भर्खरै :

ज्ञानबहादुरको आँपको रुख

ज्ञानबहादुरको आँपको रुख

पहाडी डाँडाको फेदमा रहेको पुरानो बारीमा जेठ महिनाको मनसुनले माटोलाई आशिक दिएको थियो । ८० वर्षको ज्ञानबहादुर आफ्ना चाउरी परेका हातहरूले माटो खन्दै थिए, जसरी उनले जीवनभर सङ्घर्षको जमिन खने । उनले माटोमा एउटा सानो भविष्यको आशा बोकेको आँपको बिरुवा रोप्दै थिए ।
“हजुरबा ¤ तपाईँ यो के गर्दै हुनुहुन्छ ?” कलेजबाट फर्केको नाति प्रदीप हतारिँदै नजिक आयो, “उसको आँखामा आजको पुस्ताको हतारो थियो । तपाईँको उमेर त ८० पुगिसक्यो । आज हो कि भोलि ठेगान छैन । तैपनि, यो आँपको बोट किन रोप्नुभएको ? तपाईँलाई यो आँप फलाएर खान सक्छु जस्तो लाग्छ र ?”
प्रदीपको प्रश्नमा तर्क थियो, तर ज्ञानबहादुरको उत्तरमा जीवनभरको अनुभव । उनले हाँस्नुको सट्टा गहिरो सास फेरे, त्यो सास जुन वर्षौँदेखिको अभावको पीडा र अधिकारको लडाइँ सहेर आएको थियो ।
हेर नाति, ज्ञानबहादुरले आँपको बिरुवामा माटो पुर्दै भने, “मलाई यो आँप फल्ने बेलासम्ममा यो धर्तीमा रहन्छु जस्तो लाग्दैन । बरु, मलाई यो लाग्छ कि मैले मेरो जीवनमा कहिल्यै मीठो आँप खान पाइनँ ।”
प्रदीप अलमलमा पर्यो । मीठो आँप त उनीहरूको बारीमा फल्छ ¤ हामी गरिब थियौँ । आँप लगाउने जग्गा थिएन । गाउँमा जमिनदारहरूको बारीमा फल पाक्दा मैले त्यो मिठो रसको स्वाद पाउन वर्षौँ सङ्घर्ष गर्नुपर्यो । ज्ञानबहादुरको आवाजमा पुरानो सामन्ती व्यवस्थाले दिएको पीडा र गरिबीको मार मिसिएको थियो । मैले जीवनभर जुन मिठो आँप खाएँ, त्यो या त चोरीको जस्तो लाग्थ्यो या त कसैले दयाले दिएको । आफ्नै बारीको आँप खाने रहर मेरो र मेरा बाबुको पुस्ताले कहिल्यै पूरा गर्न पाएन । मेरो यो बोट रोप्नुको कारण यही हो— तिमीहरूको पुस्ताले पनि यस्तै अभाव र दुःख पाउन नपरोस् ।
उनले बिरुवालाई समातेर नातिलाई हेरे । यो बिरुवा केवल आँपको बोट थिएन – यो अधिकारको बीउ थियो ।
बाबु, यही अभावको पीडाले मलाई सिकायो कि सबैभन्दा महत्वपूर्ण कुरा धैर्यको पाठ हो । तिमीहरूले अहिलेकै लागि मात्र होइन, दुई हजार कदम अगाडिको पुस्ताका लागि सोच्न सिक्नुपर्छ । आज आलु रोपेर भोलि नै उखेलेर फल लाग्यो कि भनेर हेरे जसरी हतारिएर हुँदैन । धर्तीलाई विश्वास गरेर पर्खिनुपर्छ ।
ज्ञानबहादुरले आफ्नो राजनीतिक चेतनाको उदाहरण दिए । उनको लागि आँपको बोट रोप्नु र सामाजिक/राजनीतिक आन्दोलनमा लाग्नु एकै अर्थका थिए ।
“हाम्रो समाजको परिवर्तन पनि मेरो यो आँपको बोटजस्तै हो । मैले जीवनभर मोहियानी हक आन्दोलन देखेँ । किसानहरूले आफ्नो जग्गामा हक माग्दा तत्काल कसैले दिएनन् । तर, वर्षौँसम्म पर्खिएर सङ्गठित भएर र न्यायको बीउ रोपिरहने विश्वासले मात्र उनीहरूले आफ्नो हक पाए । मैले खाएको अपुरो आँपको पीडा, उनीहरूको प्रेरणा बन्यो ।”
“त्यस्तै, बाली काट्ने आन्दोलन र भर्पाई आन्दोलन पनि हो । हामीले भर्पाई माग गर्दा दिएन । त्यो त भविष्यका पुस्ताले तीतो फल खान नपरोस् भनेर गरेको आन्दोलनको बीउ थियो ।”
“आज तिमी मेरो खेत मेरो जग्गा जमिन अहिले बेच्यो भने करोडौँको भन्छौ नि, त्यो अधिकार मेरो पुस्ताले भर्पाई आन्दोलनमा रोपेको आँपको फल हो । त्यो आँपको बोट मैले रोपेँ, ताकि मेरो नातिले अभावको पीडा भोग्न नपरोस् ।”
ज्ञानबहादुरले आँपको बिरुवालाई अन्तिमपटक पानी दिए । उनको अनुहारमा जीवनको थकान होइन, बरु अधिकार प्राप्तिको सन्तुष्टि झल्कन्थ्यो ।
“तिमीले पनि आफ्नो जीवनमा हतार गर्नुहुँदैन । आफ्नो काममा निरन्तर लागिरहनु । तिम्रो इमानदार प्रयासले तत्कालै फल नदिए पनि, त्यो प्रयास भविष्यमा तिम्रो छोरा–नातिलाई मिठो आँपको फल र शीतल छाया दिनेछ ।”
प्रदीपले हजुरबुबाको हातको बिर्सेको आँपको स्वाद सम्झने प्रयास गर्यो । उसले बुझ्यो, हजुरबुबाले आज रोपेको यो बिरुवा केवल आँपको बोट थिएन, यो त विगतको पीडाबाट जन्मेको भविष्यप्रतिको ठुलो आशा, अधिकारको बलिदान र सामाजिक परिवर्तनको प्रतीक थियो । ज्ञानबहादुरले आफ्नो जीवनभरको ‘अधिकारको फल’ अब आफ्ना पुस्तालाई सुम्पिँदै थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *