भर्खरै :

शिक्षण पेसामा सेवाभाव हुनुपर्छ

शिक्षण पेसामा सेवाभाव हुनुपर्छ

भक्तपुर, ११ कार्तिक । शिक्षण पेसामा सेवा भाव हुनुपर्छ । के लिनेभन्दा के योगदान दिनसक्छु भन्ने महत्वपूर्ण छ । हरेक शिक्षकले कक्षामा प्रवेश गर्नुपूर्व आवश्यक तयारी गर्नुपर्छ । हरेक कक्षामा विभिन्न प्रकारका विद्यार्थीहरू हुने हुनाले सोहीअनुसारको गतिविधि गर्नुपर्छ । विद्यार्थीहरूका मनोभावनाअनुसारको शिक्षक शिक्षिकाहरूको क्रियाकलाप भएमा मात्र शैक्षणिक उद्देश्य पूरा हुन्छ । उक्त विचार इतिहासविद् तथा सैनिक महाविद्यालय तथा प्रहरी स्कूल साङ्गाका पूर्वप्रिन्सिपल एवं विद्यालयका पूर्वअभिभावक हेमन्त राणाले व्यक्त गर्नुभएको हो ।
विद्यालयको ३० औँ वार्षिकोत्सव मनाउने सिलसिलामा भनपा वडा नं १० देकोचास्थित जेन्युइन स्कूलले इन्फो बुलेटिनमा प्रकाशित लेख रचनाहरू समावेश गरी तयार गरिएको पाँच पुस्तिकाहरूको विमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि राणाले कक्षाकोठामा अब्बल विद्यार्थीहरूलाई मात्र नभई कमजोर विद्यार्थीहरूको लागि पनि विविध उपाय अवलम्बन गरी उनीहरूलाई उत्प्रेरणा जगाउन सकेमात्र समग्र शैक्षिक अवस्थामा सुधार ल्याउन सक्ने बताउनुभयो ।
कुनै पनि शिक्षण संस्था राम्रो हुनुमा शिक्षकहरूको भूमिका र लगनशिलता आवश्यक हुने भएको हुँदा उनीहरूको मनोबल उच्च राखी प्रोत्साहन र स्थायित्वको लागि पनि विशेष पहल गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
कवि एवम् पत्रकार अभय श्रेष्ठले जेन्युइन स्कूलले पाठ्यक्रममा मात्र सीमित नराखी चलचित्र तथा लेखनका माध्यमले समेत विद्यार्थीकेन्द्रित अभ्यासहरू सञ्चालन गर्दै आएको बताउनुभयो । लेखन कार्यलाई अझ थप गहिराइमा बुझ्न मस्तिष्क र हृदयको तालमेल भएमा यसको भाव अझ प्रभावकारी हुने उहाँले बताउनुभयो । शब्द चयन र त्यसको अभिव्यक्त गर्ने शैली एक अद्भूत कला भएको र लेखन प्रक्रियामा क्रमशः यसलाई निर्खादै लान लेखन कर्मलाई निरन्तरता दिँदै जान सकेमा मात्र त्यसको अनुभूति गर्नसक्ने उहाँले बताउनुभयो ।
साहित्यकार एवम् शिक्षक हरिहर तिमिल्सिनाले विद्यार्थीहरूलाई एक वर्ष कोर्सबुकमा अल्मल्याउनु भनेको अपराधसरह हो भन्नुभयो । विमोचित पाँच पुस्तिकाहरूले शिक्षक, विद्यार्थी तथा अभिभावकवर्गमा शैक्षणिक विकास गर्न, अनुशासन, आचरण, नैतिक व्यवहार निर्माण गर्न, आत्मविश्वास बढाउन, पठन र लेखन संस्कृतिलाई बढावा दिन र समाजलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन उपयोगी हुने बताउनुभयो । उहाँले शिक्षकहरूमा गरिएको लगानी शिक्षालाई सशक्त बनाउने एउटा पाटो रहेको विचार व्यक्त गर्नुभयो ।
अभिभावक एवम् समीक्षक देवराज हुमागाईले प्रकाशित पुस्तिकाहरू विषयगत रूपमा खण्ड खण्ड गरी प्रकाशन गर्न पाए अझ राम्रो हुने र कतिपय लेखरचनालाई परिष्कृत गर्दै पुनः लेखन गरी आएमा झन् निखारपन आउने विचार व्यक्त गर्नुभयो । उहाँले लेख रचनासहितको सङ्ग्रहलाई सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्नसक्ने विचार व्यक्त गर्नुभयो ।
अध्येता तथा अर्का समीक्षक सुरेश परियारले प्रकाशित पुस्तिकाहरूले विद्यार्थी, शिक्षक तथा अभिभावकहरूलाई प्रेरणा र मार्गदर्शन प्राप्त हुने बताउनुभयो । स्कूलहरूबाट गरिने विभिन्न गतिविधिहरूमा बालबालिकाहरूलाई समस्या र अपठ्यारा परिस्थितिसँग जुध्न सक्ने बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले विज्ञानपरक ज्ञानदिन शिक्षकहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । स्कूलले सञ्चालन गर्दै गरेको कोर्सबुकबाहेक अन्य बाह्य पुस्तक पठनको केही विशेष ढाँचाका बारेमा पनि उहाँले स्पष्ट पार्नुभयो ।
विद्यालयका संस्थापक सदस्य एवम् पूर्वप्रधानाध्यापक योगेन्द्रमान बिजुक्छेँले विमोचन कार्यक्रमको सभापतित्व गर्दै जेस इनफो बुलेटिन प्रकाशनको ऐतिहासिक पृष्ठभूमिका बारेमा प्रकाश पार्नुभयो । विगतमा साधन स्रोतको कमी हँुदाहुँदै पनि विद्यार्थीहरूलाई पाठ्यपुस्तकभन्दा बाहिरी ज्ञानसँग परिचित गराउन र शिक्षक, विद्यार्थीहरूमा पठन र लेखन संस्कृतिको विकास गराउन नियमित बुलेटिन प्रकाशनको कार्य थालनी गरेको बताउँदै उहाँले यी पुस्तिकाहरू विद्यालयको संस्थागत स्मरण (Institutional Memory) का रूपमा रहने प्रस्ट्याउनुभयो ।
विद्यालयका संस्थापक सदस्य विश्वबहादुर दुवालले पुस्तिका प्रकाशनको क्रममा सम्पादन र अन्य कार्यमा सहयोग गर्नुहुने विभिन्न अतिथि तथा विद्यालयका शिक्षक शिक्षिकाहरूमा धन्यवाद ज्ञापन गर्र्दै विद्यालयले प्राप्त सुझावहरूलाई मनन गरी आगामी अङ्कहरूलाई अझ व्यवस्थित गर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक राजन धौभडेलले वि.सं २०५२ माघ महिनाबाट प्रकाशित बुलेटिनहरू समाचारहरूको दस्ताबेज मात्र नभई शैक्षिक क्रियाकलापहरूको साक्षी तथा विगतका उपलब्धिहरूको दर्पण पनि भएको बताउनुभयो ।
विद्यालयका शिक्षक प्रकाश लुइँटेल र शिक्षिका सीता खनालले प्रकाशित पुस्तिका सम्पादन गर्दाका आफ्ना धारणा र अनुभव सुनाउनुभयो । विद्यालयका सहप्रधानाध्यापक सौगात गेलालले पुस्तिकाहरूका सम्पादन गर्दाका आफ्नो अनुभव राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *