भर्खरै :

कवि र कविताबारे

कवि र कविताबारे

भाषाको विकास हुनुभन्दा पहिले मानिसले आ–आफ्ना मनको भावना हाउभाउ र सङ्केतबाट आपसमा अभिव्यक्त गरे होलान् । नदी–नाला, छाँगा र झरना, पशुपन्छीको गर्जन–तर्जन, झरझर एवम् चिंचिं र चुइँचुइँजस्ता स्वरहरूलाई सुसेल्न सिके होलान् । पहाड–पर्वतमा चढ्दै गर्दा प्राकृतिक चौतारीमा खुइया र स्याँस्याँ गर्दै बतासले जस्तै सुसेलेका होलान् । यसरी नै गीत र लय गुनगुनाउन सिके होलान् । भाषामा हुँदै गरेको विकाससँगै विस्तारै मनको भावना र दुःख–सुखका विषयमा गीतबाट अभिव्यक्ति दिन सिके होलान् । यसरी प्रकृति र परिश्रमले मानिसलाई सुसेली र लयबाटै गीत गाउन सिकायो होला । संसारका सबैजसो साहित्यमा गद्य साहित्त्न्दा पहिले पद्य साहित्यको विकास भएको धेरै उदाहरण पाइन्छ । यहाँ ‘पद्य साहित्य’ को भनेर छन्दबद्धलाई मात्र होइन नेपालका झ्याउरे र नेवारी (नेपाल) भाषाका ‘गाइचा म्ये’ गीत र अन्य प्राचीन लयबद्ध वार्तालापलाई समेत लिनु आवश्यक छ । यसको एउटा उदाहरण हो नेपाल र भारतको मिथला क्षेत्रमा झगडा गर्दा समेत मैथिल महिलाको प्रश्न–उत्तरमा सुनिने लयबद्धता । सुख–दुःखको बेला पनि त्यस क्षेत्रमा गीतबाटै मनका कुरा कहन्छन् ।
चराचुरुङ्गीहरूकै चिरबिरले मानिसलाई गीत गाउन प्रेरित गरेजस्तै ठुलठुला चराहरूको उडान र लामो समयसम्म तिनले आकाशमा कावा खाइरहेको देख्दा मानिसलाई पनि आफू उड्ने कल्पना गर्न प्रेरित गर्दो होला । अन्धकार रातमा टिम्टिमाउने ताराहरूले मानिसलाई आकाशबारे जान्न–बुझ्न जिज्ञासु बनाए होलान् । चन्द्रमा, पूर्णिमाको रात र चन्द्रकलाहरूले पनि प्राकृतिक सौन्दर्यबारे थप जिज्ञासु बनाउँदै लगे होलान् । उल्कापातले मानिसलाई झन् पछि बढी थाहा पाउन उत्साहित बनायो होला । संसारका सबैजसो भाषामा प्राचीन समयमा पनि आकाशबारे धेरै आश्चर्यजनक कथा र साहित्य देखिन्छ र सुनिन्छ ।

सामूहिक जीवन र परिश्रम, यात्रा, भेटघाट, छलफलले मानव समाजलाई सभ्यताको चरणमा पु¥यायो† सामूहिक छलफल र परिश्रमबाट मानिसमा अन्य समूह तथा समाजको ज्ञान एवम् कौशलको पारस्परिक जानकारी बढ्दै जानु स्वाभाविक थियो । कौशलले मानिसलाई आविष्कारको सङ्घारमा पु¥यायो ।
पशुपालनबाट कृषि (खेतीपाती) को चरणमा पुग्दा सिकार गर्ने कठोर र अनिश्चित जीवनबाट मानिसले मुक्ति पाए । घुमन्ते जीवनबाट स्थायी बसोबासको चरणमा मानिस पुग्यो । पशुपालनकै सिलसिलामा अनेक जातजाति र भाषाभाषीहरूले पशुपन्छीको नाचगान सिके होलान् । कुकुर नाच, घोडा नाच, सिंह नाच, भालु नाच, बाँदर नाचलगायत नाचहरू आज पनि विभिन्न देशका जनतामा प्रचलित छन् ।
पशुपन्छीको नाचगानपछि मानव विकासमा सामूहिक जीवनमा देखिने र सुनिने गीत, नाटक, कथा र ‘घेन्ताङघिसी’ जस्ता प्रदर्शनहरू पनि सुरु भए होलान् । त्यस बेलादेखि कुस्ती, वाण हान्ने, दौड र अन्य खेलका प्रतिस्पर्धाहरू पनि चालु भए होलान् । यसको स्वरूप आज अन्तर्राष्ट्रिय खेलकुद प्रतिस्पर्धाको रूपमा विद्यमान छ – एक सांस्कृतिक विधाको रूपमा ।
भाषाको विकाससँगै साहित्यको विकास भयो । गीत, सङ्गीत, नाटक, कथा, कविता (काव्य) र महाकाव्यहरू लेखिए । सबैजसो सम्पन्न भाषा र साहित्यका शास्त्रीय युगबारे हरेक विश्वविद्यालयमा अध्ययन हुन्छ । तर, पुँजीवादको विकाससँगै समय र श्रम महँगो हुँदै गयो र सयौँ पृष्ठको उपन्यासको ठाउँमा कम पृष्ठका उपन्यासहरू लेखिए; लामा लामा कथाको ठाउँमा स–साना कथा वा लघुकथाहरू लेखिए । समयअनुसार महाकाव्यहरूको ठाउँमा पनि खण्डकाव्यहरू लेखिए । मुक्तक, हाइकुजस्ता कम समयमै मर्म छुने कविताहरू लेखिंदै गए । विविध छन्दबद्ध, मात्रिक छन्द र ’रबर’ छन्दका व्यङ्ग्य कविताहरू लेखिए ।

कविताले पनि पानीको रूप लियो । जुन भाँडोमा राख्यो पानीले त्यहीँ भाँडोकै आकार र रङ्ग लिएजस्तै कविताले पनि आज समय र परिवेश अनुसारका भाषा र फरक ढङ्गका कविताहरू देखिए । पञ्चायतकालमा नेपालभाषा अर्थात् नेवारी भाषामा ‘फल्चाय् बाछा’ (पाटीको राजा), ‘ए बुद्ध हाकनं छक जन्म का वा’ (बुद्ध एकचोटि तिमी फेरि जन्म लिन आऊ) जस्ता ‘गणतन्त्र’ का पक्षपाती र राजनीतिक उथलपुथल ल्याउने कविताहरू लेखिए । त्यही बेलामा नेपाली कविता र साहित्यमा त्यो आँधीबेहरी थिएन ।
नेपालका पुराना विचारका लेखक, कवि र कलाकारमध्ये कतिपय ‘राजनीति’ शब्द सुन्दैमा मन नपराउनेहरू छन् । तर, आश्चर्य के लाग्छ भने ‘रामायण’ र ‘महाभारत’ आफै राजनीति, कूटनीति, सङ्घर्ष र लडाइँले भरिपूर्ण छन् । सबैजसो पुराना कथा र पुराणहरू राजा–महाराजा र दासमालिक एवम् सामन्तहरूसँग सम्बन्धित छन् ।
दास युगका सबैजसो साहित्य कि त श्रृङ्गार रसका छन् कि त शासक र दासमालिकहरूकै बयानले भरिएका हुन्छन् – कविता होऊन् या कथाहरू । त्यस्तै, अङ्ग्रेजी होस् वा फ्रान्सेली, ग्रिसेली हुन् वा ल्याटिनी सबै भाषाका साहित्यमा त्यो बेलाको समाजकै छाप देखिएको हुन्छ । ‘बेन राजाको वध’ लाई कतैकतै फकिरहरूको विद्रोहको रूपमा लिएको देखिन्छ । सारमा त्यो घटनामा दासहरूको विद्रोहमा राजा मारिएका थिए । त्यसकारण, मनुस्मृतिमा समेत मालिक र शासकहरूको विरोधमा बोल्नेको जिब्रो काट्ने वा थुत्ने, विद्रोह वा रिसले मालिकलाई हेरेमा आँखा फोरिदिने तथा मालिकहरूको विरोध गरे वा बैठकमा भाग लिएमा कानमा उम्लेको तेल खन्याउनेजस्ता सजाय तोकिएको थियो । यो दमनबाट त्यसबेलाको क्रुरतापूर्ण शासनबारे थाहा हुन्छ ।
पुँजीवादी अर्थशास्त्रका पिता वा बेलायती लेखक एडम स्मीथले आफ्नो पुस्तक ‘राष्ट्रको धन’ मा लेखे – “मालिकको परिवार दासहरूसँग केही दिनको यात्रामा गए के त्यो परिवार जिउँदै फर्किन सक्ला ?” त्यसबेलाको वर्गसङ्घर्षको एक दृश्य हो त्यो । त्यस्तै, ‘स्पार्टाकस आन्दोलन’ लाई ग्रीस र रोमको दास विद्रोह र दमनको रूपमा हेरिन्छ, जसमा दास विद्रोहका नेताहरूलाई यशुलाई झुन्ड्याए जस्तै हात–खुट्टा र जिउलाई काठको दायाँबायाँ र तल क्रसमा बाँधेर किल्ला ठोकी मारेका थिए । सडकको दुवैतिर अनेकौँ खम्बामा त्यसरी झुन्ड्याउँदा ती विद्रोहीहरूले नमरुन्जेल दास मालिक र दास व्यवस्थाको विरोध गरेका थिए; तिनलाई सराप्दै र अर्को जन्ममा पनि दास व्यवस्थाको विरोधमा लड्ने घोषणा गर्दै तिनीहरू सहिद भए । पूर्वेली साहित्यमा ‘ईश्वर छैन’ र ‘स्वर्ग पनि छैन’ भन्ने चार्वाक, कपिलजस्ता भौतिकवादी दार्शनिक वा ऋषिहरूलाई सजाय गरेको पढ्न पाइन्छ । ‘ईश्वर’ र ‘स्वर्ग’ को अस्तित्व अस्वीकार गरेको हुनाले तिनीहरूलाई ‘नास्तिक’ र ब्राह्मणद्वेषी र धर्मद्वेषीको रूपमा शासकहरूले सजाय दिन्थे ।
पश्चिमी संसारमा पनि त्यसको सिलसिला भेटिन्छ । बेलायती साम्राज्यवाद र उपनिवेशवादको विरोधमा सन् १८५१ मा प्रकाशित ‘नयाँ संसार’ पुस्तकको भूमिकामा रबिन्सले लेखे – “बेलायतले आज आफ्नो रोटी जुटाउन अरूको रोटी खोस्दै छ । आज हामीले लाठी चलाएर रोटी त लुटौँला तर एकदिन हामी पनि कमजोर हुनेछौँ; त्यसबेला हामीले अरू राष्ट्रसँग रोटी माग्नुपर्नेछ । त्यो दिन हामीले विगतमा तिनीहरूलाई तोपले हानेको सम्झेर तिनीहरूले हामीतिर पनि त्यही तोप फर्काउने छन् । एकातिर हामी विदेशतिर फैलिँदै छौँ तर अर्कोतिर हामी आफै देशको जग भत्काउँदै छौँ ।”
त्यो बेला बेलायत, फ्रान्सलगायत युरोपका अन्य देशमा पनि मजदुर आन्दोलन बढ्दै थियो ।
त्योभन्दा पहिले अङ्ग्रेजी कवि र नाटककार शेक्सपियरले ‘लुटको फल’ बारे भनेका थिए–
“बेलायतको अरूलाई लुट्ने बानी छ
एक दिन बिनालज्जा आफै लुटिनेछ ।”
बेलायती रोमानी कवि वाइरनले ‘मैले लगाएको काँडा’ मा लेखे –
“यो काँडा हो
जसलाई मैले आफैले
रोपेको थिएँ,
त्यसले आज मलाई
जताततै घाउ पा¥यो
रगताम्य बनायो !
पहिले नै सोच्नुपर्ने थियो
मैले यो कुरा
जे बिउ छर्छौँ
त्यही फल पाउनेछौँ ।”
हो त, लेखक र कविहरूले आफ्नै समयमा देखेका अन्याय र अनुभव गरेका विषय लेख र कवितामा अभिव्यक्त गर्छन् ।
हरेक देशको साहित्यमा पनि राज्य र राजनीतिको गाढा प्रभाव परेको देखिन्छ । संस्कृत र अन्य स्थानीय भाषाहरूको बाहुल्य भएको भारतीय उपमहादेशमा मुगल शासनमा फारसी र उर्दू भाषा र साहित्यले प्रभाव पार्यो र आजसम्म पनि त्यसको छाप प्रस्ट देखिन्छ । बेलायती उपनिवेशवादको २०० वर्षको शासनमा परेको अङ्ग्रेजी भाषा र साहित्यको प्रभाव आजसम्म भारतीय विश्वविद्यालयहरूमा व्याप्त छ । ती शासकहरूकै पक्ष र विपक्षमा पनि लेखक, कवि र कलाकारहरूले रचना लेखे† त्यो सिलसिला आज पनि भारतमा चालू छ ।
कवि र लेखकहरू विभिन्न जातजाति र भाषाभाषीमा मात्र विभाजित छैनन्; अनेक राजनीतिक विचार एवम् सिद्धान्तबाट प्रभावित हुने मात्र होइन खुलेरै पक्ष लिनेहरू पनि छन्; तिनीहरूले साहित्यमा निश्चित आदर्श समाजको पक्षमा बोल्छन् । अनेक पेसा, अध्ययन र ठाउँअनुसार कविताको शैली, सन्देश र आग्रहसमेत प्रस्ट देखिन्छ । देश र संसारमा घटेका हरेक घटनाको छाप विभिन्न विचारका साहित्यकारहरूमा फरक–फरक ढङ्गले पर्नु स्वाभाविक हो । सोअनुसार फरक–फरक मत कवितालगायत साहित्यका सबै विधामा लागू हुन्छ ।
हरेक साहित्यमा ईश्वरको भक्ति गीत र राजा–महाराजाहरूको भजनबाट सुरु भएका कविता र महाकाव्यहरूको उद्देश्य एवम् नियममा व्यावहारिकरूपले नै उथलपुथल भएका छन् । छन्दको ठाउँमा गद्य कविता देखिए; महाकाव्यमा देवता वा राजा–महाराजाको ठाउँमा साधारण जनताका छोराछोरी मूल पात्र बनेको देखियो (देवकोटाको सुलोचना महाकाव्य) । कति उपन्यासहरूमा गरिबका छोराछोरीहरू मूल पात्रमा देखिए (गोर्कीको ‘आमा’ उपन्यास) । यसको अर्थ हो साहित्य क्षेत्रमा आएको परिवर्तन । कविको पनि पेसा र वर्ग हुन्छ; सो अनुसारको छाप उनको कवितामा पर्नु अत्यन्त स्वाभाविक छ । एकै विषय र घटनाबारे लेखिएका एकै समयका दुई कविका कवितामा दुई फरक शैली र दृष्टिकोण देखिन्छ । समाजमा बारम्बार लवाइ–खवाइ वा फेसनका हेरफेर आए जस्तै कविताको शैली, आग्रह र दृष्टिकोणमा पनि बरोबर परिवर्तनको प्रभाव परिरहनेछ । नेपाली कवितामा जापानी हाइकुको छाप देखिए जस्तै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *