भर्खरै :

परीक्षा र चुनावमा समानता

परीक्षा र चुनावमा समानता

के परीक्षा र चुनाव एउटै हुन् ? कसैले हठात् यो प्रश्न ग¥यो भने हामीले उत्तर दिन केही बेर सोच्नुपर्ने हुन्छ । एकैछिन सोचेपछि के थाहा हुन्छ भने, एकातिर परीक्षा हलमा धेरै विद्यार्थीहरू उत्तरहरू चोरेर, नक्कल गरेर उत्तीर्ण हुने दौडमा देखिन्छन् भने अर्कातिर चुनावी मैदानमा उम्मेदवारहरू झूटा बाचा गरेर, भोज खुवाएर, पैसा बाँडेर जित हासिल गर्ने प्रयासमा हुन्छन् । यी दुवै घटनाले हाम्रो सामाजिक मूल्य र नैतिकताको अवस्था उजागर गर्छन् । सतहमा हेर्दा यी दुई फरक क्षेत्र हुन्, तर गहिराइमा गएर हेर्ने हो भने यी एउटै मानवीय प्रवृत्तिका दुई अनुहार हुन् भनेमा खासै अत्युक्ति नहोला ।

परीक्षा भनेको विद्यार्थीको ज्ञान, समझ र क्षमताको मापन हो । तर, आज धेरै विद्यार्थीले यसलाई प्रमाणपत्र प्राप्त गर्ने एउटा माध्यम मात्र ठानेका छन् । उनीहरू ज्ञानभन्दा पनि नम्बरलाई बढी महत्व दिन्छन् । नेपालमा मात्र होइन, विश्वभर नै परीक्षामा चोरी गर्ने प्रवृत्ति बढ्दो छ । यसले के देखाउँछ भने, विद्यार्थीहरूले शिक्षाको वास्तविक उद्देश्य बिर्सिएका छन् । यसबारेमा उनीहरूलाई बुझाउन पनि सकिएको छैन । उनीहरू सिकाइको आनन्दभन्दा पनि प्रमाणपत्रको मोहमा चोरी गर्न बाध्य भएको देख्दा, कहिलेकाहीँ त शिक्षा प्रणालीप्रति नै दिक्क लागेर आउँछ ।परीक्षामा चोरी गर्ने विद्यार्थीहरूले आफैलाई ठगिरहेका हुन्छन् । उनीहरूले प्रमाणपत्र त पाउँछन् तर त्यसबाट ज्ञान र सीप पाउँदैनन् । जब उनीहरू वास्तविक जीवनमा त्यो ज्ञान प्रयोग गर्नुपर्ने अवस्था आउँछ, तब उनीहरू असफल हुन्छन् । यसले उनीहरूको आत्मविश्वासमा कमी ल्याउँछ र उनीहरूले अझ बढी चोरी गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । यो एउटा दुष्चक्र जस्तै बनेको छ, जहाँ एउटा चोरीले अर्को चोरी निम्त्याउँछ र अन्ततः उनीहरू आफैंभित्रको क्षमतासँग अपरिचित रहन्छन् ।

चुनाव लोकतन्त्रको आधारस्तम्भ हो । यसमा जनताले आफ्नो प्रतिनिधि चुन्ने अधिकार प्रयोग गर्छन् । तर, हाम्रो चुनावी राजनीतिमा प्रायः झूट, प्रलोभन र अपराधको बोलवाला देखिन्छ । उम्मेदवारहरूले चुनाव जित्नको लागि जे पनि गर्न तयार हुन्छन् । झूटा बाचा गर्ने, भोज खुवाउने, पैसा बाँड्ने, डर त्रास देखाउने जस्ता क्रियाकलाप चुनावी मैदानमा सामान्यजस्तै भएका छन् । उम्मेदवारहरूले विकासको नारा लगाउँछन् तर जितेपछि ती नारा बिर्सन्छन् । उनीहरूले जनतालाई प्रयोग गर्ने माध्यम मात्र ठान्छन्, जिम्मेवारी होइन । यसले गर्दा जनतामा राजनीतिप्रति वितृष्णा पैदा हुन्छ । असल उम्मेदवारहरूले पनि चुनाव जित्नको लागि यिनै बाटोहरू रोज्नुपर्ने बाध्यता आउँछ, नत्र उनीहरू पराजित हुने डर हुन्छ । यसरी असलहरू पनि बाध्य भएर बाटो बिराउनुपर्ने अवस्था सिर्जना भएको छ ।

परीक्षा र चुनावबिच धेरै समानता छन् । दुवैमा सफलता पाउनको लागि प्रतिस्पर्धा गर्नुपर्छ । दुवैमा केही मानिसहरूले सफलता पाउँछन् भने केही असफल हुन्छन् । दुवैमा सही बाटो छोडेर गलत बाटो रोज्ने प्रवृत्ति बढ्दो छ । दुवैमा छोटो बाटो रोजेर सफलता हासिल गर्न खोजिन्छ । परीक्षामा चोरी गर्ने विद्यार्थी र चुनावमा झूट बोल्ने नेताबिच कुनै फरक छैन । दुवैले आफ्नो लक्ष्य प्राप्तिको लागि अनैतिक बाटो रोजेका हुन्छन् । फरक यत्ति मात्र छ कि एउटाले किताबको पानाबाट चोर्छ भने अर्कोले जनताको मनबाट । एउटाले गलत उत्तर लेख्छ भने अर्कोले गलत बाचा बोल्छ ।

यस्ता प्रवृत्तिहरूले समाजमा गहिरो असर पार्छन् । परीक्षामा चोरी गरेर पास भएका विद्यार्थीहरू भविष्यमा असल नागरिक, असल इन्जिनियर, असल डाक्टर, असल शिक्षक बन्न सक्दैनन् । उनीहरूसँग प्रमाणपत्रअनुसारको आवश्यक ज्ञान र सीप हुँदैन । यसले गर्दा समाजले गुणस्तरीय सेवा पाउन सक्दैन । एउटा डाक्टरले गलत उपचार गर्न सक्छ, एउटा इन्जिनियरले कमजोर पुल बनाउन सक्छ, एउटा शिक्षकले गलत ज्ञान दिन सक्छ । यसले देशको विकासमा बाधा पु¥याउँछ र मानवीय क्षतिसमेत हुनसक्छ । त्यस्तै, झूट बोलेर, भोज खुवाएर जितेका नेताहरूले जनताको हितमा काम गर्दैनन् । उनीहरू आफ्नो स्वार्थमा मात्र केन्द्रित हुन्छन् । उनीहरूको नेतृत्वमा विकास हुनसक्दैन, भ्रष्टाचार बढ्छ । सडकहरू अधुरै रहन्छन्, विद्यालयहरू भग्नावशेषमा, अस्पतालहरू औषधिविहीन । यसले गर्दा जनताको जीवनस्तर सुध्रिन सक्दैन, देश गरिबी र अशिक्षामा फस्छ ।

यी समस्याहरूको समाधान सजिलो छैन, तर असम्भव पनि छैन । पहिलो कुरा, शिक्षा प्रणालीलाई सुधार गर्न आवश्यक छ । विद्यार्थीहरूलाई नम्बरभन्दा पनि ज्ञानको महत्व बुझाउनुपर्छ । उनीहरूलाई सिकाइको आनन्द र उपयोगिताबारे बुझाउन सक्नुपर्छ । परीक्षामा चोरी गर्ने प्रवृत्तिलाई रोक्नको लागि कडा नियम बनाउनुपर्छ र त्यसलाई प्रभावकारी रूपमा लागू गर्नुपर्छ । साथै, परीक्षा प्रणालीलाई यस्तो बनाउनुपर्छ कि चोरी गर्ने सम्भावना नै नहोस् । रटात्न्दा पनि समझ र विश्लेषणात्मक क्षमता मापन गर्ने प्रश्नहरू सोध्नुपर्छ ।

दोस्रो, राजनीतिमा सुधार आवश्यक छ । चुनावमा हुने गलत क्रियाकलापहरूलाई रोक्नको लागि कानुनलाई कडा बनाउनुपछ  निर्वाचन आयोगलाई थप शक्तिशाली र स्वायत्त बनाउनुपर्छ । मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेर जनतालाई सचेत बनाउनुपर्छ । जनताले पैसा र प्रलोभनमा नफसी योग्य उम्मेदवार छान्न सिक्नुपर्छ । उनीहरूले पाँच वर्षमा एक पटक पाउने यो अधिकारलाई बुद्धिमानीपूर्वक प्रयोग गर्न जान्नुपर्छ । यसका लागि सञ्चार माध्यम र नागरिक समाजले पनि सक्रिय भूमिका खेल्नुपर्छ ।

तेस्रो, नैतिक शिक्षालाई जोड दिनुपर्छ । घर र विद्यालयमा बालबालिकालाई सानैदेखि नैतिक मूल्य सिकाउनुपर्छ । उनीहरूलाई सही र गलतबिचको भिन्नता बुझाउनुपर्छ । आफ्नो लक्ष्य प्राप्तिको लागि सही बाटो रोज्न सिकाउनुपर्छ । सानै उमेरमा रोपिएको नैतिक बीउ भविष्यमा गएर ठुलो रुख बन्छ । यसले उनीहरूलाई मात्र होइन, समग्र समाजलाई नै दिशा दिन्छ ।

अन्त्यमा, परीक्षा र चुनाव एउटै सिक्काका दुई पाटा हुन् । यदि परीक्षामा चोरी गर्ने प्रवृत्ति रोकियो भने भविष्यमा असल नागरिक पाउन सकिन्छ । यदि चुनावमा झूट र प्रलोभन रोकियो भने असल नेतृत्व पाउन सकिन्छ । यी दुवैले देश र समाजको भविष्य निर्धारण गर्छन् । त्यसैले, यी समस्याहरूको समाधानको लागि हामी सबैले मिलेर प्रयास गर्नुपर्छ । किनभने, यी दुई क्षेत्रले नै हाम्रो समाजको दिशा तय गर्छन् । यदि हामीले सुधार चाहन्छौँ भने यिनै ठाउँबाट सुरु गर्नुपर्छ । एउटा सभ्य, नैतिक र विकसित समाजको निर्माणको लागि परीक्षा हलदेखि चुनावी मैदानसम्म इमानदारी र सदाचारको पाठ बोकेर हिँड्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *