के जागिर दिएर समाजवाद आउँछ ?
- जेष्ठ ११, २०८३
माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारा चिनियाँ कम्युनिस्ट पार्टीको निर्देशक सिद्धान्त र विचारधारा हो । अर्थात्, माओ त्सेतुङ विचारधारा माक्र्सवाद–लेनिनवादभन्दा बाहिरको सिद्धान्त होइन । माओ विचारधारा चीनमा माक्र्सवाद–लेनिनवादको प्रयोगबाट विकास भएको वैज्ञानिक सिद्धान्त र अनुभव हो । माक्र्सवाद–लेनिनवादको विश्वव्यापी सत्यताको आधारमा चिनियाँ कम्युनिस्टहरूले चिनियाँ भूमिमा माओ विचारधारालाई विकास गरेका हुन् । माओ विचारधारामा समर्पित चिनियाँ कम्युनिस्टहरूले माक्र्सवादी सिद्धान्तलाई व्यवहारसँग मिलाउने काम पनि गरेका थिए । माओ त्सेतुङ विचारधारा व्यवहारबाट स्थापित भइसकेको पार्टीको सामूहिक बुद्धिको फल र चिनियाँ क्रान्तिको सही सिद्धान्त र सच्चाइ हो । अतः माओ विचारधारा चिनियाँ कम्युनिस्ट पार्टी, चिनियाँ जनता र चिनियाँ राष्ट्रको एक महत्वपूर्ण वैचारिक सम्पत्तिको रुपमा रहेको छ, रहिरहनेछ । माओ त्सेतुङ विचारधारा माओ त्सेतुङको व्यक्तिगत बुद्धिको मात्रै फल होइन, यो उहाँका सहयोद्धा, पार्टी, क्रान्तिकारी जनताको अनुभवको सार हो । यो विचारधारा चिनियाँ क्रान्तिको सङ्घर्षहरूमा माक्र्सवाद–लेनिनवादको प्रयोग र विकास हो । यो चिनियाँ क्रान्तिको माक्र्सवाद–लेनिनवादको विश्वव्यापी सत्यको एकताको फल हो ।
सिद्धान्तलाई व्यवहारसँग मिलाउने कामको नेतृत्व चीनमा माओ त्सेतुङले गरेका थिए । माक्र्सवाद–लेनिनवादलाई चिनियाँ क्रान्तिमा लागू गर्नु सजिलो थिएन । माओ त्सेतुङले माक्र्सवादी सिद्धान्तको ज्ञान र द्वन्द्वलाई विकास गरे । तथ्यहरूबाट सत्य खोज्ने दृष्टिकोण, सिद्धान्तलाई व्यवहारसँग एक गर्ने र व्यवहारबाट जाँच्ने, सत्यलाई विकास गर्ने र कुनै वस्तुको बेमेललाई ठीकसित व्याख्या गर्ने विचार माओ त्सेतुङका महत्वपूर्ण विशेषताहरू हुन् । जनसमुदायमा विश्वास गर्ने जननीति, जनताको निम्ति जनसमुदायमा भर पर्ने, देशभक्ति भावनालाई अन्तर्राष्ट्रियकरण गर्ने, क्रान्ति र निर्माणलाई आफ्नै भरमा काम गर्ने सिद्धान्त र कार्यनीति माओले नै प्रतिपादन गरेका थिए । चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले माक्र्सवादलाई कोरा सिद्धान्तको रूपमा आत्मसात नगरी त्यसलाई आफ्नो देशको परिस्थिति लागू गर्ने दिशा निर्देशको रूपमा लिएका थिए । कोरिया, भियतनाम र क्युवाजस्तो तेस्रो विश्वका देशहरूको क्रान्तिहरूमा पनि यही कुरा लागू हुन्छ । माओ त्सेतुङ भन्ने गर्थे, कम्युनिस्टको हृदय विशाल हुनुपर्छ, ऊ इमानदार र सक्रिय हुनुपर्छ, क्रान्तिको हितलाई उसले आफ्नो ज्यानभन्दा प्यारो सम्झनुपर्छ† आफ्नो व्यक्तिगत हितलाई क्रान्तिको हितको अधीनमा राख्नुपर्छ । व्यक्तिको भन्दा बढ्ता उसले पार्टी र जनताको चिन्ता लिनुपर्छ ।
हो, कम्युनिस्टहरू सबभन्दा बढ्ता दूरदर्शी हुनुपर्छ । उनीहरू सबभन्दा बढी त्यागी र दृढ हुनुपर्छ । बहुसङ्ख्यक जनताको समर्थनमा अघि बढेर काम गर्नुपर्छ । उँचो भावना राखेर मानवको सेवा गर्ने, मानिसको इच्छा र आकाङ्क्षालाई उँचो बनाउने, उद्देश्यप्रति लगनशील र सङ्घर्षशील हुने काममा कम्युनिस्टहरू दत्तचित्त भएर लाग्नुपर्छ । स्तालिनले कम्युनिस्टलाई ‘यमराजको ढोका घच्घच्याउने साहसी’ को उपमा दिएका थिए । यसको अर्थ हो, कम्युनिस्टले बहुमत जनताको हितको निम्ति आफू समर्पित हुनुपर्छ । भियतनामी जनताका नेता हो चि मिन्ह भन्थे, पुरानो समाजको सबभन्दा खराब र डरलाग्दो अवशेष व्यक्तिवाद हो । व्यक्तिवाद क्रान्तिकारी नैतिकताको विपरीत कुरा हो । क्रान्तिकारी नैतिकता भएको व्यक्तिले मात्रै गौरवशाली काम पूरा गर्न सकिन्छ । पार्टी र क्रान्तिको निम्ति सङ्घर्षमा आफ्नो जीवन अर्पण गर्नु, आफ्नो हितभन्दा पार्टी र जनताको हितलाई पहिलो स्थान दिनु एक कम्युनिस्टको आचरण हो । आफूले गरेको सेवाको घमण्ड नगरी सम्मान, पद र विशेषाधिकार नखोजी आफ्नो क्रान्तिकारी नैतिकता विकास गर्नु नै सच्चा कम्युनिस्ट कार्यकर्ताको गुण हो ।
एकचोटि माक्र्सका मित्र मेहरिङले भनेका थिए, साम्यवाद दाल, भात र डुकुमात्रै होइन† त्यो त सा¥है उँचो सांस्कृतिक क्रान्ति हो ।” शोषणले गहिरो जरा गाडेको समाजलाई पूर्णरुपले बदल्ने युगान्तकारी काम त्यति सजिलो हुँदैन । व्यक्तिवाद, अहङ्कार, छाडापन, ऐøयासी जीवन, एकलकाँटेपन, निराशा, बेइमानी, आडम्बरले कामदारवर्गका जनताको सेवा हुँदैन । यसकारण, हरेक सच्चा समाजवादी या सच्चा कम्युनिस्टले कुनै पनि वैगुणबाट अलग्ग राख्न खोज्नु स्वाभाविक हो । जनताको पक्ष लिएका भन्ने दल या कम्युनिस्ट पार्टीले जनताको सेवामा बाधा हाल्न त्यस्तै पार्टी खोलेको हुन्छ । हिटलर र मुसोलिनीले मजदुर वर्गलाई झुक्याउन समाजवादमा ‘राष्ट्रिय’ शब्द थपे । भारतीय काङ्ग्रेसजस्तो पुँजीवादी पार्टीले ‘मजदुर सङ्गठन’हरू बनायो । इन्दिरा गान्धीले त आफ्नो पार्टीको लक्ष्य नै समाजवाद भनेकी थिइन् । केही दलहरूले यहाँ कम्युनिस्ट पार्टी, समाजवादी पार्टी, जनता पार्टी भनी राजनीति गर्दै छन् । उनीहरूले जनताको विश्वास जित्न, जनताको मत पाउन झूटको राजनीति गर्दै छन्, जनतालाई ढाँट्दै छन् । कम्युनिस्ट भनिने सरकारमा पुगेका दल सत्तामा बसे पनि नबसे पनि श्रमजीवी जनताको पक्षमा काम गरेको देखिँदैन । यसको अर्थ हो, सिद्धान्तलाई व्यवहारमा लागू गरिएन । यो नेपालका कम्युनिस्टहरूको सबभन्दा कमजोर पक्ष हो ।
Leave a Reply