भर्खरै :

राजनीतिक दल, कार्यकर्ता र शिष्टाचार

राजनीतिक दल, कार्यकर्ता र शिष्टाचार

सरकारमा पाइला नहालेसम्म राजनीतिक दलका नेताहरू श्रेष्ठ, नम्र र जनतालाई राम्रो व्यवहार गर्छन्, मन्त्री बनेपछि सँगै महिनाँै र वर्षौंसम्म सङ्घर्ष गरेका तथा महिनौँ र वर्षौँ कारागारमा बसेका साथीहरू पनि चिन्न छोड्छन्, मन्त्रीको कुर्सीमा बसेपछि सर्वज्ञ भइहाल्छन्; आफ्ना सहपाठी र सङ्घर्षका सहयात्रीहरूलाई असफल र काम नलाग्ने मूर्ख सम्झन पुग्छन् । केही नेताहरू सरकारमा नपुग्दा वा मन्त्रीबाट खुस्केपछि निराशा र निर्बलियो देखिएर ‘संसार यस्तै हो’ ‘हाम्रो प्रधानमन्त्री, हाम्रा भएनन्’ भन्ने जस्ता गुनासा गर्नेहरू आफ्नै पार्टीका धेरै कार्यकर्ताहरूले भोग्दै आएका छन् ।
त्यस्तै ज्यालादारी काम गर्ने, स–साना व्यापार र व्यवसायी भएर परिवार चलाउने साधारण कार्यकर्ता उपत्यकामा भूमिसुधार भएपछि र पहाड तथा तराईमा प्रजातन्त्रको पुनस्र्थापना र गणतन्त्र स्थापनापछि ती कार्यकर्तामध्ये कति शिक्षक बने, कति निर्वाचित भएर स्थानीय निकायहरूमा सदस्य भए र जिल्ला विकासका सभापति, नगरका मेयरसमेत भए । केही व्यापार–व्यवसायी भएर ठुला भुँडीको प्रदर्शन गर्दै इमानदार र निःस्वार्थी कार्यकर्तालाई चिन्न छोडेर ‘ओ केटा अहिले के गर्दै छौ ?’ भन्ने जस्ता सम्बोधन हुँदा राजनीतिक दल, प्रजातन्त्र र समाजवादजस्ता शब्दहरूको अर्थ बुझ्न पनि गाह्रो अनुभव भएको बताउँछन् – भुक्तभोगीहरू ¤
साथीहरू र दाजु–भाइहरूले नै दुई/चार पैसा र दुई/चार रुपैयाँ चन्दा उठाएर खेलाडी बनाउन योगदान गर्ने टोल र गाउँका साथीभाइ, नातागोता, तल्लोस्तरको ‘च्याम्पियन’ भएर एक दुई देशमा खेलेर गाउँ र टोलमा फर्कँदा सहयोग गर्ने गरेका साथीभाइ र सहयोगीलाई चिन्न छोड्छन् । तिनीहरू नै फाइँ–फुइँ गरेर आफ्नो टोल, गाउँ र देशमा सेवा गरेको धक्कु लाएर आफ्नो ‘खेलाडीको जिउ’ को प्रदर्शन गरेर अरूलाई हेला–होचो गर्न थाल्छन् । तिनीहरूमध्ये कतिले आफ्ना सुरुको जीवनमा खाने पसलमा रसबरी र लालमोहन खाएर पैसा नतिरेर हिँडेको, फलफूल पसलेको पैसा नतिरेको र ‘इज्जतमा कवाज नखेल्नु’ भन्ने धम्की दिएर हिँड्छन् । त्यस्ता पनि एक समय विद्यार्थी कालमा राजनीतिक कार्यकर्ताको रूपमा गनिएका थिए ।
तत्कालीन समयमा नेपाली समाजको एउटा राम्रो स्थिति थियो – त्यो हो – हरेक विद्यार्थी खास गरेर प्रवेशिकामा उत्तीर्ण विद्यार्थी वा कलेजका विद्यार्थीहरू नेपाली काङ्ग्रेस, वामपन्थी वा गोर्खा परिषद्देखि राप्रपासम्म आआफ्नो राजनीतिक विश्वास नछोडी लाग्थे । तर, प्रजातन्त्रको पुनःस्थापना आन्दोलनपछि प्रजातन्त्रको जग हालेपछि वा गणतन्त्र स्थापना भएपछि राप्रपालाई ‘दक्षिणपन्थी’ भनिए पनि संसद्मा बहुमत नपाए पनि ‘प्रजातान्त्रिक’ र ‘कम्युनिस्ट’ भनिने दलहरूको समर्थनमा हिजोका प्रतिगामी ‘सूर्यबहादुर थापा’ र ‘लोकेन्द्रबहादुर चन्द’ को नेतृत्वको सरकारमा भाग खान पुगे । बल्ल सिद्धान्तनिष्ठ र इमानदार, बुद्धिजीवी र जनताले प्रजातन्त्रको अर्थ ‘पुँजीवादी व्यवस्था’ भनी बुझे ।
ठेकदारको रूपमा केही दलहरू सरकारमा पालैपालो जान पाउने संविधानको संशोधन र चलिआएको प्रजातान्त्रिक धारालाई छोडेर मन्त्री बन्ने पालो नबिथोलिने अदालतका निर्णय पछि के चाहियो नयाँ–नयाँ राजनीतिक कार्यकर्ताहरूलाई ! तिनीहरूले आफूलाई देशका हर्ताकर्ता नै सम्झे ।
हिजो भारतबाट ‘एमाओवादी नामको प्रचण्ड–बाबुराम भट्टराई’ ले बिनानम्बरको दिल्लीका वाहनहरू राजधानी गुड्दाको फूर्ति अन्य सरकारमा गएका पार्टीका कार्यकर्ताहरूले पनि दिल्लीकै धाक दिने उपाय रोजे । यो ‘नयाँ राजनीतिक संस्कृति’ पनि कार्यालय, स्कूल, कलेज र विश्वविद्यालयमा समेत चल्यो । विश्वविद्यालयको मेच, टेबल, दराज मात्र होइन, परीक्षाका कापीहरू समेत जल्यो, जलाइयो । राजनीतिक दलको धम्की दिएरै कतिले प्रवेशिकाको ‘प्राप्ताङ्क’ (मार्कशीट) समेत ‘फेल’ लाई ‘पास’ मा बदलिने कार्य गरे । माल अड्डाका र अन्य कार्यालयका हाकिमहरू पार्टी कार्यालयहरूमा गई कार्यकर्ताहरूबाट जोगिन नेताहरूसँग गुहार माग्न पुगे । कति दलमा गुण्डा भेटिए, दलका कार्यकर्ताहरू थिएनन् । एउटा दुर्गम जिल्लाको हवाईसेवाको कर्मचारीको पक्षपात नसही एक भलादमी अभिभावक टिकट बाँकी छ, दिनैपर्छ भनी अडान लिँदा कर्मचारीले धम्क्यायो, “तिमी को हौ ?” भलादमीले भने, “म तिम्रो बाउ हो ।” “कर्मचारीले डर र त्रासले सोध्यो, “कसरी” ? “म तिम्रो बाबुको साथी हुँ ।” भलादमीको उत्तर सुनेर भ्रष्टाचारी चुप लाग्यो र टिकट दियो । ‘हरेक गैरकानुनी काममा पनि पार्टीको धाक दिएर पार्टीको बदनाम गर्थे राजनैतिक कार्यकर्ताहरू ?
अब देशमा ‘जेन–जी’ को धाक र विदेशको करामत मान्ने कार्यकर्ताहरूले शिष्टाचारलाई ध्यान दिनु आवश्यक छ, गलत कुरा, जाति र क्षेत्रीय भावनामा परिमार्जन अत्यन्त जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *