मुखौटाभित्रको राजनीति
- फाल्गुन १, २०८२
तराईको एउटा गाउँमा हात बजार लागिरहेको थियो । त्यसैको मौका छोपेर धोती, कमिज, गलबन्दी, फेटा र चप्पलमा एक उम्मेदवार केही मोटोघाटो आउरेबाउरेका साथ टुप्लुक्क आइपुगे । उनी गाउँका सामन्त, जमिनदार, भ्रष्टाचारी र अपराधी थिए । उनी गरिब मतदाताको मन, विश्वास जित्न त्यहाँ आएका थिए । उनले आफ्ना आउरेबाउरेमार्फत पहिला धोती, कम्बल, सारी, कुर्था, मासुको पोका, खाम बाँड्न लगाए । त्यसपछि उनले ती मतदाताहरूलाई भने, “सर्वप्रथम म तपाईँ गरिब दुःखी आमा बुबाका तराईका धर्तीपुत्रको हार्दिक नमस्कार र ढोग छ । अब आउने फागुन २१ गतेको निर्वाचनमा मलाई धेरै मत हालेर जिताउनु हुन्छ भन्ने पूर्ण विश्वास छ । म चुनावमा जितिसकेको छु । अब तपाईँहरूले मलाई मतमात्र हालेर देखाउन बाँकी छ । यदि मलाई जिताउनुभयो भने म हाम्रा तराईका धर्तीपुत्र उखु किसान, दुग्ध किसान, मिटरब्याज पीडित, कमैया, चरुवालगायत सबै गरिब पीडित दुःखी जनतालाई मुक्त गरिदिनेछु । अन्नको भण्डार तराईमा कृषि, उद्योगको विकास गरी सबैलाई रोजगारी दिएर सुख दिनेछु, गरिबको आँसु पुछ्नेछु । उनको कुरा सुनेर आउरेबाउरेहरू गडगडाहत ताली बजाउँछन् ।
उनको भाषण सुनिरहेका एक निडर युवाले औँलो उठाउँदै भने, “दाजुभाइ, दिदीबहिनी तथा आमाबुबा हो, यो आज हामी सबै यिनीहरूबाट पुस्तौँपुस्ता पीडित छौँ । हाम्रा अग्रज पुर्खाहरूले यिनीहरूको यस्तै शोषण, अन्याय, अत्याचार, पीडा र अभावको आँसु पिउँदै जानुभयो । यी हामी हिजोदेखि गरिबी, अशिक्षाका कारण काम नपाएर सुखा रोटी, सखर, नुन, खोर्सानी खाँदै, भोकै बस्दै आएका आदिवासी हौँ । हामी गरिब हौँ । यसैमा हाम्रो स्वाभिमान छ । स्वतन्त्रता छ, अनि नैतिक बल छ । गरिबी सहिन्छ, अभाव भोगिन्छ । तर, हाम्रो स्वाभिमान बेचिँदैन, बेच्नुुहुँदैन† हाम्रो अमूल्य माताधिकार बेच्नु हुँदैन, बन्धकीमा राख्नु हुँदैन । उनीहरू अब हामीलाई देखावटी सम्मान, आदर र शरीर आधी निहुराएर देउतालाई जस्तो ढोग्न आउनेछन् । विदेशीको माना खाएका, पालिएका नेपाली जातजातिका पोसाक लगाएका नक्कली नेपाली भएर उम्मेदवारहरू मत माग्न आउँदै छन् । उनीहरू भोलिका विभीषण भष्मासुर र गाईको छाला ओढेर आएका ब्वाँसाहरू छन् । उनीहरूलाई चुनावमा हराउनु र हाम्रो दुःख पीडामा यहाँ साथ दिँदै आएका सङ्घर्षशील देशभक्त उम्मेदवारहरूलाई अत्यधिक मतले जिताउनु हाम्रो कर्तव्य हो, अग्नि परीक्षा हो ।
हात बजार र मेलामा आएका दाजुभाइ, दिदीबहिनी र बुबा आमा सबैले ती निडर युवाले भनेका कुरा साँचो हुन् भन्दै उनीहरूले दिएको सामान, पैसा त्यही छोडेर आफूलाई चाहिने सामान किनेर आ–आफ्नो घर गए ।
Leave a Reply