भर्खरै :

समाजवादी चीनको प्रकृति चेत

समाजवादी चीनको प्रकृति चेत

प्रकृतिले पनि नेपाली भूमि र तिब्बती भूमि छुट्याउँदो रहेछ । काठमाडौँबाट तिब्बतको ल्हासातिरको हवाईजहाजको यात्रामा हिमालवारिका पहाडहरू हरिया जङ्गलले ढाकेको रमणीय दृश्य देखिन्छ भने हिमालपारिका पहाडहरू सुख्खा र उजाड देखिन्छ । रुख बिरुवाबिनाका पहाडहरू पोशाकबिनाको शरीरझैँ उराठलाग्दा देखिन्छन् । तिब्बती पठारभन्दा कैयौँ गुणा नेपाली पहाड सुन्दर छन् । ल्हासाबाट नेपाल फर्किँदा पनि तिब्बती पठार नाघेर नेपाली हरियो भूमि देख्दा जोकोहीको आँखा लोभिनुलाई अस्वाभाविक भन्न मिल्दैन । प्रकृति नै यस्तो छ ।
प्रकृतिले ठगेर पनि राजनैतिक प्रणाली जनताको अनुकूल हुँदा ल्हासा र शाननानले विकासमा कोल्टे फेरेको अनुभव हुन्छ । नेपालको प्रकृति निकै अनुकूल छ, तर यहाँको राजनैतिक प्रणाली जनभावनाबमोजिमको नहुँदा हामी नेपाली जनताले आफू ठगिएको अनुभव गरिरहेका छौँ । चिनियाँ जनता समाजवादी अर्थतन्त्रसहित विश्व जगत्सँग प्रतिस्पर्धा गर्दै छन् भने हामी नेपाली जनता पुँजीवादी व्यवस्थाको शोषण, दमन र विभेदमा पिल्सिएर एक कुनामा थन्किएका छौँ । यथार्थ यही नै हो ।
एक समयमा चीनकै पिछडिएको भनिने तिब्बत अहिले फराकिला र चिल्ला सडक सञ्जाल, रेल्वे सञ्जाल, एक्सप्रेस वे, अग्ला र सुविधासम्पन्न भवनहरूसहित आधुनिक विकासमा तीव्रगतिमा अघि बढिरहेको छ । रातको समय पनि दिउँसोजस्तै झिलिमिली बत्तीको व्यवस्थाले तिब्बती सहरले कुनै विकसित सहरभन्दा आफूलाई पछाडि पारेको देखिन्न । ‘जनताको खल्तीमा पैसा र मुहारमा हाँसो ¤’, यही नाराका साथ चिनियाँ सरकारले तिब्बती जनताका सबै आधारभूत आवश्यकता पूर्ति गर्ने अभिभावकीय जिम्मेवारी बहन गरेको सुन्दा हामीलाई सपनाजस्तै लाग्छ । शिक्षा, स्वास्थ्य उपचार सेवा, आवास, बिजुली र इन्टरनेट सेवालाई समेत जनताको आधारभूत आवश्यकताको महत्वपूर्ण अवयव मानिनु आफैँमा सभ्य र आधुनिक समाजको परिचय हो भन्दा अत्तियुक्ति नहोला ।
भौतिक विकासलाई वातावरण विनाससँग जोडिनु सबैको सामान्य बुझाइ बनिसकेको छ । अर्थात्, सडक पुगेसँगै वन विनास र भू–क्षय हुने, औद्योगिक विकाससँगै धुवाँ, धुलोसहित वायु प्रदूषण तथा जल प्रदूषण हुने, सहरीकरणसँगै दृश्य प्रदूषण र अपराधीकरण बढ्ने पुँजीवादी विकासको शैली बनेको छ । तर, ल्हासा र शाननान सहरले विकासको यो सामान्य बुझाइलाई फेरेका छन् । यहाँको भौतिक विकास शैली पर्यावरणमैत्री छ । सडकको दुवै छेउ तथा मध्य भागमा समेत हरियाली व्यवस्थापन गरिएको, सडक पेटीमा रङ्गीचङ्गी फूल फुलेका बिरुवाहरू तथा सँगैको घरको बनौटलाई असर नपर्ने गरी रुखहरू रोपिएका छन् । सडकमा धुलोको त कुरै छाडौँ, माटोको सतहसमेत देखिन्न । ती सतहहरू या त हरिया घाँसे मैदानले छोपेका हुन्छन् अथवा स–साना गोलाकार ढुङ्गाहरू बिछ्याइएका हुन्छन् ।
ऐतिहासिक सम्पदास्थलहरू, चौडा सडकका बिचमा रहने डिभाइडर तथा चौबाटोहरूको बिचमा समेत आकर्षक ढङ्गबाट बगैँचा व्यवस्थापन गरिन्छ । बगैँचा र हरियाली व्यवस्थापनले सहरी सौन्दर्यकरण बढाउने कार्यमात्र नगरी जनताको आँखालाई आनन्द प्रदान गर्ने र मानसिक तनाव न्यूनीकरणमा समेत सहयोग गर्ने तिब्बतीहरूको मान्यता छ ।
भक्तपुर नगरपालिका क्षेत्रमा जस्तै शाननान सहरमा बिहान सबेरै कर्मचारीहरूले सडक बढार्छन् । सफाइ मजदुरहरू हाते गाडा र फोहर सङ्कलन गर्ने तीनपाङ्ग्रे सवारी साधन (ट्राइसाइकल) लिएर आउँछन् । गीत बजाउँदै फोहर सङ्कलन गर्ने गाडी बस्तीमा सुस्तरी गुडिरहँदा स्थानीय जनता र पसल व्यवसायीहरूले आ–आफ्नो घर तथा पसल व्यवसायबाट बोरा वा भाँडोमा फोहर ल्याउँछन् र गाडीमा राख्छन् । त्यससँगै सडकको भुइँ बढार्ने मेसिनजडित गाडी (बु्रमर) पनि आइरहेको हुन्छ । रुख बिरुवा तथा फूलका बोटहरूमा बिहान र बेलुकी आवश्यकताअनुसार गाडीबाट नै पानी दिइन्छ । ओइलाएका फूल तथा झरेका पातहरू टिप्ने कार्य कर्मचारीहरूको दैनिकीझैँ बन्छ । सडक पेटीमा विभिन्न आकार र रङ्गका डस्टबिनहरू राखिएका हुन्छन् । बटुवाहरू कसैले पनि सडकमा प्लास्टिकका टुक्रा, पानीका बोटल वा केराका बोक्रा फाल्दैनन् । सडक सरसफाइले नै समाजको सभ्यताको परिचय दिइरहेको अनुभव हुन्छ ।
हाइवे, एक्सप्रेस वे (हामी राजमार्ग भन्छौँ) को दुवैतिर घर तथा पसलहरू हुने हाम्रो कल्पना तिब्बतमा मेल खाँदैन । त्यहाँका सडकका दुवै किनारामा बैँस, लहरे पिपल र अन्य जातका रुख बिरुवाहरू रोपिएका छन् । मानव बस्ती हाइवेभन्दा निकै टाढा व्यवस्थितरूपमा बसालिएका छन् र बस्तीमा जाने अलग्ग सहायक सडकहरू (सब वे) हरू छन् । सडक किनारामा रहेका खोलाको बगर होस् वा पहाडी भूभाग, सबैतिर वृक्षरोपण गरिएका छन् । जहाँतहीँ रुखबिरुवालाई सिँचाइ गर्न पाइपको सञ्जाल बनाइएको छ र निश्चित दुरीमा पम्प हाउस बनाएर त्यसमार्फत समय समयमा सिँचाइ गर्ने बन्दोबस्त मिलाइएको छ । तिब्बती सुख्खा पहाडहरूलाई हरियो वनले ढाक्ने योजनासहित तिब्बती जनता वर्षैपिच्छे वृक्षरोपण गर्ने मेला मनाउँदा रहेछन् । वातावरण संरक्षण कार्यमा जनसहभागिता बढाउने गज्जवको आइडिया र तिब्बती जनता आफ्ना सन्तानलाई जस्तै रुखबिरुवालाई माया गर्दा रहेछन् ।
खोलाको बगरमा लाखौँ सङ्ख्यामा बैँसका रुखहरू रोपिएको देख्दा मनमा किन बैँसमात्र भन्ने कौतुहलता जाग्नु अन्यथा होइन । प्रत्युत्तरमा तिब्बती साथीको जवाफ रह्यो, “तिब्बतमा सुख्खा मौसममा लाग्ने चिसो हावाको स्याँठसँगै बगरमा हुने बालुवा उडेर मानव बस्तीमा आउनबाट बैँसका रुखहरूले रोक्छन् । त्यस्तै, बर्खामा खोलामा बाढी आएर बगर जलमग्न हुँदासमेत बैँसको रुख मर्दैन ।” तिब्बती जनताको अनुभवले सिकाएको तर्क सही हो । काठमाडौँ उपत्यकावासीहरूले पनि खोलाको दुवै किनारामा बैँसका रुखहरू रोपेर बगर बचाउने र फाँटमा बाढी पस्नबाट रोक्ने परम्परागत अभ्यास अझै रहेको देख्न सकिन्छ ।
ल्हासाबाट शाननान सहर जाने बाटो र अन्य क्षेत्रमा ठाउँ–ठाउँमा कङ्क्रिट कारखाना, रेडिमिक्स प्लान्ट (बालुवा, रोडा र सिमेन्ट मिसाउने प्लान्ट) र सिमेन्ट कारखानाहरू देखिन्छन् तर कतै पनि भू–क्षय (पहिरो गएको) देखिँदैन । नेपालका पहाडहरूमा ढुङ्गा खानी, बालुवा खानी सञ्चालन गरिँदा प्राकृतिक स्रोतको चरम दोहनको कारण हुने पहिरोको दृश्य त्यहाँ कतै पनि देखिँदैन । खानी सञ्चालन गरिएका वा सिमेन्ट कारखाना राखिएका हरेक ठाउँमा वरिपरिको डाँडालाई हरियाली बनाउने योजना पनि सँगसँगै चलाइन्छ । मानव बस्तीभन्दा निकै टाढा राखिएका ती खानी तथा कारखानाहरू वरिपरि बगैँचा तथा जङ्गलको विकास गरिएका छन् ।
नेपाली समाजमा जहाँतहीँ पहाडको टुप्पो तथा गराहरूमा समेत बस्ती हुन्छन् । अप्ठेरा भीरपाखा र चट्टानमुनि पनि घर तथा छाप्राहरू हुन्छन् । तर, तिब्बती डाँडाहरूमा मानव बस्ती देखिन्न । सरकारी नीति नै रहेछ, ‘२० डिग्रीभन्दा भिरालो जमिनमा घर बनाउन नपाइने ।’ त्यसैले, नेपालका डाँडाकाँडामा कुनै प्राविधिक अध्ययनबिना जथाभावी कोरिएका रक्तनलीजस्ता देखिने सडकहरू र त्यसबाट बारम्बार गइरहेको पहिरोको समस्या तिब्बतमा कहीँ देखिँदैन । त्यहाँ सडकले पहाड चढ्दैन बरु सुरुङमार्फत सडक अगाडि बढ्छ । सुरुङभन्दा माथिल्लो भागको पहाडको संरचनामा कुनै फेरबदल हुँदैन ।
निश्चय पनि भौतिक विकासलाई पर्यावरणमैत्री बनाउन सजिलो छैन । तर, राजनैतिक व्यवस्था र नेतृत्वको सही दिशानिर्देशले जनतामा पर्यावरणप्रति चेत खुल्ने र मानवीय आवश्यकतालाई प्रकृतिमैत्री बनाउने दृष्टिकोणको विकास हुने रहेछ भन्ने उदाहरण तिब्बती भूमिमा देख्न सकिन्छ । वातावरणको विनास गरेर मानव सभ्यता अघि बढ्न सक्दैन । तर, पुँजीवादी समाजमा आफ्नो स्वार्थका लागि अरु जेसुकै होस् भन्ने नाफाखोर मानसिकताले पृथ्वीको अस्तित्व नै सङ्कटमा परिरहेको छ । यस्तो विषम् परिस्थितिमा विकासको समाजवादी मोडेलले पर्यावरण दीर्घकालसम्म सुरक्षित राख्न सकिने अभ्यासको सन्देश तिब्बती भूमिले संसारलाई दिइरहेको अनुभव गर्न सकिन्छ । यो नै उज्यालो भविष्यको मार्गदर्शन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *