भर्खरै :

राजनीति र साहित्य जनताकेन्द्रित हुनुपर्छ

राजनीति र साहित्य जनताकेन्द्रित हुनुपर्छ

हरेक राजनीतिक दलले देश र जनतालाई केन्द्र मानेर राजनीति गर्नुपर्छ । राजनीति देश र जनताको निम्ति गर्ने हुँदा राजनीति जनताकेन्द्रित हुनुपर्छ भनिएको हो । राजनीति बहुमत जनताको हितमा हुनुपर्छ । त्यस्तै, कुनै लेखक, कथाकार, कवि, कलाकारले रच्ने लेख, कथा, कविता र गीत पनि व्यापक जनताको हितमा हुनुपर्छ । त्यस्तो साहित्यलाई जनसाहित्य भनिन्छ । जनताको सेवा या हितमा लेखिएको साहित्य नै जनसाहित्य हो । जनसाहित्य जनताले बुझ्ने शैलीमा लेखिएको हुन्छ । बहुमत जनताको विरोधमा, बहुमत जनतालाई हानि हुने या उनीहरूको श्रम र सीपमा रजाइँ हुने गरी लेखिएको साहित्य जनसाहित्य हुनेछैन । साहित्यकारहरूको साहित्य उच्च विचारको हुनुपर्छ । यस्ता कृतिकार या साहित्यकार जनतामाझ प्रिय हुन्छ ।
साहित्यमा निबन्ध, कथा, उपन्यास, नाटक र काव्य या पद्यको शैली फरक–फरक हुन्छ । समग्रमा, यी सबै साहित्यमा परे पनि विधा फरक–फरक हुने हुँदा शैली फरक–फरक हुनु स्वाभाविक हो । हृदय छुने कलात्मक उपादेयताले परिपूर्ण रचनाको स्वाद छुट्टै हुन्छ । भनिन्छ, विचारशून्य कृति त सुन्दर मुर्दा मात्र हो । साहित्यमा कलाको प्रयोजन कलाको निम्ति होइन, त्यो त विचारमार्फत मानव समाजलाई सही बाटोमा लैजाने एउटा सुन्दर प्रयोजन हो । प्रगतिशील साहित्यकारहरू कृतिमा विचारमात्र होइन कला पनि आवश्यक भएको ठान्छन् । कृतिमा कला पक्ष भएन भने त्यो प्रचार सामग्रीमात्र हुन्छ भन्ने साहित्यकारहरूको कथन छ । तर, उनीहरू उच्च भावना र विचारबाट कहिले अलगिँदैनन् ।
जनताले बुझ्ने साहित्य लेख्नुपर्छ भन्नेमा दुईमत छैन । साहित्यमा कला पक्ष पनि चाहिन्छ । साहित्यमा कला भनेको सौन्दर्य पक्ष हो; यसले मन लोभ्याउँछ । जनताले बुझ्ने शैलीमा लेख्नुपर्छ भनेर कला छोडेमा त्यो यथार्थमा साहित्य हुनेछैन । कति साहित्य बुझिनसक्नु हुन्छ† सर्वसाधारणलाई अथ्र्याउन कठिन हुन्छ । कति साहित्य क्लिष्ट हुन्छ । शब्दार्थ बुझ्न पनि कठिन हुन्छ । साहित्यमा कता कता हिन्दी, उर्दू, फारसीजस्ता शब्दको प्रयोगले अर्थ बुझ्न धौ धौ हुन्छ । साहित्यमा प्रयोग हुने बिम्ब, अलङ्कार या प्रतीकले पनि बुझ्न गा¥हो हुन्छ । सकेसम्म साहित्यमा प्रयोग हुने प्रतीक या अलङ्कारहरू पनि समाजमा भिजेकै या जनसाहित्यमा चलेकै प्रयोग गर्दा जाती हुन्छ । सकेसम्म देशीय जनभाषाको शब्दको प्रयोग भए साधारणले बुझ्नेछन्; साधारणले बुझ्ने शैलीमा साहित्य रच्नु साहित्यकारको गुण हो ।
केही दिनपहिले भनपा वडा नं. १० मा प्रगतिशील गीत प्रतियोगिता भयो । नेपाल मजदुर किसान पार्टीको ५२ औँ स्थापना दिवसको अवसरमा स्थानीय पार्टी समितिद्वारा आयोजित सो प्रगतिशील गीत प्रतियोगितामा प्रस्तुत गीतहरू जनताकै पक्षमा छन् । जनता बिउँझाउने, अन्याय–अत्याचार सहेर बस्न नहुने, जनताको स्वतन्त्रता, मुक्ति र देशको सार्वभौमसत्ता जोगाउनको निम्ति सङ्घर्षरत दल र दलका उम्मेदवारहरूलाई निर्वाचनमा जिताउनुपर्ने आवाज गीतमार्फत व्यक्त भएको छ । देशविरोधी, विदेशी शक्ति राष्ट्रको उठबसमा चल्ने, भ्रष्टाचार, अनियमितता गरेर अकुत सम्पत्ति कुम्ल्याउने भ्रष्टाचारीहरूलाई नेपाली जनताले निर्वाचनमा चिनेर हराउनुपर्ने सन्देश गीतमा पाइन्छ । यस अर्थमा उक्त प्रतियोगिताको निम्ति गीत रच्ने सबै रचनाकारहरूप्रति नमन छ । उक्त प्रतियोगिताले जनतामा राम्रो सन्देश छरेको छ । प्रतियोगितामा भाग लिएर गीत गाउने गायक, बाजा बजाउने वाद्यवादक र साथ दिने सबै सहयोगीहरू धन्यवादका पात्र हुन् ।
कति साहित्य माक्र्सवादी नहुन सक्छ तर जनताको हृदयमा छोएको हुन्छ । कति विचारमा सत्यता हुन्छ तर जनताको हृदयमा नछोएको हुन्छ । कुनै कृति प्रगतिशील भए पनि नाराबाजी हुन्छ, साहित्यमा हुनुपर्ने गुण या रस हुँदैन । अनि त्यस्तो साहित्य सिद्धान्तको बखानको थुप्रो हुन्छ । कति साहित्य उद्देश्यमूलक नै हुन्छ । त्यस्तो साहित्यमा सिद्धान्त, विचार र कला पक्ष पनि हुन्छ । साहित्य, गीत वा काव्य समाजबाटै सिर्जित हुन्छ । यसकारण, साहित्य वा काव्यमा सिद्धान्त र विचार भिजेकै हुनुपर्छ । हो, विचार नै साहित्य होइन न त सबै साहित्य नै विचार हुन्छ । तर, साहित्यमा चमत्कारपूर्ण विलक्षणता हुनु कविको मात्र होइन काव्यको गुण पनि हो ।
समाजबाट साहित्य वा काव्य कहिले पनि अलग्ग हुनसक्दैन । यसैले साहित्य यथार्थवादी हुन्छ भनिएको हो । तर, यथार्थवादी साहित्य सबै प्रगतिशील हुँदैन । जनतामाझबाट हुर्केको, भिजेको साहित्य मार्मिक हुन्छ । समाजकै चित्रण गरिएको हुन्छ । यसैले प्रगतिशील साहित्यकारहरू भन्ने गर्छन्, कवि नेताभन्दा प्रभावशाली हुन्छन् । किनभने, नेताको भाषामा सिद्धान्तमात्र हुन्छ भने कविको भाषामा सिद्धान्त सँगसँगै सौन्दर्य पनि हुन्छ । साहित्यमा प्रयोग हुने सुमधुर शब्द, भाषा, सुन्दर शैली, विभिन्न रस र अलङ्कारले जनताको मन जित्न सजिलो बनाउँछ र त्यो प्रभावकारी हुन्छ । थोरै शब्दमा धेरै कुरा बताउने, कम समयमा धेरै सन्देश बाँड्ने काम साहित्यले गर्छ । अतः सिर्जना गरिएको साहित्यमा जनताको पीडा, मन, विचार, सिद्धान्त सँगसँगै कला या आभूषण पनि हुनुपर्छ । आभूषण साहित्यको कला हो । यसले स्वाभाविकता बढाउँछ । भदौ २४ गते आयोजित प्रगतिशील गीत प्रतियोगिता त्यस्तै मन छुने सन्देशमूलक कार्यक्रम हो; जनताको पीडा पोखेको, जनताको विचार बोकेको उक्त प्रतियोगिता उच्च भावना बोकेको बोधगम्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *