विध्वंश होइन विश्व शान्ति आवश्यक छ !
- जेष्ठ ११, २०८३
केही महिनादेखि जेन–जी विद्रोहबाट नेपाली समाजमा नौलो प्रकारको भ्रम र अन्योल देखा पर्दै छ । जेन–जीको विरोधलाई नेपाली भाषामा ‘नयाँ पुस्ताको विरोध’ भन्नु बढी उपयुक्त होला । किनभने, तिनीहरूका बाहिर देखिएका व्यक्तिहरूले आफूलाई एक राजनीतिक दलको रूपमा प्रस्तुत गरेका छैनन् । बाहिर प्रस्तुत भएका एक अगुवा रक्षा बमले शान्तिपूर्ण विरोध प्रदर्शनले कसरी हिंसाको रूप लियो थाहा नभएको बताइन् । ‘ओलीको सत्ता ढाल्ने योजना थिएन’ शीर्षकको १५ मङ्सिर २०८२ को ‘नेपाल समाचारपत्र’ को अन्तर्वार्तामा उनको भनाइ थियो, “… सुरुमा यो कुनै सत्ता ढाल्न वा चुनावको मिति सार्नको लागि गरिएको थिएन । दमन सहनै नसकेर फ्रस्टेसन ब्लास्ट भएपछि मात्रै नेतृत्व परिवर्तनको माग उठेको थियो । शान्तिपूर्ण आन्दोलन थियो† हिंसामा कसरी रूपान्तरण भयो भनेर मलाई थाहा भएन । साथीहरूले संसद् भवनमा प्रवेशमात्र गर्न खोजेका थिए तर जलाउने वा अन्य अराजक किसिमका गतिविधि गर्ने कुनै मनसाय …. थिएन । तर, सुरक्षाकर्मीले टाउकोमा ताकी ताकी अन्धाधुन्ध गोली प्रहार गरेपछि आन्दोलनले अराजक रूप लिएको हो । भदौ २३ गतेको नरसंहारबाट उत्पन्न भएको जनआक्रोशको परिणाम नै भदौ २४ गतेको विध्वंस हो । यो सरकार नागरिकले सडकबाट बनाएको र सडकको म्यान्डेट बोकेर अगाडि बढिरहेको सरकार हो ।”
माथिका भनाइअनुसार रक्षा बमले श्रीलङ्का र बङ्गलादेशमा विदेशी शक्तिहरूले गरेको हस्तक्षेपको कुरा गौण देखियो, जबकि ‘नयाँ पुस्ता’ कुनै राजनीतिक दल होइन र सामान्य रूपमा भ्रष्टाचारविरोधी शान्तिपूर्ण विरोध प्रदर्शन मात्रै हो । तर, त्यस घटनालाई आन्दोलनको रूपमा व्याख्या गर्दा यस आन्दोलनका सारथीहरू युवाहरू होइनन् बरु चुस्त र अनुभवी व्यक्तिहरूतिर नै इङ्गित गर्दछ ।
xxx
कविरस शर्माले १५ मङ्सिर २०८२ को ‘नेपाल समाचारपत्र’ को लागि किशोरी कार्कीसँग लिएको ‘उत्तरदायी नेतृत्व, प्रत्यक्ष कार्यकारी प्रणाली र युवा सहभागिता’ शीर्षकमा भनिएका विषय १४–१५ मङ्सिरका घटनाहरूबाट उब्जिएका सच्चाइहरू हुन् । ‘हाम्रो माग सजाय होइन, प्रणालीगत उत्तरदायित्व हो । जसले गल्ती गर्छ उसले जवाफ दिनैपर्छ । यही नयाँ सरकार बनाउन खोज्दै छौँ ।” शान्तिपूर्ण विरोधको परिणाम हिंसात्मक हुँदा नयाँ दृष्टिकोण देखापर्नु स्वाभाविक हो ।
उनी थप्छन्, “हामी स्थायित्व होइन, सार्थक परिवर्तन खोज्दै छौँ । यो आन्दोलन शासन परिवर्तनको लागि मात्र होइन, सांस्कृतिक परिवर्तनको लागि पनि हो । हाम्रो उद्देश्य होइन, प्रभाव हो । उम्मेदवारी केवल देश निर्माणको माध्यम हो ।”
जेन–जीको माझमा देखिएको मत–मतान्तरबारे पत्रकारको जिज्ञासालाई किशोरी कार्कीले भनिन्, “मतान्तर विचारको सौन्दर्य हो । तर, उद्देश्य एउटै हो नयाँ नेपाल ।”
नयाँ नयाँ तर्क र उद्देश्यले ‘नयाँ पुस्ता’लाई परिमार्जनको अवसर पनि दिने हुँदा समयले सबैलाई सिकाउँछ र आत्म–आलोचना अगाडि होइन पछाडि गर्ने हुन्छ ।
xxx
सुनील महर्जनले १५ मङ्सिरमा ‘जेन–जी’ का सुदन गुरुङसँगको अन्तर्वार्ता ‘नेपाल समाचारपत्र’ मा छापिएको छ । उनले भनेका छन्, “आन्दोलनको तयारी गरिरहँदा ‘हामी नेपाल’का ९२ च्याप्टरका झन्डै १६ हजार स्वयम्सेवकहरूलाई आन्दोलनको दिन प्रत्येक सदस्यले पाँच जना मानिसहरू ल्याउनू भनेर भनिरहेका थियौँ । त्यसको लागि सूचना आदानप्रदान गर्न डिस्कर्ड बनाएको थियौँ । हामी जेन–जीका १७ वटा समूह थियौँ । जेन–जीका १७ वटै समूहका नेतृत्वहरूले ‘तपाईंले नेतृत्व गर्नुप¥यो दाइ, यसमा जोखिम पनि छ तपाईंं अघि बढ्नुस्’ भन्नुभयो । सबैको आग्रह र देखाएको विश्वासको आधारमा जेन–जीको नेतृत्व भनेर सार्वजनिकरूपमा अघि आएको हुँ ।”
‘नयाँ पुस्ता’ को ठाउँमा ‘जेन–जी’ नाम र ‘समूह’ र ‘सङ्गठन’ को ठाउँमा ‘च्याप्टर’ शब्दले काठमाडौँ उत्पयकावासीलाई सुरुमा नौलोपन र विदेशीपन अनुभव गराइयो । एकै दिन झन्डै सबैजसो जिल्लाका प्रहरी चौकी, नगरपालिका भवन र अन्य सरकारी भवनहरूमा आगो लगाउन आवश्यक जनशक्तिको तयारी पनि एक–दुई दिनमा भएको थिएन भन्ने चर्चा खूब चलेको थियो – त्यसबेला । तर झन्डै दुईतिहाइको बहुमत भएको संसद्को सरकारलाई ‘तासको घर’ जस्तै ढाल्दा तत्कालीन शासक दलहरूको लाजशरम् र आश्चर्यले सातोपुत्लो गएको होला भनी लख काटे नेपाली जनताले ! नागरिकता दिँदा सिनेमाको टिकट जस्तो दिएको हुँदा शासक दलहरूले अन्य दललाई दिएको उत्तरको रूपमा नेपाल र नेपाली जनताले राम्रै पाठ सिकेको बिर्सनुहुन्न । हाम्रा युवाहरूलाई शासकहरूले घोक्र्याएर विदेश पठाएको परिणामको यो एक छेस्कोमात्र हो । अरू त भोग्न जनता बाँच्दै छन् ।
Leave a Reply