भर्खरै :

देशलाई आत्मनिर्भर बनाउनुपर्नेतर्फ सरकारको ध्यान जानुपर्ने

देशलाई आत्मनिर्भर बनाउनुपर्नेतर्फ सरकारको ध्यान जानुपर्ने

सुर्खेत, २९ मङ्सिर । नेपाल क्रान्तिकारी युवा सङ्घ जिल्ला समिति सुर्खेतको आयोजनामा जेन–जी आन्दोलन उपलब्धि कि विध्वंस र आत्मनिर्भरताको प्रश्न र आर्थिक विकास विषयमा अन्तक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा सुर्खेतका जिल्ला अध्यक्ष हरिबहादुर बोहराले जुन देशमा सरकार र जनतामा मेल हुँदैन त्यो देश आत्मनिर्भरको बाटोमा हिँड्न नसक्ने उल्लेख गर्दै यस्ता देशहरू शोषण र हतियारको व्यापारमा रमाउने बताउनुभयो । उहाँले समाजवादी व्यवस्था मान्ने प्रत्येकले आफू र देशलाई आत्मनिर्भर बनाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
नेमकिपा दैलेख जिल्ला सदस्य मनबहादुर वि.क.ले विचार र सङ्गठितबिनाको अभिव्यक्ति बलिदानमा टुङ्गिने कुरा जेन–जी आन्दोलनबाट प्रमाणित भएको बताउनुभयो । राजनितिक आक्रोशको जगमा भएको डकैती, लुटपाट र आगजनीलाई उपलब्धि मान्न नसकिने उहाँले बताउनुभयो ।
उहाँले जनताको झोपडीभित्र बस्ने कि दरबारको पिँढीमा बस्ने प्रत्येक राजनीतिक नेतृत्वले विचार गर्नुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घ सुर्खेतका सचिव अङ्गबहादुर शाहीले मजदुर हक हितको निम्ति सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेक्रायुसङ्घ सुर्खेतका अध्यक्ष रणबहादुर रानाले आत्मनिर्भरता नै आर्थिक विकासको कीड भएको र आत्मनिर्भर बन्न ज्ञान, कला र सीपले दक्ष हुनुपर्ने बताउनुभयो ।
उहाँले देश आत्मनिर्भर हुन राष्ट्रिय अन्तर्राष्ट्रिय कठिनाइको सामना गर्नुपर्ने भए तापनि हामीले हाम्रो सङ्घर्षलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
नेक्रायुसङ्घ सुर्खेत जिल्ला सदस्य मनबहादुर वि.क.ले दलाल पुँजीवादी राज्य व्यवस्थाले कृषिलगायत महत्वपूर्ण क्षेत्रमा लगानी गर्नुको सट्टा देशको युवाशक्तिलाई बेचेर देश सञ्चालन गर्नुले आत्मनिर्भरताको हाम्रो सपना अझ पर धकेलिएको बताउनुभयो । परनिर्भर राजनीति र राजनीतिक अस्थिरता नहुँदा देशले आर्थिक उन्नति गर्न नसकेको बताउनुभयो ।
कार्यक्रममा नेक्रायुसङ्घ सुर्खेत जिल्ला कोषाध्यक्ष छत्रिका वि.क.ले जेन–जी आन्दोलनमा सहभागीहरू सही विचारले सुसूचित नभएको, कार्यसूची र कार्ययोजना पनि नभएकाले आन्दोलनले उल्लेख उपलब्धि हासिल गर्न नसकेको बताउदै नयाँ पुस्ता उमेर मात्रै नभएर परिष्कृत विचार पनि भएको बताउनुभयो ।
नेक्रायुसङ्घ सुर्खेत जिल्ला सदस्य रमा गिरीले उपलब्धिभन्दा क्षति धेरै भएकोले यसलाई आन्दोलन नभई विध्वंस मान्नुपर्ने बताउनुभयो । उहाँले नयाँ पुस्ताले आउने दिनमा रङ्गिन क्रान्ति, जेन–जी आन्दोलनजस्ता अनेकन प्रवृत्ति र आधुनिकताको नाममा प्रयोग भएर देश र जनताको अहितमा नलाग्न पनि सुझाउनुभयो ।
कार्यक्रममा सर्मिला वि.क र महेन्द्र सिजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *