म भैल खः हुँ
- बैशाख ४, २०८३
हरेक बिहान उठेदेखि सयौँ पल्ट हेर्ने
तिम्रो त्यो ऐनाको प्रतिबिम्ब झूटो हो ।
तिमीले त कहिल्यै सोचेका पनि थिएनौ
कि ऐनाले कसरी झूटो प्रतिबिम्ब देखाउँछ ।
त्यसैले कहिल्यै प्रश्न पनि गरेनौ त्यो ऐनालाई ।
जीवनभरि त्यहीँ ऐनाले जे जे देखाउन खोज्यो
बस् त्यहीँ सही मान्दै स्वीकारिरह्यौ ।
कहिलेकाहीँ साथीहरूले बुझाउँदा, बुझे जस्तो गर्यौ ।
तर, भोलि बिहान उठेर आफ्नो ऐना हेर्दा,
फेरि उहीँ प्रतिबिम्ब देखिहाल्थ्यौ ।
हिजो लौरोले बेथिति हटाउँछ भनी
तिम्रो ऐनाले देखायो ।
आज घण्टाको सुमधुर स्वर सुनायो,
तर, भोलि पनि तिम्रो ऐनाको प्रतिबिम्बमा
तिमीले त्यहीँ निराशा भेट्टाउनेछौ ।
अनि, सायद बुझ्ने प्रयास गर्नेछौ ।
कहीँ यो ऐनाले पो झूटो प्रतिबिम्ब देखाएको हो कि ?
‘मैले सिमानामा दुल्न जाँदा किनेको त्यो ऐना
सयौँ वर्ष पहिले बेलायतले छोडेको
यो कलात्मक अनि सुन्दर ऐनाले
मलाई वर्षौ ढाँटेको रहेछ ।’
Leave a Reply