भर्खरै :

अमेरिकी आक्रमण, हस्तक्षेप र दमनको विरूद्ध अमेरिकी जनता उठ्नुपर्छ

अमेरिकी आक्रमण, हस्तक्षेप र दमनको विरूद्ध अमेरिकी जनता उठ्नुपर्छ

संरा अमेरिका र इजरायलले इरानमा आक्रमण गरेर विश्वलाई फेरि एकपटक आतङ्कित बनाएका छन् र विश्वका जनताले पुनः असुरक्षित महसुस गरेका छन् । संरा अमेरिका आफै विश्वमा आतङ्क मच्चाएर अरू देशको शासनलाई आतङ्कवादीको कल्की लगाउँछ र अरू देशमा हमला गरी हस्तक्षेप गर्छ । इजरायलले प्यालेस्टिनमाथि आक्रमण गरी ७० हजारभन्दा बढी प्यालेस्टिनी नागरिकको हत्या गरेको घटना सेलाउन नपाउँदै फेरि इजरायलसमेतको सहयोगमा संरा अमेरिकाले इरानमा आक्रमण गर्दा इजरायल र संरा अमेरिकाको विरोधमा विश्वका जनता आक्रोशित हुनु स्वाभाविक हो । संरा अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालको एकवर्षको समयमा सात वटा देशमा हमला गरिसकेका छन्† यो अमेरिकी प्रशासनको आततायी कदम हो ।
अरु सार्वभौम देशमाथि आक्रमण र हस्तक्षेप गर्ने संरा अमेरिकी राष्ट्रपति ट्रम्प आफूलाई शान्तिवादी स्वघोषणा गरी नोबेल शान्ति पुरस्कार पाउने दाबी गर्दै हिँड्छन् । नोबेल शान्ति पुरस्कार दाबी गर्ने राष्ट्रपति ट्रम्प अरू देशमाथि हस्तक्षेप गरी धन–जन विध्वंश गरेपछि शान्तिको वार्ता आह्वान गर्ने गर्छन् र आफूलाई शान्तिवादी कित्तामा उभ्याउने नक्कली काम गर्छन् । इरानको आणविक कार्यक्रम र सैन्य संरचना ध्वस्त बनाउन पल्केको अमेरिकी प्रशासनले आफ्नो देशमा रहेको, बनेको सैन्य शक्ति र आणविक शक्तिलाई किन विस्तार गर्छ ? आफूले उत्पादन गरेर बिक्री गर्न पाउने, युद्धमा प्रयोग गर्न पाउने अरू देशले प्रतिकारको निम्ति बनाउन नहुने नियम न्यायसङ्गत छैन ।
इरानमाथि अमेरिका र इजरायलीले गरेको संयुक्त सैन्य आक्रमणपछि मध्यपूर्वमा तनावपूर्ण परिस्थिति सिर्जिएको छ । उक्त आक्रमणको कारण मध्यपूर्वका १६ देशका करिब २० लाख नेपालीको सुरक्षा र रोजगारीमाथि खतरा भएको समाचार प्रसारण भएको छ । मध्यपूर्वमा सल्केको यो विध्वंसको आगोले विश्व राजनीतिमा नयाँ धु्रवीकरण र शक्ति सङ्घर्ष चर्काएको छ । तेलको भूमि तथा प्रवासी कामदारको केन्द्रमा उत्पन्न सो सैन्य तनावले तेल आपूर्ति अवरूद्ध हुने, वैदेशिक रोजगारीमा असर पर्ने र हवाई सुरक्षामा जोखिम बढ्नु स्वाभाविक हो । अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण र खाडी मुलुकमा अमेरिकी सैन्य क्याम्पमा इरानले गरेको जवाफी हमलाको कारण नेपालको अन्तर्राष्ट्रिय उडानलगायत मध्यपूर्वमा हुने सम्पूर्ण अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।
अमेरिकाले भेनेजुयलामाथि आक्रमण गरेर राष्ट्रपति माडुरोको अपहरणपछि विश्वले अमेरिकी राष्ट्रपतिलाई अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको जनाएको थियो । विश्वका राष्ट्र प्रमुखहरूले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन नगर्न खबरदारी गर्दा गर्दै अमेरिकी प्रशासनले फेरि इरानमाथि आक्रमण गरेर आफ्नो शक्तिको उन्माद देखाएको छ । अहिले पनि उक्त अमेरिकी आक्रमणको विश्वले निन्दा एवं भत्र्सना गरेको छ । रसियाले अमेरिका र इजरायलको सैन्य कारबाहीलाई गैरजिम्मेवारीपूर्ण भन्दै राजनीतिक समाधान खोज्न आग्रह गरेको छ । इतिहासमा भियतनामदेखि इराकसम्म भएका युद्धबाट पनि अमेरिकाले कुनै गर्व गर्नलायक उदाहरण देखाउन सकेको छैन । तर, पनि क्यानडा, अस्ट्रेलिया र बेलायतजस्ता देशहरू साम्राज्यवादी अमेरिकी सरकारको उक्त बर्बरतापूर्ण कार्यको समर्थन गर्छन् । रूस र चीनले इरानको सार्वभौमिकता, सुरक्षा र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प इरानी सरकार इरानी जनताको हातमा छोड्न दबाब दिँदै छन् । यसरी ट्रम्प अरू देशमाथि हमलामात्र नगरी आन्तरिक द्वन्द्व चर्काउन सहयोग गरी स्वतन्त्र देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने संरा अमेरिकी साम्राज्यवादी कदमको संसारका न्यायप्रेमी जनताले विरोध गर्दै छन् ।
नेपाल सरकारले मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राखी नेपाली नागरिकलाई इजरायल र इरानको भ्रमण तत्काल नगर्न आग्रह गरेको छ । इरानमाथिको आक्रमणबारे संरा सङ्घले बोलेको छैन । विश्वमा शान्तिको उद्घोष गर्नुपर्ने सो सङ्घले हालसम्म टिप्पणी नगर्नुको अर्थ अमेरिकी सो आक्रमणको समर्थन गर्नु हो । संरा सङ्घले अमेरिकीसामु बोल्न नसक्नुको अर्थ झुक्नु हो, कठपुतली बन्नु हो । विश्वको न्याय र शान्तिको निम्ति बोल्नुपर्ने संरा सङ्घले आफ्नो कर्तव्य इमानदारीपूर्वक निर्वाह गरेको छैन । यो संरा सङ्घको कमजोरी हो ।
अमेरिकी आक्रमण र हस्तक्षेपको हद नाघिसकेको छ । अमेरिकी आक्रमण, हस्तक्षेप र दमनको विरूद्ध अमेरिकी जनता उठ्नुपर्छ† अमेरिकी जनताले अमेरिकी प्रशासनको निन्दा गर्नुपर्छ । अमेरिकी जनताले साम्राज्यवादी नीतिको विरोध मात्र होइन अन्त्य गर्न एकजुट हुनुपर्छ । नत्र संसारबाट विश्वका जनता सुरक्षित हुने छैनन्, शान्तिपूर्वक जीवन जो हो गर्न पाउने छैनन् । अतः संसारका साम्राज्यवादी सबै देशलाई एक्ल्याउनुपर्छ† एक्ल्याउन विश्वका जनता एकगठ हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *