भर्खरै :

कला र संस्कृतिको संरक्षण गर्न सांस्कृतिक स्थल घोषणा गर्नुपर्ने

कला र संस्कृतिको संरक्षण गर्न सांस्कृतिक स्थल घोषणा गर्नुपर्ने

नेपाल प्राकृतिक र सांस्कृतिक रूपमा सम्पन्न छ । यहाँका प्राकृतिक र सांस्कृतिक सम्पदाहरू देशका पुँजी हुन् । यी सम्पदाहरू यहाँका अमूल्य निधिमात्र होइनन् आन्तरिक तथा बाह्य पर्यटकहरूको निम्ति आकर्षण स्थल र आयआर्जन गर्ने थलो पनि हो । यहाँका प्राकृतिक र सांस्कृतिक सम्पदाहरू विश्वकै सम्पदा भएको हुँदा यी सबै सम्पदाको संरक्षण गरेर जीवन्तता दिनु राज्यको कर्तव्य हो । यहाँका प्राचीन या मौलिक सम्पदा पुर्खाले आर्जेको सम्पत्ति हो । मठ, मन्दिर, पाटी–पौवा, सत्तल, पोखरी, इनार, ढुङ्गेधारा, विहार, चैत्य, स्तूप, देवालय, शिवालय, द्योछेँ (मन्दिर घर) सबै पुर्खाका सम्पत्ति हुन् । यस सम्पदाभित्र यहाँका डकर्मी, सिकर्मी, लोहँकर्मीहरूको सीप र कला हुन्छ । सीप, कला र अनुभवको हिसाबले उनीहरू शिल्पकलाका इन्जिनियरहरू हुन् । सम्पदा जोगाउने र संरक्षण गर्ने शिल्पीहरूको राज्यले कदर गर्नुपर्छ ।
पुराना कला र संस्कृति मानव जातिको सभ्यताको सूचक हो । समाजलाई अगाडि बढाउन शिक्षा, संस्कृति, विज्ञान र प्रविधिको विकासको खाँचो हुन्छ । सुसंस्कृत या आदर्श समाज निर्माणको निम्ति आर्थिक, वैचारिक क्रान्तिमात्र होइन सांस्कृतिक क्रान्तिको खाँचो हुन्छ । विभिन्न जनजातिका नाचगान, रीतिथिति, संस्कार–संस्कृति, जात्रा–पर्व, उत्सव, मेला, पूजापाठ तथा त्यसबेला बजाइने बाजागाजा आदि नेपाली जनताका सांस्कृतिक सम्पदा हुन् । देशको कला संस्कृतिको नयाँ पुस्तामाझ महत्वबोध गराउन राज्यले कला, संस्कृति, नाचगान आदिबारे पाठ्यपुस्तकमा राख्नु आवश्यक छ । नेपाली वास्तुकलाबारे इन्जिनियरिङ पाठ्यक्रममा समावेश गर्नु आवश्यक छ ।
कला र संस्कृतिको संरक्षण गर्न सोसम्बन्धी विधेयक आवश्यक हुन्छ । नेमकिपाले पहिले सदनमा कला र संस्कृति संरक्षण विधेयक पेस गरेको थियो । त्यस विधेयकमा नेपालका पुरातात्विक, ऐतिहासिक कला र सांस्कृतिक महत्व भएको स्थल, स्थान र पुरातात्विक वस्तुहरूको राष्ट्रिय सूची तयार गर्नुपर्ने सुझाव रहेको थियो । तर, यसतर्फ सरकारको ध्यान गएन । सम्पदा संरक्षण गर्न सरकारले काठ सहज ढङ्गले सस्तोमा उपलब्ध गराउनुपर्ने हुन्छ । काठमा राजस्व, मूल्य अभिवृद्धि कर र अन्त शुल्क छुट दिनुपर्छ; सामुदायिक सम्पदा संरक्षणमा पुरातात्विक विभागले आर्थिक अनुदानको व्यवस्था गर्नुपर्छ । काठको अभाव या समस्याले पनि समयमै सम्पदा संरक्षणमा समस्या भएको देखिन्छ ।
नेपालमा विश्व सम्पदा स्थलमा सूचिकृत भएका सम्पदा स्थलहरूमा भक्तपुर दरबार स्क्वायर, चाँगुनारायण मन्दिर, पशुपतिनाथ, काठमाडौँ दरबार स्क्वायर, ललितपुर दरबार स्क्वायर, स्वयम्भू, जनकपुर, बौद्ध स्तुप चितवन राष्ट्रिय निकुञ्ज आदि रहेका छन् । यी सबै सम्पदाहरूको संरक्षण गर्नुपर्छ । सम्पदास्थलमा आधुनिक भवन र मौलिक शैलीविपरीतका आधुनिक भवन बनाउन थालेकोले सम्पदा संरक्षणमा समस्या भएको हो । यही कारण काठमाडौँको विश्व सम्पदा स्थल खतराको सूचीमा परेको थियो । खतराको सूचीमा पर्नुको कारण सम्पदा संरक्षण नभएको भन्ने थाहा हुन्छ । अतः सम्पदा स्थलमा मौलिक शैलीविपरीत भवन या मठ मन्दिर बनाउनु हुँदैन । मौलिक शैलीका संरचनाहरू भत्के बिग्रेपछि नेपालको पुरानो शैली र संस्कृति के हो भन्ने थाहा हुँदैन ।
विश्व सम्पदा स्थल र अन्य स्थलका कला, संस्कृति र सम्पदालाई जीवन्तता दिन राज्यले सांस्कृतिक स्थलको घोषणा गर्नुपर्छ । देशमा भक्तपुर नगरको पुरानो बस्ती जस्तै देशका विभिन्न स्थानमा स्मारक स्थलहरू छन् । ती सबै स्मारक स्थललाई स्मारक संरक्षित स्थल कायम गर्नुपर्छ । कायम गर्न नै सांस्कृतिक नगर, गाउँ या स्थलको घोषणा गर्नुपर्ने हुन्छ । कला र संस्कृति देशको पहिचान हो, अमूल्य निधि हो । पुरातत्व विभागमा कार्यरत मुख्य पदाधिकारीहरूले कला र संस्कृतिको पुरातात्विक महत्व नबुझ्दा पुरानो मौलिक शैलीमाथि आधुनिक शैलीले ढाक्दै गएको हो । सरकारले जहाँ–जहाँ सांस्कृतिक सम्पदाहरू छन् त्यहाँ त्यहाँ सांस्कृतिक स्थलको घोषणा गरी सम्पदालाई जीवन्तता दिने काम गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *