भर्खरै :

को बढी घातक ?

  • कार्तिक ३, २०८२
  • चिन्मय
  • विचार
को बढी घातक ?

दुई थोपा आशा
भदौको जेनजी आन्दोलनमा धेरै उपद्रो भयो, हुलदङ्गा भयो । लहडै सही केही आशालाग्दा विचार पनि देखापरे । यस्तै एक विचार बोकेका युवा हुन् पुरुषोत्तम यादव । कतिपय विचार सतही भइकन पनि उनका केही विचारलाई बेवास्ता गर्न मिल्दैन ।
आन्दोलनको अनुमति लिन काठमाडौँ जिल्ला प्रशासन कार्यालय धाउनेमध्ये एक हुन् यादव । आन्दोलनका क्रममा मानिसहरू हताहत भएपछि परिवारले उनी सयौँ वर्षका लागि जेल जाने भए भनेर चिन्तित भएछन् । यसपछि सम्पर्कमा नआएका यादव उपद्रोकारीहरू शान्त भएपछि मात्र बाहिर आए । उनले उल्लेख गरेको एउटा घटना वर्तमान सन्दर्भमा बाटो देखाउने खालको छ ।
पुरुषोत्तम यादव हलेसी महादेवको मन्दिर घुम्न गएछन् । पहाडमा उनले जति गरिबी देखे, त्यो गरिबी उनले तराईमा कहिल्यै देखेका थिएनन् । तसर्थ, उनी नेपालीहरूलाई अपिल गर्छन् – तराई र पहाड नभनौँ नेपाल र नेपाली भनौँ । विदेशमा जाने नेपालीले आफूलाई तराई, पहाड र हिमालमा बाँड्दैनन् । उनको यो बुझाइ नै नयाँ पुस्ताको बुझाइ बन्छ भने देशले विकासपथमा उभिएको एउटा अजङ्गको पहाड छिचोल्ने निश्चित छ ।
कहिलेकाही घटनालाई बुझ्न अलि पृथक बसेर हेर्न सक्नुपर्छ । भारतमा पत्रकारिता अध्ययन गरेका यादवले हिन्दु–मुसलमान राजनीति बुझेका होलान् । त्यहाँ उनले आफूलाई नेपाली भनेर चिनाएको बुझ्न सकिन्छ । गरिब देशको लथालिङ र भताभुङ्ग चालाले देशभित्र भन्दा पनि बाहिर बसेका मान्छेको मन बढी चस्किनु स्वभाविक हो । किनभने, विदेशमा तपार्इँलाई बरोबर देशको गरिबी र तुच्छ हैसियतको याद दिलाइन्छ । पुरुषोत्तम यादव जस्ता युवा नेपालबाहिर धेरै छन् ।

दुई नवनारी
सन्दर्भ हो – सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारमा नयाँ मन्त्री थप्ने चर्चा । तराई र हिमाली भेगका दुई नारीलाई नारी नेतृत्वको नयाँ सरकारमा मन्त्री बनाउने कुरो चल्यो । लगत्तै उनीहरूका कलुषित संलग्नताबारे पनि प्रमाण र दस्तावेजहरू बाहिरिए । एउटी विदेशी सफ्टपावरकी हिस्सा रहेछिन् । अर्कीले भ्रष्टाचारको मुद्दा खेपिरहेकी रहेछिन् ।
शक्तिको भाषा मात्र बोलिने भूराजनीतिको खरो अखडामा सफ्टपावर कतिबेला हार्ड पावर बन्छ थाहा हुन्न । युक्रेनी जनताले थाहै नपाई देशभित्र विदेशी मानो पचाइबसेको अमेरिकी सफ्टपावर हार्ड पावरमा फेरियो । रुसविरुद्ध परदेशी अमेरिकाको लडाइँ लड्नुपर्दा युक्रेनी समाज अहिले क्षतविक्षत अवस्था पुगेको छ । त्यस्तै, सानो भ्रष्टाचारी कहिले ठुलो भ्रष्टाचारी बन्छ थाहा हुन्न । ससाना भ्रष्टाचारमा अभ्यस्त भएपछि नै नेपालका हात्ती पार्टीहरूले बालुवाटार, वाइडबडी, ओम्नी, तिब्बती शरणार्थी काण्डजस्ता ठुला घोटालामा हात हालेका थिए ।
तसर्थ, दुई नवनारीलाई सत्तामा नचढाउनु जेनजी आन्दोलनकै भ्रष्टाचारविरोधी मर्मअनुरूप छ । भ्रष्टाचारको आयाम ठुलो छ । टेबलमुनिबाट लिइने पैसा मात्र भ्रष्टाचार होइन । नीति, नियम, आचार, विचार र व्यवहारमा हुने सबैखाले देश र जनविरोधी कार्य भ्रष्टाचार हुन् । भ्रष्टाचार गर्ने व्यक्ति निश्चित भाषा, क्षेत्र, धर्म वा पहिचानको हुन सक्छ । त्यसो भन्दैमा एक पहिचान विशेषलाई काखी च्याप्ने अर्को पहिचान विशेषलाई छुट दिने कुरा हुन्न । भ्रष्टाचारीको पहिचान हेर्नु अर्को भ्रष्टाचार हो । आफ्नो जाति, धर्म, भाषा, क्षेत्रको भ्रष्टाचारीलाई काखमा राख्ने अर्कोलाई पाखा पार्ने भन्नु तर्कै होइन बरु कूतर्क हो । भ्रष्टाचारीले महिला भनेर हेप्यो वा फलानो उत्पीडित जात, धर्म वा क्षेत्रको भनेर हेप्यो भन्नु जग–हँसाइ मात्र हो ।
बौद्धिक बेइमानी
नेपालका बुद्धिजीवीहरू धेरै त मौकापरस्त छन् । समाधानभन्दा समस्यालाई गञ्जागोल बनाउन बुद्धि खर्चिन्छन् । जनतालाई आशापूर्ण बाटो देखाउनुभन्दा निराशाको गल्छीमा खसाल्नु र आफूलाई त्यो गल्छीबाट निकाल्ने मसिहाको रूपमा प्रस्तुत गर्नु यिनको घिनलाग्दो धन्दा हो । कतिपय बुद्धिजीवीहरू सबथोक बुझ्छन् तर सरकारी मानो पचाएर तैँचुप–मैचुप बस्छन् । यही मलिलो पृष्ठभूमिमा दातृसंस्थाबाट मोटो रकम बुझ्ने बुद्धिजीवीहरू सल्बलाउँछन् अनि जनता अल्मल्याउने र भाँड्ने ‘नुस्खा’ बाँड्छन् ।
यही लाइनमा ‘कान्तिपुर’ दैनिकको दृष्टिकोण पृष्ठमा शुक्रबार (असोज ३१) एउटा लेख छापियो । संगीता कौशल मिश्रा र टासी ल्हान्जोमको पक्ष–पैरवीमा लेखक जेबी विश्वकर्माले मानौँ आफ्नो सारा पहिचानवादी ज्ञान खर्चेका छन् । यी नारीद्वयको ‘कीर्तिमान’ बारे माथि चर्चा गइसकेको छ । समस्या यहाँ लेखक विश्वकर्माको हो । भ्रष्टाचारीको पहिचान पर्गेल्नु बौद्धिक बेइमानी हो । हिमाल र तराईलाई पहाडले च्याप्यो भन्नु पहाडलाई नबुझ्नु हो । अहिले भारतको सिम्लामा स्याउ बोक्ने माचो छ । त्यहाँ गएर हेर्नू, सबै भरिया कर्णालीका खस छन् । पहाडिया अहङ्कारलाई दोष दिने हो भने त्यो दोष ‘देशः जाने’ कर्णालीका भरियालाई पनि जान्छ । ती भरिया लगभग सबै जातका छन् ।
शासकको तहमा राष्ट्रवादले खिया लगाएको हिजो पनि थिएन । राजाकै पालामा पनि हिमाल–पहाड–तराईका शोषकहरू ‘एकसूत्र’ मा बाँधिएका थिए । गणतन्त्रका बीस वर्षमा पनि यो परम्परा कायमै रह्यो । विभेद र पक्षपातको वास्तविक भार र मार तल्लो वर्गले खेप्नुपरेको थियो र छ । तिनीहरूसँग हिमाली भइकन अमेरिकी विश्वविद्यालयमा पढ्ने मौका पाएकी ल्हान्जोमको तुलना हुन सक्दैन । (तराईकी) विदेशी बुहारी भइकन मन्त्रालयमा जागिरे हुन पाएकी मिश्रालाई कसरी ‘सीमान्तकृत’ भन्ने ?
विश्वकर्मा मार्के बुद्धिजीवीहरू देश जलिरहेको बेला जनतालाई पहिचानले बाँड्न र भाँड्न खोज्दै छन् । जेनजी आन्दोलनमा भएको विदेशी घुसपैठभन्दा घातक छ यो काम । सरकारी भवन जले पुनः निर्माण गर्न सकिन्छ । तर, पहिचानको नाममा जनताको मन जले त्यसमा मलम लगाउन एक युग लाग्न सक्छ । जेनजी नेता पुरुषोत्तम यादवजस्ता जनता–जोडुवाले लिएको विचारभन्दा एकदम विपरीत छ यी बुद्धिजीवीको जनता–भँडुवा नकाम ।

नभनिएको घातक भनाइ
नवनारीद्वयको ‘करनी’ बारे थाहा पाएर पनि तिनको पक्षमा बुद्धि खियाउनु, कलम घोट्नु र घाँटी सुकाउनुका पछाडि एउटा सुषुप्त स्वर छ । त्यो झन् बढी घातक छ । त्यो के भने – ‘हिन्दु पहाडिया अहङ्कारी नश्लीय प्रभुत्वशाली राष्ट्रवाद’ का मतियारहरूले विदेशीसँग साँठगाँठ गर्दा र भ्रष्टाचार गर्दा स्वीकार हुने रे तर ‘उत्पीडित सीमान्तकृत आदिवासी–दलित–मधेसी समुदाय’ ले साँठगाँठ गर्दा र भ्रष्टाचार गर्दा चाहिँ नागरिकता खोज्ने, शङका–उपशङ्का गर्ने ?

कति नाङ्गो दलाली ? !
नेपालका शासकहरू जिन्दगीमा एकचोटि गङ्गामा जानुपर्छ भन्ने लोभमा पाइला–पाइलामा देशलाई अविकासको फोहोर गङ्गामा बगाइरहन्छन् । हिमालपारिको हकमा पनि यिनको मिठो बोलीका भरमा सम्बन्ध धान्छन् । अब तेस्रो छिमेकीको नाममा ‘उत्पीडित र सीमान्तकृत’ हरू अर्को चाकडी, चाप्लुसी र तानाबानामा लाग्छन् भने के त्यो ‘देशभक्ति’ स्वीकार्य होला ? हुन्छ भने के त्यो नै जेनजी आन्दोलनको मर्म हो ? हो भने त्यो जेनजी आन्दोलन नेपालको भयो कि विदेशको ? वास्तविक देशभक्त युवाविद्यार्थीले बेलैमा सोच्नु र होस पु¥याउनुपर्ने प्रश्न हुन् यी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *