भर्खरै :

नक्कली सत्यको ऋण

नक्कली सत्यको ऋण

भोट खस्यो, सकियो
बाकस बन्द भयो, सकियो
गन्ती सकियो, घोषणा सकियो
चुनाव त सकियो
तर हिसाब ? हिसाब भर्खर सुरु भयो ।

औँलामा मसी सुकेको छैन
तर मनमा प्रश्न उम्रिसक्यो
“के मैले आफ्नै मनले भोट हालेँ ?
कि अल्गोरिडमले बनाएको मनले मलाई हाले ?”

खोपडी मेरो थियो
पसिना मेरो थियो
नागरिकता मेरै थियो
तर खोपडीभित्र घन्किएको घण्टी
मेरो थिएन
त्यो त रातभर स्क्रिनबाट आएको थियो
सिलिकन भ्यालीमा लेखिएको स्क्रिप्ट
समुद्रपारिबाट उडेर
सिधै मेरो निद्रामा पसेको थियो
बिहान उठ्दा ‘जनमत’ बनेर बसेको थियो ।

भक्तपुरको ईँटाले पनि सोच्यो होला,
“मेरो गन्ध चिन्ने नाक कहाँ गयो ?”
पाँचतलेको सिदिले पनि सोध्यो होला,
“मलाई टेक्ने गोडा कता हरायो ?”
पचपन्न झ्याले दरबार पनि झस्कियो होला,
“मेरो कथा पढ्ने आँखा कता गयो ?”
तर के गर्ने, रिल्स हेर्ने फुर्सदले
मत पनि पायो, भविष्यको ठेक्का पनि पायो ।

जित्नेहरू मञ्चमा छन्
हार्नेहरू मौन छन्
तर सबैभन्दा धेरै हार त
तिम्रो र मेरो भयो
हाम्रो आँखा हुँदाहुँदै
हाम्रो विवेक एल्गोरिदमलाई भाडामा गयो
हाम्रो भरोसा लाइक र शेयरमा बिक्यो ।

अब किसानले मल खोज्छ — पाउँदैन
आमाले छोरो खोज्छिन् — विदेश गइसक्यो
विद्यार्थीले किताब खोज्छ — रिल्स मात्र भेट्छ
भक्तपुरको कालिगडले काम खोज्छ — आयातित सामानले थिचिसक्यो
अनि बल्ल बुझिन्छ
त्यो दिन हामीले नेता चुनेका थिएनौँ
हामीले त एल्गोरिदमले छानेको अनुहार चुनेका थियौँ
‘ट्रेन्ड’ चुनेका थियौँ
‘हल्ला’ चुनेका थियौँ ।

यो नक्कली सत्य हो
यति चिल्लो छ कि ऐनाजस्तै टल्किन्छ
यति मिठो छ कि महजस्तै लाग्छ
तर भित्रभित्र देशलाई कीरा लाग्छ
पुस्ता पुस्तालाई ऋण लाग्छ ।

नक्कली सत्य
सक्कली झूटभन्दा हजार गुणा घातक हुन्छ
किनकि झूटलाई त चिनिन्छ
“तँ झूट होस्” भनेर भक्तपुरको टोलमा औँला ठड्याउन सकिन्छ
तर नक्कली सत्यलाई त फूलमाला लगाइन्छ
जिन्दावाद भनिन्छ
बल्ल बल्ल थाहा हुन्छ
अँगालो हालेको त विषलाई रहेछ ।

राति सुत्नुअघि एक पटक छाम्नु है छाती
के साँच्चै ढुक्क छ ?
भोलि बिहान उठ्दा
यो देश, यो भक्तपुर, यो माटो
तिम्रो छोराछोरीले पाउँछन् कि
एल्गोरिदमले बेचिसकेको बिल पाउँछन् ?

चुनाव सकियो, हो
तर जिम्मेवारी सकिएको छैन
पश्चाताप गर्ने दिन आउनुभन्दा अगाडि
आजै सोध आफैँलाई
मेरो विवेक मेरै थियो कि भाडाको ?
मैले तिरेको विश्वासको मूल्य
सिलिकन भ्यालीले उठायो कि सिंहदरबारले ?

सत्य सक्कली हुनुपर्छ
भक्तपुरको इँटाजस्तै खाँदिलो
जुरेलीको पसिनाजस्तै नुनिलो
नत्र हामी सबै
नक्कली देशका नक्कली नागरिक
बन्न बेर लाग्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *