भर्खरै :

पठन संस्कृति : पुस्तकप्रतिको दृष्टि र पाठकको पहिचान

पठन संस्कृति : पुस्तकप्रतिको दृष्टि र पाठकको पहिचान

अक्षरहरूको संसार साँच्चै अनौठो हुन्छ । कसैका लागि ती केवल काला धब्बाहरू हुन्, तर कसैका लागि जीवन बदल्ने उज्यालोका स्रोत । ज्ञानको अथाह भण्डार मानिने पुस्तक र त्यसलाई ग्रहण गर्ने मानिसबिचको सम्बन्धले नै समाजको बौद्धिक धरातल निर्धारण गर्छ । तर विडम्बना के छ भने, पुस्तक हातमा लिने सबै व्यक्ति ‘पाठक’ हुँदैनन् । साँचो पाठक र केवल देखावटी रूपमा पुस्तक समात्ने व्यक्तिबिचको भिन्नता उनीहरूको व्यवहार, चिन्तन र पुस्तकप्रतिको दृष्टिकोणबाट प्रस्टै छुट्टिन्छ । पठन केवल आँखाले अक्षरहरू स्क्यान गर्ने प्रक्रिया होइन† यो त लेखकको मस्तिष्कसँग पाठकको हृदयले गर्ने मौन संवाद हो ।
सच्चा पाठकको पहिचान उसको अध्ययनको गहिराइ र पुस्तकप्रतिको संवेदनशीलताबाट झल्किन्छ । पढ्ने मानिस किताब भनेपछि मरिमेट्छ । नयाँ किताब आएको खबर सुन्नासाथ ऊ टाढाटाढासम्म पुगेर भए पनि किन्न खोज्छ । पुस्तक पसल उसका लागि कुनै साधारण व्यापारिक स्थल होइन, त्यो त ज्ञानको मन्दिरजस्तै पवित्र स्थान हो । आफ्नो कोठा किताबैले सजाउन उसलाई गर्व लाग्छ, किनकि ती किताबहरू उसका लागि सजावट मात्र होइनन्—विचारका साथी, अनुभूतिको दस्ताबेज र आत्मसंवादका माध्यम हुन् । यस्तो पाठक पुस्तक किन्दा केवल कागज किनिरहेको हुँदैन† ऊ भविष्यका सम्भावनाहरू र आफ्नै चेतनाको विस्तार किनिरहेको हुन्छ ।
जब एउटा जिज्ञासु पाठकले पुस्तक पढ्न सुरु गर्छ, ऊ त्यसभित्रका पात्र, परिवेश र विचारहरूसँग एकाकार हुन्छ । महत्वपूर्ण हरफहरूमा रेखाङ्कन गर्छ, छेउमा स–साना टिप्पणी लेख्छ, फेरि फर्केर पढ्छ, तुलना गर्छ, प्रश्न उठाउँछ र उत्तर खोज्छ । उसका लागि पढाइ एकपटकको क्रिया होइन† त्यो पुनःपुनः दोहोरिने बौद्धिक यात्रा हो । उसले पुस्तकबाट प्राप्त घतलाग्दा कुरा, नयाँ तथ्य र जीवनदर्शनलाई आफ्ना साथीभाइ र समाजमा उत्साहपूर्वक बाँड्छ । पुस्तक उसका लागि निर्जीव वस्तु होइन† जीवित गुरु वा अभिन्न मित्र हो । त्यसैले ऊ पुस्तकका पानाहरू खुम्च्याउँदैन, जथाभावी कोर्दैन र सधैँ नयाँजस्तै जतन गरेर राख्छ । पुस्तकको सुगन्ध, कभरको स्पर्श र अक्षरहरूको अनुशासनप्रति उसमा गहिरो आत्मीयता हुन्छ ।
यसको ठीक विपरीत, ‘नपढ्ने’ वा पठनको मर्म नबुझेका व्यक्तिहरूको व्यवहार सतही र विरक्तलाग्दो हुन्छ । उनीहरू कुनै नयाँ किताब भेटे भने सुरुदेखि अन्तिमसम्मका पाना पल्टाएर एकैछिनमा पढिसक्छन् । कतिलाई रामायण कसले लेख्यो, महाभारत भनेको के हो, गीता किन पढ्नुपर्छ भन्ने कुरा थाहा छैन । कसैको घरमा दराजमा किताब मिलाएर राखेको देखे भने उनीहरूलाई अनौठो लाग्छ । “यत्रा किताब किन ?”, “कहिले कहिले किनेको ?”, “यदि सबै किनेकै हुन् त ?” उनीहरू अनेक प्रश्न गर्दै आश्चर्य प्रकट गर्छन् । उनीहरूका विचारमा पुस्तक दराजको शोभा बढाउने सजावटको वस्तु वा समय काट्ने साधन मात्र हो । गम्भीर विमर्शभन्दा पनि हलुका मनोरञ्जन, सनसनीपूर्ण समाचार वा क्षणिक आकर्षणतर्फ उनीहरूको ध्यान बढी जान्छ । धैर्यको अभावले गर्दा पुस्तकका गहिरा अंशहरूमा मनन गर्नको साटो केवल पाना पल्टाएर ‘सिध्याउने’ हतारो देखिन्छ । पुस्तकको कुनो दोबार्नु, कभर च्यात्नु वा जथाभावी फालिदिनु– उनीहरूका लागि सामान्य कुरा हुन् ।
अर्काको पुस्तक मागेर पढ्ने प्रसङ्गमा त यी दुई वर्गबिचको अन्तर झन् स्पष्ट देखिन्छ । सुसंस्कृत पाठकले कसैको पुस्तक माग्दा त्यसलाई आफ्नो सम्पत्तिभन्दा बढी जतन गर्छ । उसले सुरक्षित राख्छ, सफा राख्छ र काम सकिएपछि सम्मानका साथ फिर्ता गर्छ । यो व्यवहार शिष्टाचार मात्र होइन† पठन संस्कृतिप्रतिको इमानदारी र नैतिकताको द्योतक पनि हो । तर, पठनको महत्व नबुझ्ने व्यक्तिले पुस्तक मागेर लगेपछि फिर्ता गर्ने जिम्मेवारी नै बिर्सिन्छ । कतै हराउँछ, अलपत्र छाड्छ वा वर्षौंसम्म थन्क्याएर राख्छ । यसले वास्तविक पाठक र पुस्तकबिचको सम्बन्ध टुटाउँछ र समाजमा पुस्तक आदानप्रदान गर्ने सुन्दर परम्परालाई कमजोर बनाउँछ ।
वास्तवमा, पढ्नु भनेको सूचनाको थुप्रो जम्मा गर्नु मात्र होइन† यो संस्कार निर्माण र चेतनाको विस्तारको प्रक्रिया हो । असल पाठकले पुस्तकभित्रका विचारलाई आफ्नो जीवनको ऐना बनाउँछ । उसले पढेको कुरा व्यवहारमा उतार्न खोज्छ, आफ्ना कमजोरीहरू चिन्न सिक्छ र परिवर्तनतर्फ अग्रसर हुन्छ । पुस्तकप्रतिको स्नेहले मानिसलाई विनम्र, जिज्ञासु र संवेदनशील बनाउँछ । पुस्तकसँगको निकटताले नै आत्मालोचनाको बानी बसाल्छ । यदि हामी पुस्तकलाई साथी ठान्दैनौँ, त्यसको जतन गर्दैनौँ र सारतत्वलाई आत्मसात् गर्दैनौँ भने जतिसुकै डिग्रीधारी भए पनि ‘नपढ्ने’ समुदायमै गनिन्छौँ ।
अन्ततः, पठन संस्कृतिलाई जीवित राख्न पुस्तकप्रतिको हाम्रो दृष्टिकोण बदल्न आवश्यक छ । पुस्तकहरू केवल कागजका पानाहरू होइनन् † ती मानव सभ्यताका अनुभव, सङ्घर्ष र उपलब्धिका सञ्चित कोष हुन् । जसले पुस्तकलाई प्रेम गर्छ, उसले नै संसारलाई बुझ्ने साँचो दृष्टि प्राप्त गर्छ । पढ्ने मानिस किताब भनेपछि मरिमेट्छ, किनकि उसलाई थाहा हुन्छ—अक्षरभित्र भविष्य लुकेको छ । त्यसैले असल पाठक बन्न शब्दहरूको सम्मान गर्न, पुस्तकलाई जीवनको अभिन्न हिस्सा बनाउन र ज्ञानप्रतिको श्रद्धालाई व्यवहारमा उतार्न सिक्नुपर्छ । जुन समाजमा पुस्तक र पाठकबिच यस्तो आत्मीय सम्बन्ध रहन्छ, त्यहाँ विचारको दियो सधैँ प्रज्वलित रहन्छ र चेतनाको उज्यालो कहिल्यै निभ्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *