भर्खरै :

कुन शक्तिको इसारामा देशको सम्पत्ति ध्वस्त गर्ने काम भयो ?

कुन शक्तिको इसारामा देशको सम्पत्ति ध्वस्त गर्ने काम भयो ?

जेन–जी आन्दोलन अचानक भएको होइन । जेन–जी आन्दोलनको माग नाजायज पनि होइन । आफ्नो माग पूरा गर्न जेन–जी समूहले सरकारको ध्यानाकर्षण गरेको हो । आफ्नो माग सरकारले पूरा गर्न नखोजेपछि या पूरा गर्नेतर्फ ध्यान नदिएपछि जेन–जीले शान्तिपूर्ण आन्दोेलन छेडेको हो । सरकारले उनीहरूको माग पूरा गर्नुको सट्टा दबाउने चेष्टा ग¥यो; माग पूरा गर्नेतर्फ सरकारको ध्यान नगएको यथार्थ हो । जेन–जी आन्दोलन एमालेको नेतृत्वमा बनेको सरकारको कमजोरी या बेवास्ताको कारण भएकोमा शङ्का छैन । शान्तिपूर्ण आन्दोलनमा गोली चलाउनुपर्ने होइन । शान्तिपूर्ण आन्दोलनमा गोली चलाउनुको अर्थ आन्दोलनलाई उत्तेजित पार्ने कुत्सित पाइला हो । शान्तिपूर्ण आन्दोलनमा गोली चलाउनेहरू देशका सुरक्षाकर्मीहरू नै हुन् । कसैको अनुमतिबिना शान्ति सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूले गोली चलाउँदैनन् । गोली एक पटक एक ठाउँमा होइन । गोली चलाउने आदेश कसले दियो भन्ने कुरा प्रकाशमा आएको छैन । यसबारे प्रधानमन्त्री र गृहमन्त्रीले आफूहरू जिम्मेवार नभएको प्रस्टीकरण दिँदै छन् । प्रश्न उठ्छ, गोली चलाउन आदेश दिने को ? के काठमाडौँका प्रमुख जिल्ला अधिकारीले गोली हान्न आदेश दिएका हुन् ? यथार्थ जानकारीमा आउनुपर्छ ।
जेन–जी आन्दोलनमा घुसपैठ भएको खबर प्रकाशमा आयो । के भदौ २३ गतेको पहिलो दिनको आन्दोलनमा पनि घुसपैठ भएको हो ? कि दोस्रो दिनको आन्दोलनमा मात्रै घुसपैठ भएको हो ? भदौ २३ गतेको आन्दोलनमा घुसपैठ भएकाहरूमाथि गोली लागेको हो ? के गोली लागेकाहरू युवा–विद्यार्थी सबै घुसपैठ भएका हुन् ? आन्दोलनमा सारिक युवा विद्यार्थीको टाउको छानी छानी गोली हान्नु के क्रूरताको दृष्टान्त होइन ? पहिलो दिन के विध्वंस मच्चाएकोले आन्दोलनकारीमाथि सुरक्षाकर्मीलाई गोली हान्न बाध्य भयो ? जो आगोसँग खेल्छ आगोमै मर्छ, जो पानीसँग खेल्छ पानीमै मर्छ भनेझैँ जो शक्तिसँग खेल्यो शक्तिकै कारण एमालेको सरकार पराजय भयो । शक्तिको अहङ्कार गर्नु हुँदैनथ्यो । त्यसबेला नेका सम्मिलित एमालेको सरकारमा कुनै पनि शक्तिले आफ्नो सरकारलाई ढाल्न सक्दैन भन्ने अहङ्कार थियो ।
जेन–जी आन्दोलनले सामाजिक सञ्जाल त खुल्यो । तर, भ्रष्टाचारीहरू कारबाहीमा परेनन् । वर्तमान सरकारले भ्रष्टाचारीमाथि कारबाही गर्ने प्रक्रिया चालेन । यो सरकारले देशको सम्पति तोडफोड, लुटपाट र आगजनी गर्ने तथा शान्तिपूर्ण आन्दोलनमा सरिक युवा–विद्यार्थीलाई गोली हानी हत्या गर्नेमाथि कारबाही गर्नुपर्ने हो । घटनाको सत्य तथ्य प्रकाशमा ल्याउन छानबिन आयोग गठन गरिएको छ । छानबिन आयोगले पेस गर्ने प्रतिवेदन सत्य तथ्यमा आधारित होला या नहोला । आयोगले पेस गरेको प्रतिवेदनको आधारमा कारबाही होला या नहोला ? कारबाही गर्ने निकाय अघि बढ्ला या नबढ्ला ? त्यो समयले देखाउनेछ ।
जेन–जी आन्दोलनको उपलब्धि के ? सामाजिक सञ्जाल फुकुवा हुनुमात्र हो ? सामाजिक सञ्जाल बन्द फुकुवा हुन ७६ जनाले ज्यान फाल्नुपर्ने ? सिंहदरबार, सर्वोच्च अदालत र संसद् भवन आदि जलाउनुपर्ने ? आगजनी र तोडफोड भएको भदौ २४ गतेको आन्दोलनमा घुसपैठ भएको सन्दर्भमा आन्दोलनकारीहरूले किन चाल पाएनन् ? सरकारी यन्त्र र गुप्तचर विभागले किन ध्यान दिन सकेनन् या सत्तासीन दलका नेता, सेना र सुरक्षाकर्मीहरू कहाँ चुके ? अरबौँ बराबरको सम्पत्ति ध्वस्त भए पनि सरकार, सेना, सुरक्षाकर्मी कसरी हे¥या हे¥यै भयो ? देशको अरबौँ बराबरको सम्पत्ति ध्वस्त पार्ने कुन शक्ति हो ? नेपालको सम्पत्ति ध्वस्त गर्न नेपालीहरू किन अघि सरे ? कुन शक्तिको इसारामा देशको सम्पत्ति ध्वस्त गर्ने काम भयो ? भदौ २३ गतेको आन्दोलनमा गोली हानी हत्या गर्नु र भदौ २४ गते देशको सम्पदा र सम्पत्तिमा तोडफोड र आगजनी गर्नु दुइटै गर्न नहुने काम हो । यसका दोषीहरू सजातगी हुनुपर्छ ।
वर्तमान सरकार कसको ? कुन वर्गका जनताको सेवा गर्ने सरकार ? कतिको भनाइ छ, यो जने–जीको सरकार या जेन–जीको आन्दोलनको बनेको सरकार । यसबारे जेन–जीका समूहहरूको भिन्न भिन्न राय छ । उनीहरूको राय बाझिएको छ । यो सरकारले जेन–जीको मर्म र भावनाविपरीत सरकारले काम गर्यो भन्ने टिप्पणी छ । यो सरकार विदेशी शक्ति राष्ट्रबाट सञ्चालित रहेको भन्ने विश्लेषण पनि छ । यो सरकारप्रति देशका राजनीतिक दलहरूको विश्लेषण पनि फरक फरक छ । यो सरकारलाई संविधान मिचेर बनेको असंवैधानिक सरकार भनिएको छ । असंवैधानिक सरकारले भङ्ग गरेको प्रतिनिधिसभा मान्य नहुने र सरकारले गठन गरेको छानबिन आयोगलाई नमान्ने दाबी एमालेको रहेको छ । तथापि, एमाले अध्यक्ष ओली चुनावबाट नभाग्ने भन्दै छन् । चुनावबाट नभाग्ने भन्ने एमालेको भनाइले एमाले निर्वाचनको पक्षमा रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *