भर्खरै :

जथाभावी नागरिकता वितरण गर्न नहुने

जथाभावी नागरिकता वितरण गर्न नहुने

भक्तपुर, १० कार्तिक । भक्तपुर नगरपालिका वडा नं. ७ कार्यालयद्वारा यस वर्ष नागरिकताका लागि सिफारिस लिइएका युवाहरूको भेला सोमबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नागरिकता व्यक्ति र राज्यबिच जोडिने दस्ताबेज भएको हुँदा जथाभावी नागरिकता वितरण गर्न नहुने बताउनुभयो ।
उहाँले विदेशीले नागरिकता पाएमा नागरिकको हक खोसिने विचार व्यक्त गर्दै १६ वर्षमा नागरिकता पाउने तर १८ वर्षमा मात्र मताधिकार पाउने कानुनी व्यवस्थाले हजारौँ युवाहरू मताधिकारबाट वञ्चित हुने बताउनुभयो ।
युवाहरूलाई निरन्तर मेहनत र परिश्रम गर्नुपर्नेमा जोड दिँदै उहाँले सजिलो होइन गा¥हो काम गर्न अग्रसर हुनुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “युवाहरूमा सजिलो जति आफूले गर्ने र गा¥हो अरुलाई छोड्ने बानी छ । त्यसलाई उल्टाउनुपर्छ । हरेक युवाले कडा मेहनत गर्नुपर्छ । अहिले सजिलो खोज्नेले भविष्यमा दुःख पाउँछन् ।”
उहाँले विदेशमा बस्ने युवाहरूलाई मताधिकार दिने कुरा सुन्दा राम्रो लागे पनि नेपालको आर्थिक तथा प्राविधिक क्षमताले त्यो तत्काल गर्न सम्भव देखिँदैन भन्नुभयो ।
जेन–जीले भदौ २३ र २४ गते गरेको आन्दोलनको विषयमा चर्चा गर्दै उहाँले भन्नुभयो, “जस्तोसुकै खोक्रो रुख ढाल्न पनि एउटा धक्काको आवश्यक पर्छ । नेपालका शासक दलहरू नेका, एमाले र माओवादी पनि भ्रष्टाचारमा डुबेर सिद्धान्त र नैतिकताबाट च्युत भइसकेका थिए । नयाँ पुस्ताको आन्दोलनको हुरीले दुई दिनमा नै उदाइदियो ।”
भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले नागरिकता प्राप्त गर्नुमात्र होइन, नागरिक भावना पनि हुनुपर्ने बताउँदै देशमा आजसम्मको राजनैतिक परिवर्तन ल्याउन धरै अग्रजहरूले आफ्नो रगत र पसिना बगाएको बताउनुभयो ।
उहाँले नयाँ पुस्ताका युवाहरू स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा जानकार हुनुपर्ने बताउँदै कतिपय युवाहरूमा स्थानीयबारे सामान्य विषयमा पनि जानकारी नहुनु विडम्बनापूर्ण रहेको र प्रत्येक युवा एउटा विषयको विज्ञ हुनुपर्छ भन्नुभयो ।
अधिवक्ता पुरुषोत्तम ग्वाछाले नागरिकताका प्रकारहरू र त्यसको महत्वको बारेमा उल्लेख गर्दै युवाहरू स्वेच्छाचारी भएर हिँडेका अवस्थामा दुर्घटना हुनसक्छ भन्नुभयो । उहाँले युवाहरूले विभिन्न विषयमा प्रशिक्षण लिनु आवश्यक रहेको चर्चा गर्नुभयो ।
भनपा वडा नं. ७ का वडा सदस्य हरिरत्न गोर्खालीले आफ्नो युवा अवस्थामा भोग्नुपरेका कठिनाइहरूबारे अनुभव सुनाउनुभयो । अर्का वडा सदस्य हीरा ख्याजुले पनि युवाहरूको भूमिकाबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *