चे, फिडेलको संस्मरणमा – १४
- कार्तिक ६, २०८२
भक्तपुर, १ कार्तिक । भक्तपुर स्थानीय पथ प्रदर्शक परिचालन समितिको आयोजनामा भक्तपुरमा कार्यरत स्थानीय पथ प्रदर्शकहरूको शुभकामना कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेपाल पर्यटन उद्योगको राम्रो सम्भावना रहेको भए तापनि विभिन्न समयमा भएका राजनीतिक घटना, कोभिड–१९, प्राकृतिक प्रकोप र अन्तर्राष्ट्रिय घटनाले गर्दा पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परेको बताउनुभयो ।
भदौ २३ र २४ को घटनाले पर्यटन उद्योगमा थप प्रभाव परे पनि यसबाट निराश नभई वर्तमान परिस्थितिलाई बुझेर भविष्यमा आउन सक्ने सङ्कटलाई ध्यान दिई पर्यटन क्षेत्रलाई थप विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
भदौ २३ र २४ को आन्दोलनमा हिंसा भड्काई संसद् भवन, सिंहदरबार, सर्वाेच्च अदालतलगायत अन्य सरकारी कार्यालयहरूमा आगजनी हुनु दुःखद घटना भएको उल्लेख गर्दै सांसद गोसाईले ठुला भनाउँदा पुँजीवादी पार्टीको शक्ति दुरूपयोग, घमण्ड, भ्रष्टाचार र जनतामाथिको अत्याचारकै कारण उक्त विद्रोह भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सत्तामा गएका पार्टीहरूले जनभावनाअनुसार काम नगरेको, अरूको विचार बेवास्ता गरेको, जनताको सेवाभन्दा पनि बढी भ्रष्टाचारमा लिप्त रहेको र एमसीसी जस्ता विदेशी सहयोगको नाममा साम्राज्यवादी शक्तिको इसारामा चलेकोले अहिलेको स्थिति सृजना भएको हो । यी पार्टीहरूकै कारण देश २७ खर्बभन्दा बढी ऋणमा फसेको छ । युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य छन् । तथाकथित माओवादी द्वन्दको कारणले देशको अर्थतन्त्र २५ वर्ष भन्दा बढी पछाडि धकेलियो । विदेशी दलाल पार्टीका यस्ता कुकर्मको नेपाल मजदुर किसान पार्टीले विरोध गर्दै आएको छ ।”
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न चुनावी घोषणापत्रअनुसार भक्तपुर नगरपालिकाले यहाँको मूर्त तथा अमूर्त सम्पदाहरूको संरक्षण, जीर्णाेद्धार र पुनः निर्माण गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाको ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ नारालाई सार्थकताका लागि यहाँका मौलिक तथा स्थानीय प्रविधि, सीप र स्थानीय निर्माण सामग्रीको प्रयोग गरिरहेको उल्लेख गर्दै उहाँले भक्तपुरवासी र नगरपालिकाको सुमधुर सम्बन्धले सम्पदा संरक्षणमा सहयोग पुगेको बताउनुभयो ।
पथ प्रदर्शकहरू समाजको ऐना भएको धारणा राख्दै उपप्रमुख जोशीले भक्तपुरको कला, संस्कृति र सम्पदाहरूका बारेमा वास्तविक तथा आधिकारिक जानकारीहरू प्रदान गर्नका लागि पथप्रदर्शकहरूले नियमित अध्ययन गर्नु जरुरी रहेको बताउनुभयो ।
उहाँले हालैको जनगणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतका शाननान सहर भ्रमणबाट पर्यटन के हो भन्ने विषयमा धेरै ज्ञान हासिल गर्न सहयोग पुगेको र त्यहाँको सरकारले स्थानीय उत्पादन र कृषिलाई पर्यटन उद्योगसँग जोडेर लाभ प्राप्त गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर स्थानीय पथ प्रदर्शक परिचालन समितिका संयोजक गौतमप्रसाद लासिवाले स्थानीय पथ प्रदर्शकहरू अहिलेको परिस्थितिमा थप सचेत हुनुपर्ने, लोभलालचमा फस्न नहुने, एनजीओ र आईएनजीओबाट टाढा हुनुपर्ने, आत्मनिर्भरतामा ध्यान दिनुपर्ने, देशको सामाजिक, राजनीतिक र सांस्कृतिक विषयमा जानकार हुनुपर्ने, चाड पर्वमा उच्छृङ्खल गतिविधबाट टाढा रही मादक पदार्थ, जुवा तासजस्ता कुलतमा फस्न नहुने र अनुशासित हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले बाह्य पर्यटन बाह्य परिस्थितिबाट प्रभावित हुने हुनाले पर्यटन उद्योगमा आत्मनिर्भर रहन आन्तरिक पर्यटन विकासमा पनि जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुर पर्यटन विकास समितिका निवर्तमान अध्यक्ष रामसुन्दर भेले, नेपाल घरेलु तथा सना उद्योग सङ्घका केन्द्रीय सदस्य वीरेन्द्र जति, भक्तपुर पर्यटक प्रहरी प्रमुख अजित ठाकुर, परिचालन समितिका सदस्य मुरज दिदिया, पथ प्रदर्शकद्वय राकेश बाग र रामकेशरी भैलले शुभकामना मन्तव्य दिनुभएको थियोे ।
Leave a Reply