भर्खरै :

सार्वजनिक हितलाई प्राथमिकता वा व्यक्तिलाई ?

सार्वजनिक हितलाई प्राथमिकता वा व्यक्तिलाई ?

सार्वजनिक भन्नाले समाज र देश भन्ने अर्थ लाग्छ । नेता कार्यकर्ताले देश, समाज र पार्टीको हितलाई प्राथमिकता दिने वा व्यक्तिलाई ? भन्ने प्रश्न हिजो पनि थियो र आज पनि छ । केही पुँजीवादी शासक दलहरू र ती दलका नेता र कार्यकर्ताहरूले नयाँ ‘कार्यकर्ता’ बनाउँदा ‘तिमी हाम्रो पार्टीमा काम गर्यौ र हाम्रो पार्टी ठुलो भयो र सरकारमा गयो भने हामी तिमीलाई काममा लगाइ दिन्छौँ, केही काममा तिमी पक्राउ प¥यो भने हाम्रो दलले, नेता र मन्त्रीहरूले छोडाइदिने पक्का छ ¤’ भनेर फकाउँछन् ।
यस्ता आश्वासनहरूको विरोधमा नेमकिपाले सदा नयाँ कार्यकर्ता वा आवेदकहरूलाई सचेत पार्दै आएको छ । नेपालको अङ्ग्रेजहरूसँग युद्धमा माथिल्ला पदाधिकारीहरूले देशको गुह्य कुरा विदेशीलाई दिएको हुँदा सुगौली सन्धिमा नेपाल हारेको थियो । हाम्रो देश आजसम्म बेलायती साम्राज्यवाद र भारतीय एकाधिकार पुँजीको कारण नयाँ उपनिवेशको स्थितिमा छ । अर्धउपनिवेश र नयाँ उपनिवेशको अर्थ हो – नेपालमा प्रत्यक्ष रूपले बेलायती सेना र भारतीय सेनाको उपस्थिति भई शासन चलाउने नभई अप्रत्यक्ष रूपले नेपाली सरकारलाई दबाब दिएर आर्थिकरूपले वा सांस्कृतिकरूपले हाम्रो देशमा ती देशहरूले अप्रत्यक्ष शासन गर्नु । साम्राज्यवादी र विस्तारवादी देशहरूले आ–आफ्नो सेनामा नेपाली युवाहरूलाई राखेर केही प¥यो भने अन्य देशमा आक्रमण गर्न प्रयोग गर्ने गर्छन्, तिनीहरूले हाम्रो देशले तिनीहरूको सामान महँगोमा किन्न हाम्रो बाध्य पार्छन् – उदाहरणको निम्ति हरेक वर्ष अर्बौँ रुपैयाँको चाहिने रासायनिक कृषि मल, ग्यास, पेट्रोल, खाद्य सामग्री, मोटर, ट्रक, ट्रिपर आदि सामानलाई किन्न हाम्रो देशलाई बाध्य पारिएको छ । त्यस्तै, नेपालका नदीनालाका जलविद्युत् भारतसँगै किन्नुपर्ने बाध्यता पा¥यो । अब त्यही जलविद्युत् भारत र संयुक्त राज्य अमेरिकाले एमसीसीको सन्धिमार्फत नेपालले तिनीहरूसँग किन्नुपर्ने बनायो । नेपाली निर्यात गर्ने सामान पनि तिनीहरूले भनेकै भाउमा बेच्नुपर्ने सन्धिहरूमा नेपालीलाई हस्ताक्षर गराएका छन् । नेपालको संविधान बनाउँदा ती उपनिवेशवादी देशहरू मिलेर पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री नबनाउने प्रस्ट दफा भएको हुँदा छिमेकी देश रिसाएको थियो । छिमेकी देशबाटै नेपालको सर्वोच्च अदालतको प्रधानन्यायाधीशलाई ‘प्रधानमन्त्री’ बनाइयो र आज पनि पूर्वप्रधानन्यायाधीश नै नेपालको प्रधानमन्त्रीको पदमा छन् । यी सबै उपनिवेशवाद वा अर्धउपनिवेशका उदाहरणहरू हुन् ।
नेमकिपाले नयाँ पार्टी सदस्यका आवेदकहरू र नयाँ कार्यकर्ताहरूलाई देशको वर्तमान परिस्थिति र एसिया, अफ्रिका, दक्षिण अमेरिका, युरोपियन देशहरू र संयुक्त राज्य अमेरिकाको हाम्रो र अन्य देशमा भइरहेको आक्रमण, थिचोमिचो र धम्कीहरूबारे प्रशिक्षित गर्छ । साथै, देशका हरेक युवालाई देशभक्ति र नेपाली जनताको सेवामा समर्पित हुन र त्यसैमा प्राथमिकता दिन शिक्षित गर्छ । नेमकिपाले पुँजीवादी व्यवस्था र समाजवादी व्यवस्थाको तुलनात्मक अध्ययन र उदाहरण दिँदै वर्ग र शोषणरहित समाज, व्यक्तिको योग्यताअनुसारको काम र आवश्यकताअनुसार समाजले पूर्ति गर्ने तथा अध्ययन, स्वास्थ्य सेवा जन्मेदेखि अन्तिम अवस्थासम्म व्यक्तिले होइन समाजले आफ्नै परिवारका सदस्यको रूपमा हेरचाह गर्ने राज्यविहीन एक आदर्श समाज अर्थात् साम्यवादी समाजको बारे प्रशिक्षण गर्ने गर्छ ।
वर्तमान समयमा शासक दलहरूले आफ्नै नेताहरूको व्यक्तिगत हितलाई प्राथमिकता दिएर नेपाल बाल सङ्गठनको नाममा नक्सालस्थित ‘बाल मन्दिरमाथि भ्रष्टाचारको कुकर्म’ गराएकोमा ‘प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो’ सीआईएले मुद्दा दायर गर्दै छ । (नेपाल समाचारपत्र – १५ मङ्सिर २०८२)
अर्को कहालीलाग्दो समाचार छ – “पोखरा विमानस्थलमा ८ अर्ब ३६ करोड भ्रष्टाचार, ५ पूर्वमन्त्री, १० पूर्वसचिवसहित ५४ जनाविरुद्ध मुद्दा”
(राजधानी – २२ मङ्सिर २०८२) ।
यसकारण नेमकिपाका कार्यकर्ताहरूले आर्थिक कारोबारदेखि विवाहसम्म वा घर जग्गाको कारोबारसम्म व्यक्तिगत हितको नाममा समाज र जनताको जनजीवनमा खराब असर पर्ने कामसमेत गर्न नहुनेबारे सचेत पार्दै आएका छन् । त्यस्ता काममा पार्टी सदस्य एक जनामात्रले पनि आफ्नो नातागोता र साथीको नाममा समाज र पार्टीको अहितलाई प्राथमिकता दिए त्यो खोटपूर्ण हुने निश्चित छ । यसबारे पार्टी कार्यकर्ता र समर्थक साथीहरूले माथिल्ला समितिका साथीहरूसँग सल्लाह नगर्दा गलत हुनेबारे बारम्बार सचेत गर्नु आवश्यक छ । नेमकिपाको मुख्य उद्देश्य देश र जनताको हितलाई प्राथमिकता दिने हो व्यक्तिलाई होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *