भर्खरै :

आक्रमण र हस्तक्षेपको विरोध गर्नु सञ्चारकर्मीको धर्म

आक्रमण र हस्तक्षेपको विरोध गर्नु सञ्चारकर्मीको धर्म

देश विदेशका विभिन्न खबर, घटना थाहा पाउने एक भरपर्दाे माध्यम सञ्चार क्षेत्र नै हो । कहीँ कतै घटेका, भएका नयाँ खबर सञ्चारको विभिन्न क्षेत्रबाट हामी तुरुन्तै थाहा पाउँछौँ । सरकारबाट हुने ज्यादती, थिचोमिचो, शोषण, दमन, अत्याचार, असमानता, पक्षपात आदिको विरोधमा हुने प्रदर्शन, सभा आदि कुरा अहिलेको अहिल्यै थाहा हुन्छ । ताजा खबर मात्र होइन विगतमा घटेका विभिन्न राजनीतिक घटना, इतिहास, सङ्घर्ष र विद्रोहका खबर पनि हामी सजिलै थाहा पाउन सक्छौँ । इजरायलले प्यालिस्टिनमाथि लगातार बम वर्षा र हवाई आक्रमण गरेर सहर ध्वस्त पार्दा र नरसंहार गर्दाको विरोध विश्वका सम्पूर्णजसो देशका जनताले गरेका थिए । विश्वका विभिन्न देशमा भएको विरोध प्रदर्शनको समाचार र तस्बिर संसारभर फैलिएको थियो । देशको सम्पत्ति लुट्ने, सम्पत्तिमा रजाइँ गर्ने, पदको दुरुपयोग गरी भ्रष्टाचार र अनियमितता गर्नेहरूको खबर छापामा ल्याएर उदाङ्ग्याउने, खबरदारी गर्ने र कडा कारबाहीको मागसहित जनतामाझ उजागर गर्ने काम पनि सञ्चार क्षेत्रले गरिरहेको यथार्थ हो । संयुक्त राज्य अमेरिकाले अहिले भेनेजुयलामा आक्रमण गरी क्षति पु¥याएको छ । त्यसको सबैले निन्दा गर्नुपर्छ । यस अर्थमा विश्वलाई चिनाउने र सचेत पार्ने काममा सञ्चार क्षेत्रको महत्वपूर्ण स्थान छ ।
विदेशी हस्तक्षेप, आक्रमण, अतिक्रमणको विरोध पनि सञ्चार क्षेत्रले नगरेको होइन । सामन्त, जमिनदार, पुँजीपति, साम्राज्यवादी, विस्तारवादीहरूको विरोध पनि सञ्चार क्षेत्रले गर्दै आएको हो । जनतालाई सचेत र सङ्गठित नगरी देशमा आमूल परिवर्तन सम्भव नहुने हुँदा जनताको राजनीतिक, वैचारिक र सांस्कृतिक स्तर उठाउने काममा पनि पत्रकारिताको ठुलो हात हुन्छ । सञ्चारकर्मी या पत्रकारहरू यसतर्फ सचेत र गम्भीर हुनुपर्ने हो । पत्रिकाले जनताका माग र समस्यालाई प्राथमिकतामा राखेर लेख, समाचार छाप्नुपर्ने हो । सञ्चारकर्मी र पत्रिका प्रकाशन गर्नेहरू पत्रिका बिकाउने, विज्ञापन बढीभन्दा बढी उठाएर अकुत सम्पत्ति कुम्ल्याउनेतर्फ केन्द्रित हुनु हुँदैन । शत्रु र मित्र नचिनी सामन्त, जमिनदार, पुँजीपति, धनपति, भ्रष्टाचार, कालाबजारी, कमिसनखोर, जनविरोधी र विदेशी दलालहरूको गुणगान गरेर, समाचार, लेख छपाएर अकुत सम्पत्ति कमाउने सञ्चारकर्मीहरू पनि यहाँ नभएका होइनन् । जनताको पीडाभन्दा अवसरवादी, स्वार्थीहरूको गुणगान गरेर खुसी पार्ने र पैसा कमाउने सञ्चारकर्मीहरूतर्फ जनता चनाखो हुनुपर्ने देखिन्छ ।
पत्रकारहरू स्वतन्त्र हुनुपर्ने, राजनीतिमा लाग्न नहुने, आस्थाको पत्रिका होइन कमाउने स्रोत र साधन बनाउनुपर्छ भन्ने सञ्चारकर्मीहरू पनि यहाँ नभएका होइनन् । पत्रिका र पत्रकारको काम राजनीति गर्ने होइन, घटनाको खबर छाप्ने हो भन्ने एकथरीको ठम्याइ छ । देश विदेशको खबर छाप्ने पत्रिका, लेख समाचार लेख्ने पत्रकारहरू राजनीतिबाट कसरी अलग्ग हुन्छन् ? सञ्चारकर्मीहरू राजनीतिबाट कसरी टाढा रहन सक्छन् ? के पत्रिका र पत्रकारले शोषण, दमन र भ्रष्टाचारको विरोध गर्नुहुँदैन ? भारतले मिचेको नेपाली भूमि फर्काउनुपर्छ भनेर के लेख्नु र छपाउनु हुँदैन ? भोलि कुनै देशले नेपालमा आक्रमण ग¥यो भने के सञ्चारकर्मीहरू मौन बस्न मिल्छ ? के आक्रमणको विरोधमा लेख र समाचार छाप्नु हुँदैन ? वास्तवमा समाजको निम्ति आस्थाको पत्रिका नै खाँचो छ । आस्थाको पत्रिकाले मात्र देश र जनताको समस्याबारे लेख्छ† लेखेर अन्यायको विरोध गर्छ र जनताको पक्ष लिन्छ । आस्थाको पत्रिकामा घटनाको खबर मात्र होइन समाचारसँगै विचार पनि हुन्छ । विचारले नभिजेको पत्रिकाले समस्या समाधानको उपाय दिँदैन । यसकारण, संसारका विभिन्न देशमा आस्थाको पत्रिकाले पनि ठाउँ पाएको हो† आस्थाको पत्रिका पनि आवश्यक छ भनिएको हो ।
समाज वर्गमा विभाजित छ । वर्गमा विभाजित समाजमा राजनीतिक दल मात्र होइन पत्रकारिता या सञ्चार जगत पनि वर्गमा विभाजित छ । पैसाको निम्ति पत्रकारितामा लाग्ने सञ्चारकर्मीहरू आस्थाको पत्रकारितामा चासो राख्दैनन् । उनीहरूलाई देश र जनताको समस्या हल गर्नेभन्दा लेख, समाचार लेखेर अकुत सम्पत्ति कमाउने चासो हुन्छ । त्यस्ता सञ्चारकर्मीले देश विदेशीले मिचे पनि, आक्रमण गरे पनि त्यसको समाचार त छाप्छ तर विरोध गर्दैन । देशमा ठुल ठुला धेरै पत्रिकाहरू सञ्चालनमा छन् । ती पत्रिकामा देश र जनताको समस्या समाधान गर्नेसम्बन्धी खबर त्यति हुँदैन । जेन–जी आन्दोलनको क्रममा देशको सम्पत्तिमा आगजनी गर्दा आगजनीको समाचार प्रकाशित भयो । तर, त्यसको खासै विरोध गरिएको पाइँदैन । संसद् भवन, सिंहदरबार, अदालत जलाउनु कुनै हालतमा सही होइन । सरकारको विरोधको नाउँमा देशको सम्पत्ति ध्वस्त पारेकोको विरोध गर्नुपर्ने हो । आगजनी गर्ने काम ठीक छैन; उनीहरूमाथि कारबाही गर्नुपर्छ भनेर पत्रिकाले लेख्नुपर्ने हो । पत्रकारितामा राजनीति घुस्छ भनेर जसले जस्तो अन्याय गरे पनि पत्रिका मौन बस्ने होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *