नक्कली सत्यको ऋण
- चैत्र २७, २०८२
हास्यव्यङ्ग्य
विवाहको लगन सुरु हुनासाथ हाम्रो समाजमा एउटा यस्तो अनौठो र निसासिँदो सरगरमी बढ्छ, मानौँ कुनै ठुलो युद्धको सैन्य तयारी भइरहेको छ । तर, यो युद्ध सीमा रक्षा वा राष्ट्रिय स्वाभिमानका लागि होइन, छिमेकीको आँखा तिरमिराउने गरी ‘इज्जत’ को झूटो झन्डा गाड्नका लागि हो । विशेषगरी ‘पार्टी प्यालेस’ नामक ती आधुनिक कुरुक्षेत्रहरू अचेल यस्ता थलो बनेका छन्, जहाँ मानिसहरू नव–दम्पतीलाई आशीर्वाद दिन होइन, मेनु कार्डको अनुसन्धान गर्न र क्याटरिङको पनीरमा कति प्रतिशत रबर मिसिएको छ भनेर प्रयोगशाला परीक्षण गर्न पुग्छन् । गेटमा उभिएका दुलहा–दुलहीलाई देख्दा लाग्छ, उनीहरू कुनै अन्तरिक्ष मिसनबाट भर्खरै धर्तीमा ओर्लिएका हुन् । अनुहारमा दलिएको ‘डेढ इन्च’ बाक्लो फाको फाउन्डेसनका कारण आफ्नै काका–काकीले पनि चिन्न नसकेर “ए बाबु, हाम्रो दुलहा कुन चाहिँ हो ?” भनेर सोध्नुपर्ने स्थिति बन्छ ।
‘पार्टी प्यालेस’ संस्कृतिको पहिलो र सबैभन्दा टड्कारो पक्ष भनेको अनावश्यक खर्चको त्यो अभेद्य पहाड हो, जसको फेदमा मध्यमवर्गीय सपनाहरू थिचिएर अकालमै मर्छन् । छोरीको खुसी र भविष्त्न्दा बढी ‘डेकोरेसन’ का प्लास्टिकका फूल र लाइटको चम्काइमा ध्यान दिइन्छ । जीवनभरको कमाइ र अलिअलि भएको पैतृक सम्पत्तिसमेत धितो राखेर एकै रातमा सयौँ मानिसलाई ‘अनलिमिटेड’ सोमरस र चिचीपापाको खोलो बगाउनुलाई उच्च स्तरको इज्जत र बुद्धिमानी ठानिन्छ । यो त एउटा यस्तो अदृश्य र असीमित लगानी हो, जसको ‘रिटर्न’ मा भोलिपल्ट बिहान रित्तो ग्यास सिलिन्डर, जुठो प्लेटको चाङ र बैङ्कको ऋणको किस्तामात्र बाँकी रहन्छ । कसैकसैले भन्लान्, “सहरका यी चिल्ला महलहरूमा गरिने फजुल खर्चले एउटा नवविवाहित जोडीको भविष्यको दरिलो जग बसाल्न सकिन्थ्यो !” तर, हामीलाई त्यस्ता भविष्यका कुरातिर ध्यानै रहँदैन । यहाँ त आजका आजै, एक छाकमात्र भए पनि सयौँ इष्टमित्रलाई अघाउँजी खुवाउनु छ, उनीहरूको वाहवाही लुट्नु छ – चाहे त्यो ऋण तिर्न अर्को दशक परदेशको तातो मरुभूमिमै जानु परोस् वा आफूले आधै पेट खानु परोस् ।
पार्टी प्यालेसको यो प्रहसनमा आर्थिक भार मात्र छैन, यो त एउटा छुट्टै किसिमको ‘फेसन–प्रदर्शनी’ गर्ने थलो पनि भएको छ । त्यहाँ जानका लागि सामान्य पहिरनले पुग्दै पुग्दैन, हुँदै हुँदैन । श्रीमतीलाई नयाँ साडी, श्रीमान्लाई ब्रान्डेड सुट र छोराछोरीलाई अत्याधुनिक ‘डिजाइनर’ पहिरन जुटाउँदा जुटाउँदै एउटा सानोतिनो बजेट त कपडा पसलमै स्वाहा हुन्छ । श्रीमतीलाई गहना, आफ्नो नभए उनकै साथीसँग माग्न लगाएर भए पनि झरिझुट्ट पारेरै पठाउनुप¥यो । (फ्रान्सेली कथाकार मोपासाको हिराको हार कथामा बताइए जस्तै यहाँ पनि लाउनुपर्नेले गहना नलाई गएमा साराको जित र आफ्नो हार भएजस्तो हुन्छ ।) ब्युटी पार्लरमा घण्टौँ बिताएर र हजारौँ सिध्याएर अनुहारमा लगाइएको त्यो ‘पुटिन’ र रङ्गले मान्छे चिन्नै नसकिने गरी कृत्रिम बन्छ । बाहिर निस्कँदा पानी पर्ला कि भन्ने डर, पसिना आएर लाली पाउडर लतपतिएला कि भन्ने चिन्ता, हावा चलेर कपाल बिगारिदिएला कि भन्ने पिर । मानौँ, हामी विवाहको उत्सव होइन, कुनै राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगितामा भाग लिन बडो होसियारीका साथ जाँदै छौँ ।
भोजको रमिता त झन् भोजनस्थलतिर पसेपछि चरमोत्कर्षमा पुग्छ । ‘स्न्याक्स’ मा पुग्दा, ‘निःशुल्क’ को सुरा पाएपछि कसले छोड्ने ? कहिल्यै नपिएकाहरूले पनि चाखेर अभ्यास गर्ने नै भए । पार्टी प्यालेसमा आयोजित भोजमा गएको मान्छे, केही रातोपिरो पनि त हुनुप¥यो नि ! बिस्तारै, मुख बिगार्दै भए पनि लिँदै गएपछि जब नशाले मस्तिष्कको ‘ब्रेक’ फेल गरिदिन्छ, तब सुरु हुन्छ मारुनी र डिस्कोको विचित्र फ्युजन । रक्सीको तालमा नाच्दानाच्दै कतिपय महिलाहरू आफ्नै लामो सारीको फेरोमा अल्झिएर मार्बलको चिप्लो भुइँमा पछारिएको दृश्य देख्नु त अचेल सामान्यजस्तै भइसक्यो । पछारिँदाको शारीरिक पीडा एकातिर भए पनि मेकअप बिग्रिएको र इज्जत गएको पिरले उनीहरूलाई बढी पोल्छ । पुरुषहरूको हालत त झन् दयनीय हुन्छ । ‘फिटिङ’ देखिने लोभमा लगाइएका ती टाइट पाइन्टहरू नाच्दानाच्दै बिचैमा ‘ब्याकफायर’ भएर उध्रिन्छन् । पाइन्ट उध्रिएको पत्तो नपाई ‘कम्मर मर्काई मर्काई’ नाच्ने ती पात्रहरू भोलिपल्ट बिहान सामाजिक सञ्जालमा आफ्नो भिडियो देख्दा लाजले लुक्नुपर्ने स्थिति आउँछ ।
खानाबिना संसारमा कोही पनि बाँच्दैन । ‘पार्टी प्यालेस’ जानु भनेकै खानका लागि हो । तर, यस्तो लाग्छ ः त्यहाँको भान्छामा एकपटक छिर्ने हिम्मत गर्ने हो भने सचेत मान्छेले जीवनभरका लागि उपवास बस्ने निर्णय गर्न सक्छ । पुरीमा लचेप्रै तेलैतेल । तरकारीमा अजिनोमोटोको कडा स्वाद । साग सेलाएर हरियै भइसकेको । मिक्स अचारमा फिक्स स्वाद नै नभएको । पुलाउमा मन भुलाऊँ न भन्दा पनि त्यसको कडापनले खडा उभिन पनि मन नलाग्ने । अर्कैको खटन भएको मटन पनि दाल भएको । रोस्ट चिकेन काँचै । कहिलेकाहीँ लाग्छ – त्यत्तिका परिकार किन पकाएको होला ! सबैको पेट एउटै त हुन्छ । तर, यो कुरा कसले सोच्छ र ! आफ्नो पो एउटा पेट । “पार्टी प्यालेसमा जानु छ, घरमा के खाना पकाइराख्नु” भनेर कतिले त सित्तैमा खान पाइने लोभमा आफ्ना जुम्ल्याहा, बस्र्याउनीका सबै सन्तान डो¥याउँदै, बोक्दै र रुवाउँदै भए पनि लगेका हुन्छन् ।
धेरै खान, घरमा नखाई गएकालाई पालो आउञ्जेल भोकले पेट पोलिसकेको हुन्छ । रातको १०/११ बजे चिसो भइसकेको १४ थोकको खाद्य परिकार भोकको सुरमा ह¥याङहुरुङ खाँदै गर्दा पेट क्रमशः बेलुनमा हावा भरेजस्तो हुन थाल्छ । तर, पनि अन्त्यमा दही, रसभरी, आइसक्रिम पनि छोड्ने कुरै आएन । यसरी भोज खाएर फर्किएका निम्तालुहरू भोलिपल्ट ‘मुड इन्जोइङ’ को बदला ‘फुड पोइजनिङ’ को उपहार बोकेर अस्पतालका बेडहरूमा भेटिन थाल्छन् ।
यसैगरी, विवाहमा देखिने ‘खाम–राजनीति’ र दक्षिणाको बोझले एउटा छुट्टै पीडा सिर्जना गरेको छ । निम्तो कार्ड पाउनु अचेल खुसीको खबर होइन, घरायसी बजेटमा आएको अप्रत्याशित ‘घाटा’ को सूचनाजस्तो भएको छ । दुलहा–दुलहीको निधारमा टीका लगाउनु त बहानामात्र हो, मुख्य ध्येय त त्यो खाममा कति रकम हाल्ने भन्ने नै हुन्छ । खाम तुरुन्तै खोलिने होइन । त्यसैले, खानको लोभी र दिनको लोभी कतिपयले त रित्तो खाम पनि दिन्छन् रे ! कति जना हुलमुलमा यसो पसेर निस्की अरूलाई, पैसा दिएको ठनाउँछन्् । दिनेमध्ये धेरैले सयपचासको नोट दिने हुन् । कोही कोही मनकारीले ५०० को नोट पनि हाल्दा हुन् । नत्र, खाममा नोट हाल्नुभन्दा लोभ गरेर बढी खानेकुरा फाल्नुमा रमाउने नै धेरै पाइन्छन् ।
अन्त्यमा, पार्टी प्यालेसको यो कुरुक्षेत्रबाट जब मानिसहरू युद्ध जितेर फर्किएझैँ बाहिरिन्छन्, तब असली ‘साइड इफेक्ट’ सुरु हुन्छ । घर पुग्नेबित्तिकै श्रीमतीजी ऐना हेरेर रुन थाल्छिन्, “लौ न, त्यो महँगो लाली र पाउडर त पसिनाले बगाएर म त बिरूप पो देखिएकी रहिछु त ¤ कसैले पनि किन नभनेको !” उता श्रीमान्को हालत झन् बेहाल हुन्छ । डान्स गर्दा कम्मर मर्किएर ‘बाथ’ बल्झिएको छ, तर त्योभन्दा बढी पीडा त गोजीमा रहेको पर्सले दिइरहेको हुन्छ, जुन अहिले भोको पेटजस्तै सुकिसकेको छ ।
भोलिपल्ट बिहानको दृश्य झन् रोचक हुन्छ । घरका सबै सदस्य पालैपालो शौचालयको ढोका ढकढक्याउँदै “ए कति बेर लागेको हँ ? मलाई यहाँ इमर्जेन्सी भइसक्यो !” भन्दै छटपटाइरहेका हुन्छन् । अघिल्लो रातको त्यो ‘अखाद्य’ तेल र रङ्गीचङ्गी पनीरले पेटभित्र ‘ताण्डव नृत्य’ सुरु गरिसकेको हुन्छ । यसरी पार्टी प्यालेसको त्यो एक रातको ‘इज्जत’ जोगाउने सङ्घर्षले निम्तालुलाई शौचालयको चक्कर र आयोजकलाई बैङ्कको ‘कालो सूची’ को नजिक पु¥याउँछ ।
त्यसैले साथीहरू, अर्को पटक कसैको विवाहको कार्ड आयो भने ‘खुसी’ हुनुभन्दा पहिले आफ्नो ‘ग्यास्ट्रिक’ को औषधि र बैङ्कको ब्यालेन्स चेक गर्न नबिर्सनुहोला । नत्र, भोजको स्वादले जिब्रो त रमाउला, तर भोलिपल्टको ‘रियाक्सन’ ले जिन्दगी नै ‘ह्याङओभर’ मा पर्न सक्छ । बरु, हरिया मकै उसिनेर टिम्मुर हालेको नुनखोर्सानीसँग खाई हलुका पेटले ढुक्कले सुत्नु नै ‘परम आनन्द’ हो, कम्तीमा अर्को महिनाको रासन त जोगिन्छ !
Leave a Reply