भर्खरै :

पीडित जनताको अमर गीत !

  • फाल्गुन २९, २०८२
  • न्हुछेरत्न वुद्धाचार्य
  • साहित्य
पीडित जनताको अमर गीत !

गाउँ जनताको गीत यो भोकमा डुबेको पथमा
जहाँ लाखौँ लाख पीडित मानव मरी मरी बाँचिरहेको बस्तीमा

ए वीर शोषितहरू ! ए वीर पीडितहरू !
हाम्रो अगाडि देखिएका अन्यायको विरोध गरौँ
असिना घाम पानी नभनी
माटोमा लडिबुडी काम गरिरहेकाहरूलाई
शोषण र दासताबाट मुक्त गराऔँ !

बिहानीको सूर्य भई कालो बादल हटाई उज्यालो पारौँ
प्रत्येक श्रमजीवीको प्रतिभा र श्रमको योगदान
आफ्नै पौरखले स्वाभिमानी भएर
युगान्तकारी परिवर्तनको लागि जीवन अर्पण गरौँ ।

दुःख कष्ट गरी श्रम गरिरहेकाहरूको
आफ्नो बाहुबलको मेहनतको फल
भक्षकहरूले अन्याय गरी चुसिराखेको
हाम्रो परिश्रम फिर्ता लिन कदम चालौँ ।

आज हामी मर्का, असन्तुष्टि अभावले तड्पिरहेका छौँ
दिन दिनै विकराल समस्याबाट सताइरहेका छन्
हाम्रो स्वाभिमान र स्वतन्त्रता जोगाइराख्न
हामी सबै एकताबद्ध भएर उठौँ ।

यो जनयुगमा राष्ट्र निर्माण गर्न नवजागरण ल्याऔँ
गरिब जनता नै देशको परिवर्तनकर्ता हुन्
प्रत्येक पीडित जनताको आशा भरोसा पूरा गर्न
हामी आफ्नो अधिकारको लागि सङ्घर्ष गरी अघि बढौँ ।

गाऊ जनताको गीत यो भोकमा डुबेको पथमा
जहाँ लाखौँ लाख पीडित मानव मरी मरी बाँचिरहेको बस्तीमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *