मतको आधारमा दलले राज्यको कोष लिने विचार गलत
- फाल्गुन १४, २०८२
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीलाई साक्षी राखेर अमेरिकी ‘ब्यान्ड बाजा’ का सेनाहरू टुँडिखेलमा भएको परेड देशको सार्वभौमिकतामाथिको खतरा भन्नेबारे चर्चा परिचर्चा राजनीतिक विश्लेषकहरूमाझ भइरहेको छ । सैनिक दिवसमा सरिक ब्यान्डका अमेरिकी सैनिकहरू जवानहरूको त्यो परेड नेपाली जनताले कुन रूपमा स्वीकार्लान् भनी नाडी छामेको हुनुपर्छ । यही बान्ड टोली यसअघि काठमाडौँको एक विद्यालयको प्राङ्गणमा परेड खेल्दा व्यापक आलोचना भएको थियो । तर, सरकार सचेत भएन । अहिले मन्त्री, प्रधानमन्त्री र राष्ट्र प्रमुखसामु नै परेड खेले । नेपाली भूमिमा अमेरिकी सेनाले खेलेको यो परेडलाई हचुवा ढङ्गले हेर्नु उचित हुँदैन ।
एमसीसी सम्झौतापछि नेपालमा अमेरिकी सेनाको यो परेड खेल न पहिलो न अन्तिम नै हुनेछ । अमेरिकी सेनाको यो परेड विगतको निरन्तरता हो भनेर त्यसै बस्नु उचित हुँदैन । उनीहरू कहाँ कहाँ गएर को कोसँग भेट्छन्, थाहा पाउनुपर्छ । कसको स्वीकृति र आमन्त्रणमा उनीहरू यहाँ पसेका हुन् ? त्यसबारे पनि सरकारले नेपाली जनतालाई सुसूचित पार्नुपर्छ । के अमेरिकी सेनाहरू रमझम गर्न नेपाली भूमि छिरेका हुन् ? विषय अत्यन्त गम्भीर छ । यो गाम्भीर्य सरकारले महसुस गरेको छ ? भविष्यमा सरकार त्यही सेनाको लाचार छाया बन्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । तर, विदेशी भूमिमा सद्भाव छर्न पाइला टेकेका कुनै पनि सेनाहरू फर्काउन गा¥हो हुन्छ । भू–राजनीतिक चलखेल तीव्र बनिरहेको यो समयमा अमेरिकी सेनाको परेडले यो ब्यान्ड बाजा टोलीको नाउँमा नेपाली भूमिमा सेना प्रवेश गरेर चलखेल गर्ने बाटो खोजेको प्रस्ट हुन्छ ।
देशको स्वाधीनता, सार्वभौमिकता र परराष्ट्र नीतिबारे सरकार जहिल्यै स्पष्ट हुनुपर्छ । यो बेला सरकार अझ बढी चनाखो हुनुपर्छ । अमेरिकी सेनाको त्यो टोली यहाँ रम्न आएको हो कि चलखेल गर्न आएको हो ? नेपाली जनता सचेत हुनुपर्छ । अमेरिकी सेना भित्रिएरै अफगानिस्तानलाई अस्तव्यस्त बनाइयो । अमेरिकी सेनाकै बल र साथमा प्यालेस्टिनलाई ध्वस्त बनाइयो । इरानको आणविक भण्डारणमा बम वर्षा गरियो । भेनेजुयलामा आक्रमण गरेर राष्ट्रपतिसहित राष्ट्रपति परिवारको अपहरण गरियो । अमेरिकी सेनाको प्रवेशले नेपालको स्वाधीनता र सार्वभौमसत्तामा आँच पु¥याएको छ ।
प्रश्न उठेको छ, अमेरिकी सेनाको त्यो टोली ब्यान्ड बाजाको टोली मात्र हो कि सेनाको कमान्डर टोली नै हो ? कुनै पनि देशले अर्को कुनै देशमा आक्रमण गर्नुभन्दा अघि त्यो देशको वस्तुस्थिति बुझेको हुन्छ । कहाँनेर, कहिले आक्रमण गर्दा बढी क्षति हुन्छ भन्नेतर्फ उनीहरूले खोजीनीति गरेका हुन्छन्; गुप्तचरहरू छोडेका हुन्छन् । यसबारे देशका शासकहरू गम्भीर हुनुपर्छ; सचेत हुनुपर्छ । तर, उनीहरू कति आर्थिक सहयोग र विकासमा भुले त कति धाक धम्की र दबाबमा फसे । यसरी फसेकै कारण नेपालका शासकहरूको कमजोरीमाथि विदेशी शक्ति राष्ट्रहरूले फाइदा उठाउँदै आएका हुन् । विदेशी सेनालाई नेपाली सैनिक दिवसमा भाग लिन आएको हो भनेर त्यसै छोड्नु बुद्धिमानी हुनेछैन । नेपाल सरकारले आँखा खोल्नुपर्छ ।
अमेरिकाले संसारका अनेकौँ मुलुकमा हतियारसहितका अमेरिकी सेना तैनाथ गरिरहेको छ; देश देश जुधाएर आफ्नो हतियार बेची आम्दानी गरिरहेको छ; अरु देशका राष्ट्रपतिको अपहरणदेखि हत्या गर्ने कुत्सित प्रयासमा संलग्न भएर त्यो देशको प्राकृतिक स्रोत र साधन आफ्नो नियन्त्रणमा लिइरहेको छ । एमसीसी सम्झौता पनि अमेरिकी दबाबमा गराइएको थियो । यसरी आफ्नो हैकम या आधिपत्य जमाउन बल प्रयोग गर्ने र शक्तिको दम्भ गर्ने अमेरिकी प्रशासनले कहाँ, कहिले के गर्छ भन्ने कुरा थाहा हुँदैन । अमेरिकाले अहिले पनि अरु देशमा सेना तैनाथ गर्ने, आर्थिक नाकाबन्दी गर्ने, प्राकृतिक स्रोत र साधन कब्जा गर्ने काम गर्दै छ ।
अमेरिकी सरकारले गरिरहेका यी सबै गतिविधिले अमेरिकी प्रशासन शान्ति सुरक्षाको पक्षमा नभएको थाहा हुन्छ । उसकै कारण संसारका मुलुक, राष्ट्रनायक र जनता असुरक्षित छन् । संसारलाई सुरक्षित बनाउन, संसारका मुलुकहरूको विकास गर्न र जीवनस्तर बढाउन साम्राज्यवाद अन्त्य गर्नुपर्ने हुन्छ । साम्राज्यवादी नीति अन्त्य गर्न संसारका स्वाधीनताप्रेमी, देशभक्त जनता र राष्ट्रहरू एकजुट हुनुपर्छ । प्यालेस्टिन र इजरायलको युद्ध, रुस र युक्रेनको युद्धमा संयुक्त राज्य अमेरिकाको साथ र सहयोग छ । यही कारण नेपाल मजदुर किसान पार्टीले अमेरिकी आक्रमण, हस्तक्षेप, नाकाबन्दी र व्यापार युद्धको विरोध गरिरहेको हो ।
Leave a Reply