन, बाजागाजा, नाचगान पहिरणले जनतालाई प्रभाव पार्ने उल्लेख गर्दै उहाँले नयाँ पुस्ता सचेत हुनैपर्छ† पुँजीवादी राज्य व्यवस्थाको विकल्प समाजवादी राज्य व्यवस्था स्थापनाको लागि निरन्तर लागिरहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष गङ्गाराम ज्याख्वको सभापतित्वमा भएको कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिका सदस्य आर. प्रजापति र पूर्णगोपाल राजचलले नेपाल संवत् ११४६ नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *