भर्खरै :

स्वसिकाइमा आन्तरिक ऊर्जा

स्वसिकाइमा आन्तरिक ऊर्जा

मानव जीवनमा उत्पन्न हुने ऊर्जाको प्रवाह बाह्य प्रेरणा, नियम वा दबाबभन्दा बढी आन्तरिक अभिरुचि र गहिरो चाहनामा निर्भर हुन्छ । जब कुनै कामले व्यक्तिको हृदय स्पर्श गर्छ, उसमा अनन्त शक्ति जागृत हुन्छ, कठिनाइहरू गौण ठानिन्छन् । त्यो बेलामा ऊ समयकै अस्तित्व बिर्सिन्छ र आफ्नो लक्ष्यतर्फ एकोहोरो लागिरहन्छ । तर, जब कुनै काम मनले अस्वीकार गर्छ, त्यो सानै भए पनि पर्वतजत्तिकै भारी लाग्न थाल्छ । शरीर सक्रियजस्तो देखिए पनि मन निष्क्रिय हुन्छ ।
शिक्षकले कक्षाकोठामा ‘किताब/कापी निकाल’ भन्दा कतिपय विद्यार्थी वास्तै गर्दैनन् । ‘किन ननिकालेको’ भन्दा, ‘अब निकाल्न लागेको’, ‘अब लेख्न लागेको’ भन्छन् । तिनै विद्यार्थी ‘टिफिन टाइम’ हुनासाथ कक्षाबाट उफ्रिँदै बाहिर निस्की ब्याडमिन्टन वा भलिबल माग्न अफिसतिर जान्छन् । उनीहरूको व्यवहार त्यस्तो हुनुको कारण के हो त भन्दा उनीहरूलाई त्यो विषयमा पढ्ने/लेख्ने इच्छा छैन; खेलकुदमा छ । शिक्षकले अघिल्लो दिन गृहकार्य दिएको हुन्छ । गृहकार्य नगरी आउने विद्यार्थीहरू भोलिपल्ट अनेक बहाना सुनाउन थाल्छन् । अलि ठुलो स्वरले भनेपछि मात्र झोलाबाट बल्लतल्ल किताब निकाले पनि त्यस्ता विद्यार्थीको ध्यान अन्तै गएको हुन्छ । आँखा अक्षरमा भए पनि मन अन्यत्र भड्किएको हुन्छ । उसलाई कक्षाकोठा र शिक्षकको निर्देशन उकुसमुकुस र बोझ लाग्छ । तर, जब उसले आफ्नो रुचिको काम पाउँछ—गीत गाउने, खेल्ने, नाच्ने वा चित्र कोर्ने—ऊ घण्टौँ त्यसैमा निर्लिप्त हुन्छ । रिहर्सलका लागि राति नै भए पनि विद्यालय आउँछ । रातभर जाग्राम बस्छ । भोक, निद्रा, थकान, बिमार—सब बिर्सन्छ । मोबाइलमा गेम खेल्न पाए रातभरि पनि निद्रा लाग्दैन । किनकि, त्यो काम उसको अन्तरमनको चाहनासँग जोडिएको हुन्छ । त्यो बेला, मनमा उत्पन्न भएको ऊर्जाले शरीरको कमजोरीलाई पनि जित्दो रहेछ ।
यस्तै प्रवृत्ति हामी रचनात्मक मानिसहरूमा अझ प्रखर रूपमा देख्छौँ । एक जना मूर्तिकारलाई घरको पर्खाल मर्मत गर्न भन्यो भने, पहिला त उसले केही न केही भनेर टार्ला । आइहाले पनि ढिलो गरी आउन सक्छ । थोरै कामलाई पनि धेरै दिन लगाउँछ । तर जब ऊ आफ्नो मनपर्ने काम– धातुमा नयाँ आकृति कोर्न थाल्छ, ऊ बिहानको उज्यालोभन्दा पहिले नै कार्यशालामा पुगिसकेको हुन्छ । ऊ खाजा खान बिर्सन्छ । नजिकै राखिदिएको चिया सेलाउँछ । निधारमा पसिना बग्छ, हातमा चोट लाग्छ, तर ऊ हाँस्दै काम गरिरहन्छ । किनकि त्यो काम कसैको आज्ञामा होइन, उसकोे मनको आदेशमा चलेको हो । त्यसैले त्यो उसका लागि केवल पेसा होइन—भक्ति हो । त्यहाँ ‘कर्तव्य’ प्रेममा रूपान्तरण हुन्छ र प्रेम नै कर्मको ऊर्जा बन्न पुग्छ ।
मानिसको यही स्वभाव आश्चर्यमय छ–अल्छी कोही हुँदैननन्; अल्छी सबै हुन्छन् पनि । कुनै व्यक्ति कुनै काममा अल्छी छ भने, ऊ त्यो काममा केवल ‘अप्रेरित’ भएको मान्नु पर्छ । जब काम मन नपर्ने हुन्छ, तब सारा शरीर नै त्यसको प्रतिरोधमा खडा हुन्छ । अङ्गअङ्गबाट अल्छ्याइँ निस्किन्छ । अफिसमा तोकिएको समयमा पुग्ने कतिपय मानिस बिदाको दिन सानो काम गर्न पनि मन लगाउँदैन । परिवारले आग्रह गर्छ, पहिला ऊ सुन्दैन । पछि झर्किन्छ अनि भन्छ, “हुन्छ, अब एकछिनमा गर्छु ।” ऊ सोफामा पल्टिन्छ, हातमा मोबाइल लिन्छ र आफ्नै अनिच्छालाई बहानामा परिणत गर्छ । किनभने त्यो काममा उसले कुनै आन्तरिक पुरस्कार देख्दैन—न सन्तोष, न आनन्द ।
मानिसमा देखिने यस्तो प्रवृत्तिले एउटा गहिरो सन्देश दिन्छ—मानिस स्वभावतः निष्क्रिय होइन, ऊ केवल स्वप्रेरणाको कमीले ग्रस्त हुन्छ । ऊ तब मात्र सक्रिय हुन्छ जब उसले आफ्नो कर्ममा अर्थ र अपनत्व पाउँछ । रूचि र रमाइलो भेट्टाउँछ ।
मनोवैज्ञानिक अब्राहम म्यास्लोले भनेका छन्, “जब मानिसको काम उसको आत्मिक आवश्यकतासँग मेल खान्छ, उसमा असीम ऊर्जा उत्पन्न हुन्छ ।” यही कारण हो—कविता लेख्ने कवि, चित्र बनाउने कलाकार वा अनुसन्धान गर्ने वैज्ञानिक—घण्टौँसम्म थकानविहीन रहन्छन् । उनीहरू समयको गणना गर्न बिर्सन्छन् किनभने उनीहरू स्वयं गतिमान् अवस्थामा हुन्छन्, जहाँ मन, शरीर र कर्म एउटै लयमा बगिरहेको हुन्छ ।
इतिहासले पनि यो सत्य बारम्बार देखाएको छ । थोमस एडिसनले सातसत्न्दा बढी असफल प्रयासपछि पनि बल्ब बनाउन छोडेनन् । कसैले सोध्यो—“तपाईं सातसयचोटि असफल हुँदा पनि निराश किन हुनु भएन ?” उनले जवाफ दिए—“म असफल भएँ होइन, मैले सातसय तरिका सिकेँ, जसले काम गर्दैन ।” यो भनाइ बाह्य बाध्यताबाट होइन, आन्तरिक चाहनाबाट जन्मिएको थियो ।
लियोनार्दो दा भिन्ची, मदर टेरेसा, गान्धी, बुद्घ—सबैका कर्मको मूलमा एउटै स्रोत थियो—आत्म–प्रेरणा ।
बाह्य दबाबले त केवल औसत मानिस बनाउँछ† तर आन्तरिक ऊर्जा जाग्दा, साधारण मानिस असाधारण बन्न पुग्छ ।
आन्तरिक ऊर्जाको यही शक्ति विद्यालयदेखि कार्यालयसम्म, खेतदेखि प्रयोगशालासम्म, हरेक क्षेत्रमा निर्णायक हुन्छ । कुनै शिक्षकलाई आफ्नो पेसा केवल कर्तव्य लाग्छ भने ऊ हरेक दिन थाक्छ; तर जब शिक्षणलाई नै उसले आनन्द ठान्छ–ऊ प्रत्येक विद्यार्थीमा प्रेरणा खोज्दै सधैँ प्रफुल्ल रहन्छ । त्यसैगरी विद्यार्थीले पनि जब अध्ययनलाई ‘बाध्यता’ होइन ‘अवसर’ का रूपमा लिन्छन्, उनीहरू ज्ञानसँग प्रेम गर्न थाल्छन् । ज्ञान आर्जन र सिकाइका लागि मेहनती र समर्पित बन्न थाल्छन् । ज्ञानमा रमाउँदै जाँदा तिनको जिन्दगीको पलपल सुखमय बन्न थाल्छ ।
दार्शनिकहरूका अनुसार, जीवनमा सफलता र सन्तुष्टि प्राप्त गर्न सूत्र यही हो—
“या त आफ्ना रुचिअनुसारको मार्ग रोज,
वा गरिरहेको काममा रुचि जगाउने अर्थ खोज ।”
हो, जब काम र चाहना एउटै दिशामा बग्छन्, तब प्रयास सहज बन्छ र थकान हराउँछ । त्यस्तो अवस्थामा समय शत्रु हुँदैन, साथी बन्छ† बाध्यता बोझ हुँदैन, आनन्दमय बन्छ । काम र चाहनाको दिशा बदलियो भने जोकोहीको पनि दैनिकी निराश र कष्टमय बन्छ । त्यसैले प्रत्येकको समय र काम रूचिअनुसार चल्नुपर्छ, हुनुपर्छ ।
तर, यो सजिलो छैन । धेरै मानिसहरू बाह्य अपेक्षा र सामाजिक दबाबको जालमा बाँधिएका छन् । समाजले रोजिदिएको पेसा, परिवारले चाहेको मार्ग वा परिस्थितिले थोपरेको काममा उनीहरू बाँचिरहेका हुन्छन् । त्यसैले उनीहरूको शरीर चलिरहेको छ तर आत्मा मौन छ । उनीहरू हरेक साँझ थकान बोकेर सुत्छन् र बिहान उठ्दा नउठे पनि केही फरक नपर्ने अनुभव गर्छन् । यस थकानको उपचार केवल विश्राम होइन—अन्तःप्रेरणा हो । जब मानिसले आफ्नो काममा मिठो आनन्द र गहिरो अर्थ पाउँछ तब उसको जीवनमा सधैँ ताजगी रहन्छ ।
त्यसैले, आन्तरिक इच्छाशक्तिको भूमिका मानव जीवनमा सबैभन्दा निर्णायक हुन्छ । जब मनको बल कर्मको बलसँग मिल्छ, तब असम्भव पनि सम्भव देखिन्छ । मानिसले आफ्नो क्षमताको चरम सीमासम्म पुग्न सक्ने शक्ति यही मनमा लुकेको हुन्छ ।
मन नपरेको काममा सानो प्रयास पनि पहाड बन्छ; तर मन परेको काममा पहाड पनि बाटो बन्छ ।
जीवनको सार यही हो—ऊर्जा बाहिर होइन, भित्र खोज ।
जब हामी आफ्नै मनको आवाजसँग मेल खान सिक्छौँ, तब थकान शान्तिमा, दबाब प्रेरणामा र बाध्यता कर्तव्यमा रूपान्तरण हुन्छ । त्यो क्षणमा मानिस केवल बाँचिरहेको हुँदैन—ऊ सृष्टि गरिरहेको हुन्छ । यही सृष्टिको अनुभूति नै मानव जीवनको सर्वश्रेष्ठ अवस्था हो—जहाँ ऊ भित्रैदेखि बलेको दीपझैँ उज्यालो बन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *