भर्खरै :

प्रजातन्त्र र अधिनायकतन्त्रमा फरक के हो ?

प्रजातन्त्र र अधिनायकतन्त्रमा फरक के हो ?

‘अमेरिकाद्वारा भेनेजुयलामा भीषण सैन्य आक्रमण’, ‘राष्ट्रपति मादुरो दम्पती पक्राउ’, ‘आतङ्कवाद अभियोगमा अमेरिकामा मुद्दा’ (राजधानी – २१ पुस, २०८२) ।
‘भेनेजुयलामा अमेरिकी आक्रमण’, ‘राष्ट्रपति मादुरो नियन्त्रणमा’, ‘आक्रमणको सर्वत्र विरोध र निन्दा’ (नेपाल समाचारपत्र – २७ पुस, २०८२) ।
‘भेनेजुयलामा अमेरिकी हमला, राष्ट्रपति मादुरो कब्जामा’, ‘न्युयोर्कमा लागुऔषधलगायत मुद्दा चलाउने तयारी’ (नयाँ पत्रिका – २० पुस, २०८२) ।
माथिका सबै नेपाली दैनिक खबर कागजले भेनेजुयलामाथि अमेरिकी आक्रमण र राष्ट्रपति एवं श्रीमती राष्ट्रपतिलाई समेत अपहरण शैलीमा न्युयोर्क लगेको कार्यलाई कसैले पनि राम्रो नमानेको प्रस्ट भयो । यो नै त्यस घटनाबारे नेपाली जनमत हो ।
प्रश्न उठ्छ – के एक स्वतन्त्र र सार्वभौम देशमाथि तुलनात्मकरूपले शक्तिशाली देशले अर्को सानो देशमाथि आफूले चाहेको मानिस वा कम्पनीलाई तेल र खनिजको मालिक बनाउने र आफूले चाहेको भाउ र भनेजस्तो व्यापार नगरेकोमा त्यस देशको राष्ट्रपति र श्रीमती राष्ट्रपतिलाई समेत ‘अपहरण’ शैलीमा न्युयोर्कमा लानु के एक राष्ट्रपति वा एउटा राज्यको सर्वोच्च पदाधिकारीलाई सुहाउने काम हो ?
हरेक पश्चिमी शैलीको संसदीय बन्दोबस्त र राष्ट्रपतीय बन्दोबस्तमा राष्ट्रपतिको पद र कार्यशैली टोल र गाउँको एक गुण्डाजस्तो र हुल्लडबाज लबस्तरोको जस्तै हुने गरेको सुन्नमा आएको छैन र पढेको वा सुनिएको पनि छैन । एक प्रतिष्ठित व्यक्तिले पदअनुसारको व्यवहार भएन भने जरुर आश्चर्यमा पर्नु र प्रश्न उठ्नु स्वाभाविक छ । नेपालमा पनि कहिलेकाहीँ सम्भवतः भर्खर लागू भएको संसदीय व्यवस्थामा राजदरबारको एक कार्यक्रममा ‘सांसद दम्पती’ बोलाएको कार्यक्रममा एकजना पूर्वमन्त्रीका छोरा सांसदले एक बाहिरी महिलालाई सँगै लैजाँदा बुझेका र चिनेका मानिसहरूले खल्लो अनुभव गरेका थिए । गल्ती ‘छोरो’ माननीयको होइन बरु पूर्वमन्त्रीको हो । जुन राजनैतिक दलको कार्यकर्ता र सांसद बनाउने नेतृत्वको दोष हो । यस्तो निर्लज्जताबारे नेपालीहरू नै सचेत थिए भने राष्ट्रपतिबाट वा प्रधानमन्त्रीहरूको तर्फबाट नेपालमा देखाइएको गैरजिम्मेवारीप्रति ‘जेन–जी’ काण्डको सिलसिलामा सबै छताछुल्ल भएकोमा सबै सचेत जनता र बुद्धिजीवी समुदायमा भोलि पनि चर्चाको विषय हुनेछ ।
३७ वर्ष पहिले पनि १७ डिसेम्बर, १९८९ मा पानामामाथि आक्रमण गरी राष्ट्रपति म्यान्युअल नोरेगालाई ‘लागुऔषध तस्करी’ को अभियोगमा नियन्त्रणमा लिएको थियो –संयुक्त राज्य अमेरिकाले । ‘लागुऔषध’ आरोप आजभोलि अमेरिकाले हरेक विदेशी शासक दलका नेताहरूलाई ‘निहुँ’ खोजेको रूपमा लिइने गरेको देखियो । (दक्षिण एसियाली देशमा अहिले पक्राउ परेका गाँजा र पक्राउ नपरेका गाँजा सबभन्दा बढी अमेरिकी गाँजा बताइन्छ ।) पानामाको नहर १०० वर्षपछि अमेरिकाले नफर्काएकोमा असन्तोष व्यक्त गर्नु हरेक देशभक्त र राष्ट्रपतिले उठाउनु स्वाभाविक हो । तर, पानामाका राष्ट्रपति अमेरिकी जेलमा सन् २०१७ मा मृत्यु भएको खबर पनि धेरै दिनपछि मात्रै परिवार र देशका जनताले थाहा पाए ।
संयुक्त राज्य अमेरिकी राष्ट्रपति पदको आफ्नै स्तरका मित्र देशका नेताहरूलाई गरिने व्यवहारबारे युक्रेनका राष्ट्रपति जेलेन्स्की र अन्य राष्ट्रपतिहरूप्रति गरेका घटनाहरूको सूची नै समाचारपत्रमा आउँदा पाठकहरू स्तब्ध भए । धम्की र आतङ्कले शक्तिराष्ट्रको कूटनैतिक स्तरको नापो प्रस्ट हुन्छ – समय मात्रै पर्खिनु आवश्यक छ, सच्चाइ पनि पुस्टिँदै जानेछ ।
ल्याटिन अमेरिकी देशका नेताहरूलाई संयुक्त राज्य अमेरिकी राष्ट्रपतिको आरोप ‘आतङ्कवादीहरूसँगको संलग्नता’ हो । अब यस्ता ‘निहुँ खोज्ने’ र ‘कनिका बोकाउने’ अमेरिकी कूटनीति पुरानो हुँदै गएको देखिन्छ ।
‘साम्राज्यवादी’ नीतिकै विरोध हुँदा संयुक्त राज्य अमेरिकी राष्ट्रपति ट्रम्प रिसाउने हो भने अमेरिकी स्वतन्त्रता आन्दोलनका जर्ज वासिङ्गटन र अन्य सबै नेताहरू बेलायती साम्राज्यवादका विरोधी थिए र त्यही सङ्घर्षको कारण संयुक्त राज्य अमेरिकाको स्थापना भएको हो ।
त्यस्तै समाजवादी नीति, तेल उद्योगलाई राष्ट्रियकरण गर्ने, खाद्यान्नको कमी र औषधिको कमीको बन्दोबस्त र मुद्रास्फीतिलाई नियन्त्रण गरेकै कारण मादुरोलाई पक्राउ गर्न पाँच करोड डलरको ‘पुरस्कार घोषणा’ स्वयं विदेशी घरेलु मामलामा हस्तक्षेप हो । त्यसैलाई राष्ट्रपति ट्रम्पले ‘ब्रिलियन्ट अपरेसन’ को संज्ञा दिनु पनि भलादमीहरूको निम्ति नसुहाउने विषय हो ।
कूटनीतिक मर्यादालाई नै भुलेर ठुलो शक्ति र ठुलो पदका व्यक्तिले भन्ने गरेका सबै सत्य हो भने माथिल्लो स्तरका नेताहरूले अमेरिकी कारबाहीमा रुस, चीन, इरान, क्युवा, कोलम्बिया, बोलिभिया, चिली, मेक्सिको आदि देशका राष्ट्रपति र नेताहरू पनि के सबै अमेरिकाविरोधी नै हुन् ? संसारका जनता ‘अमेरिकी जनताविरोधी’ होइनन् बरु अमेरिकी आक्रमक नीतिका विरोधी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *