भर्खरै :

परिमार्जित स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान’ बारे शिक्षकहरूलाई अभिमुखीकरण कार्यक्रम

परिमार्जित स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान’ बारे शिक्षकहरूलाई अभिमुखीकरण कार्यक्रम

भक्तपुर, १२ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विगतका वर्षहरूमा जस्तै परिमार्जित स्थानीय पाठ्यक्रमको पठनपाठनलाई विद्यालयले अझ व्यवस्थित रूपमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको परिमार्जित स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान’ बारे विषय कक्षा १, २ र ३ का शिक्षकहरूको अभिमुखीकरण कार्यक्रममा उहाँले समय समयमा पाठ्यक्रमलाई परिमार्जन गर्नुपर्ने मान्यताअनुसार विभिन्न सरोकारवालाहरूबाट प्राप्त सुझाव र छलफलपश्चात् भक्तपुर नगरपालिकाले कक्षा १ देखि ८ को स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान’ परिमार्जन गरेको बताउनुभयो ।
उहाँले विद्यार्थीलाई पढाइ सँगसँगै संस्कार सिकाउने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माण भएको बताउँदै स्थानीय पाठ्यक्रम लागु भएसँगै विद्यार्थीहरूमा आफ्नो कला संस्कृति, सम्पदा र परम्पराबारे चासो बढेको बताउनुभयो ।
भक्तपुर नगरपालिका मौलिक संस्कृति, परम्परागत ज्ञान, सीप र सभ्यतामा सम्पन्न नगर भएको उल्लेख गर्दै उहाँले सरकारले समय समयमा पाठ्यक्रम परिमार्जन गर्न नसक्दा नेपाली युवाहरूले विदेशमा सस्तो ज्यामीको रूपमा काम गर्न बाध्य बनिरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष एवम् स्थानीय पाठ्यक्रम निर्माण तथा परिमार्जन कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेँले पाठ्यक्रम परिमार्जनमा सहयोग गर्नुहुने सबैमा धन्यवादज्ञापन गर्दै भक्तपुरको शिक्षालाई अझ उत्कृष्ट बनाउन यी र यस्ता गतिविधिको पनि महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
नगर शिक्षा शाखा प्रमुख साधुराम फुँयालले स्थानीय पाठ्यक्रम निर्माण कार्यदलले समयसापेक्ष ढङ्गले पाठ्यक्रम परिमार्जन गरी विद्यार्थीलाई थप नयाँ कुरा सिक्ने अवसर मिल्ने विश्वास गर्नुभयो ।
उक्त कार्यक्रममा कार्यदलका सदस्य रोशनराज तुईतुईले कार्यक्रमको उद्देश्यमाथि प्रस्ट पार्दै पाठ्यक्रम परिमार्जन ७ चरणमा सम्पन्न भएको जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *