भर्खरै :

‘ग’ को गनगन र गुनासो

‘ग’ को गनगन र गुनासो

क, ख र घ, ङ का ठ्याक्कै बिचमा आउने म ‘ग’ हुँ । कतै अङ्ेजी शब्द र हिन्दी साहित्यमा भुलिएर मलाई भुसुक्कै बिर्सनुभएको त छैन नि ! म नेपाली वर्णंमालाको निकै गज्जबको अक्षर हुँ । मेरो रूप सुधी, गुनी र निर्दोष गाईको गोडाजस्तै छ । त्यसैले म मलाई ‘गाईगोडे ग’ को नाम दिइयो । यो परिचयात्मक नाम मलाई साँच्चै नै मन पनि परेको छ ।
मलाई आफ्नो यो रूपमा कहिल्यै हीनताबोध भएन, बरु गर्व नै लाग्यो किनकि तेस्रो नम्बरमा भए पनि मभित्र ‘गणेश’ को शक्ति छ, ‘गङ्गा’ को पवित्रता छ र ‘गन्तव्य’ को स्पष्टता छ । तर अचेल मलाई एउटा यस्तो रोगले सताएको छ, जसको उपचार कुनै अस्पतालमा छैन, केवल तपाईँहरूको कलम र किबोर्डमा मात्रै छ । मलाई अचम्म लाग्छ, मान्छेहरूले मलाई माया गरेका हुन् कि सिध्याउन खोजेका हुन् ? जहाँ म बोलिन्छु, जहाँ मेरो उच्चारण हुन्छ, त्यहाँ मलाई ठिक्कै छ तर जहाँ मेरो कुनै काम छैन, जहाँ म उच्चारणमा कतै सुनिँदा पनि सुनिदिनँ, त्यहाँ मलाई किन जबरजस्ती खुट्टामा झुन्ड्याएर ‘कुक्रुक्क’ पारिन्छ ? मेरो यो गुनासो सुन्ने फुर्सद कसैलाई छ ? एक मन त लाग्छ, कतै न्यायालयमै मुद्दा हालूँ । तर कतिपय अनुभवीहरू भन्छन् ,“त्यहाँ पनि आजकल दूधको दूध पानीको पानी छुट्याउनेभन्दा पनि दूधलाई पानी र पानीलाई दूध बनाइदिने चलन चलेको छ ।” यस्तो भएपछि जे भए पनि आफैँमा गमक्क परेर बस्नुको बिकल्प के नै छ र !
आजकालको जमानामा अनपढ कोही पनि छैनन् । नजान्ने भन्दा पनि बढ्ता जान्ने छन् । नबुझ्नेभन्दा पनि बढ्ता बुझ्ने छन् । हो, तिनै पढेका र बुझेका भनिएकाहरूले नै मलाई हदैसम्मको सास्ती दिएका छन् । विशेष गरी यो ‘मासिगेडी ङ’ अक्षरको पुच्छरमा मलाई बाँधेर घिसार्ने चलनले मेरो ढाड नै गम्भीर घाइते भैसक्यो । यो देखेर र सम्झिल्याउँदा मलाई शङ्का लाग्छ–“यो ‘ङ’ अक्षरसँग मेरो पूर्व जन्ममै कुनै दुस्मनी थियो कि क्या हो ¤” नत्र, कतै ‘तामाङ’ लेख्नुप¥यो भने ‘तामाङ्ग’ किन लेखिन्छ ? ‘भन्ज्याङ’ लाई किन ‘भन्ज्याङ्ग’ बनाइन्छ ? यता सुन्नुस् त, के तपाईँ कोही तामाङ साथीलाई बोलाउँदा ‘ओ तामाङ–ग’ भन्नुहुन्छ ? अथवा कतै यात्रा गर्दा ‘देउराली भन्ज्याङ–ग’ पुगियो भन्नुहुन्छ ? पक्कै भन्नुहुन्न नि ¤ जब मेरो उच्चारण नै हुँदैन भने मलाई त्यहाँ बिना तलबको ‘सेक्युरिडी’ गार्ड जस्तो किन उभ्याउनुहुन्छ ? त्यसरी झुन्डिएर उभ्भिनुपर्दा मलाई त्यहाँ निसास्सिएर मरूँ जस्तो हुन्छ । मलाई लाग्छ, म कुनै अनावश्यक अतिथि हुँ जो कसैको घरमा पुग्दा ‘किन आयो यो’ भनेर हेला गरिन्छ, तैपनि म त्यहाँ बस्नैपर्ने बाध्यता छ ।
मलाई मपछिको मेरो छिमेकी साथी ‘घरजस्तो घ’ भएर घरैमा बसिरहन फिटिक्कै मन लाग्दैन । यताउता गइरहन मन लाग्छ । खोटाङ, बझाङ, लमजुङ, मुस्ताङ, मनाङ जस्ता सुन्दर ठाउँहरू मलाई औधि मन पर्छ । तर मलाई मन परेर के गर्नु ¤ ती ठाउँतिर जान खोज्यो कि त सबै ठाउँको नामपछाडि जबरजस्ती ‘ङ्ग’ झुन्ड्याइदिहाल्छन् ¤ तैपनि गाह्रो नमानी जान त जान्छु तर आफूलाई आफ्नै जीउ ग¥हौँ भएकोले ठाउँठाउँमा बिसाउँदै हिँड्दा पनि विशेषगरी उकाली ओरालीमा मलाई बढी नै थकाइ लाग्छ ।
नेपाली शब्दको रूपमा प्रयोग हुँदा नै मेरो रूप बिरूप भएको त यहाँहरूले थाहा पाइहाल्नुभयो । अझ यो अङ्ग्रेजी मोहले त मेरो हुर्मत नै लिएको छ । कतै यात्रामा जानुपर्दा बस वा गाडीको सीट पहिले नै ‘बुकिङ’ गर्नुपर्छ । तर, मलाई बिनापत्तामा त्यहाँ राखिदिएर ‘बुकिङ–ग’ बनाइदिन्छन् । ‘ड्राइभिङ’ सिक्ने मान्छेले स्टेयरिङ घुमाउँछ, तर लेख्नेले चाहिँ ‘स्टेयरिङ–ग’ लेखेर मेरो सातो नै घुमाइदिन्छ । कति राम्रो ‘ड्राइभिङ’ भन्दाभन्दै ‘ड्राइभिङ–ग’ रे ¤ यो कुन भाषाको व्याकरण हो ? ‘ट्रेनिङ’, ‘मिटिङ’, ‘बैङ्किङ’, ‘इन्जिनियरिङ’ देखि लिएर ‘भाङ’ र ‘भ¥याङ’ शब्दमा समेत मलाई पछाडि झुन्ड्याएर के पाउनुहुन्छ, हँ ? उच्चारण गर्दा ‘ङ’ को मधुरो नाके स्वर निकाले पुगिहाल्छ, बिरालो कराएजसरी ‘ङ्याउँ’ नै गरिहाल्न त पर्ने होइन नि ¤ तर कलम हातमा भयो भन्दैमा मलाई तपाईँहरू किन जथाभावी भारी बोकाउनुहुन्छ ? इन्जिनियर सा’ बहरूले ठुल्ठुला घरको नक्शा बनाउनुहुन्छ, तर मेरो व्याकरणको घर चाहिँ ‘इन्जिनियरिङ–ग’ बनाएर किन बिगारिदिनुहुन्छ ?
मलाई लाग्छ, मैले गल्ती गरेकै छैन । कसैको पनि केही बिगारेकै छैन । यति हुँदाहुँदै पनि मजस्तो गाईप्राणी अक्षरलाई लोकले अति नै दुःख दियो । अति नै बदनाम ग¥यो । मानौँ, म यस्तो भाइरस हुँ जो जहाँ पायो त्यहीँ टाँसिइरहनु पर्छ । जो आफू छँदै छ तर पनि उसलाई परनिर्भर बनाइँदै छ । अस्तित्वविहीन बनाइँदै छ । हामीलाई थाहा छँदै छ–जसको अस्तित्व हुन्छ उसको अर्थ हुन्छ । जसको अर्थ हुन्छ, उसको कुनै न कुनै चाहना वा इच्छा पनि त हुन्छ । मेरो अस्तित्व र अर्थ भएकोले मेरो पनि आफ्नै इच्छा र चाहना हुनु स्वाभाविकै हो । त्यसैले मलाई ‘गायक’ को स्वरसँगै स्वर मिलाएर गीत गाउन मन लाग्छ, ‘गहुँ’ को बाला बनेर खेतमा झुल्न मन लाग्छ, र ‘गौशाला’ मा बसेर गाईको सेवा गर्न मन लाग्छ । तर, मलाई यी आधुनिक शब्दका खुट्टामा बाँधेर घिसारिरहँदा मेरो ‘गहनता’ र ‘गरिमा’ कुन ‘गर्त’ मा पुग्यो होला, एकपटक कहिल्यै गहिरिएर सोच्नुभएको छ ?
नेपालीमा म ‘गाईगोडे ग’ भनिए पनि मेरो सम्बन्ध र साहिनो अन्य भाषाका ध्वनिसँग पनि भएको हुनुपर्छ । सोच्छु–ठाउँ चिसो होस् वा तातो, मलाई उच्चारण नगरी कसरी भाषामा गरमागरम बहस होला ¤ अङ्ग्रेजी भाषासँग मेरो सम्बन्ध भएको कुरा त मलाई नै थाहा छ, जहाँ मलाई ‘जी’ अक्षरका रूपमा चिनाइन्छ । कतैचाहिँ ‘घ’ उच्चारणका लागि ‘एच’को सहायकका रूपमा पनि मैलाई राखिन्छ । ‘ग्वाटेमाला’ तथा ‘ग्रीस’ का लागि म एक्लै काफी छु तर ‘घाना’ का लागि मैले ‘एच’ को सहारा लिनुपर्ने हुन्छ । तर, जर्मनी र जर्जियासँग मेरो कुनै सम्बन्ध नै छैन । यसरी हेर्दा, मलाई राष्ट्रिय स्तरमा मात्र होइन अन्तर्राष्ट्रिय स्तरमै हेपिएको हो कि भन्ने पनि लाग्छ ।
नेपाली भाषाप्रेमी महानुभावहरूले कहिलेकाहीँ मलाई नेपाली भाषी बढी भएको देशतिर घुमाउन पनि लानुहुन्छ । यस क्रममा मलाई मनपर्ने देश हङकङ होे । तर म त्यस्तो नामी देशमा पनि ‘हङकङ्ग’ भएर जानुपर्दा सा¥है दुःख लाग्छ । कुनै पनि भजन, गीत रेकर्ड गर्नु राम्रो हो । तर त्यस क्रममा तपाईँहरू मलाई ‘रेकर्डिङ्ग’ मा थुन्नुहुन्छ । मलाई त्यहाँ बस्दा कति कष्ट हुन्छ, त्यो मलाई मात्र थाहा छ । मलाई लाग्छ, धेरै जान्ने हुन खोज्दा तपाईँहरूले मलाई ‘गधा’ बनाइरहनुभएको छ । मलाई ‘गम’ बनेर ज्ञानका किताब टाँस्न मन छ, तर यी अनावश्यक शब्दमा टाँसिएर आफ्नो अपमान गराउन मन छैन । के मलाई यो अपमानबाट मुक्ति दिने कोही हुनुहुन्न ? के नेपाली व्याकरणका नियमहरू मलाई अर्काको गोडामा भुन्डिनकै लागि बनाइएका हुन् ? म त यो देशमा ‘गणतन्त्र’ को फल चाख्न चाहन्छु । हरेक विकासमा ‘गति’ दिन चाहन्छु । हरेक संस्कृति र परम्परालाई ‘गुणवान्’ बनाउन चाहन्छु । विदेशी बाजाका सट्टा हाम्रै नेपाली लोकबाजा ‘सारङ्गी’सँग रमाएर गतिलो ‘गाइने’ बन्न चाहन्छु । तर मलाई आफ्नै शुद्ध पारामा गमन गर्न नदिएर ‘इङ्लिस’ को बिचमा समेत ‘इङ्गलिश’ बनाएर किन हुर्मत लिइन्छ ?
मेरो यो गुनासो केवल मेरो मात्र होइन, यो सिङ्गो नेपाली भाषालाई शुद्ध बनाउन चाहने व्याकरणको गुनासो हो । जब म ‘अङ्ग’ मा बस्छु, म खुसी हुन्छु किनकि त्यहाँ म बोलिन्छु । जब म ‘रङ्ग’ मा बस्छु, मलाई रङ्गीन महसुस हुन्छ । तर जब मलाई ‘मार्केटिङ’ वा ‘प्र्रुफ रिडिङ’ को पुच्छरमा झुन्ड्याइन्छ, मलाई लाग्छ म कुनै बेकारको वस्तु हुँ । व्याकरणका पण्डितहरू र भाषाका विद्यार्थीहरूलाई मेरो एउटै बिन्ती छ— मलाई यो अनावश्यक भारीबाट मुक्ति दिनुस् । मलाई खुट्टामा झुन्ड्याएर होइन, शिरमा राखेर मेरो सम्मान गर्नुस् । नत्र, मलाई पनि त रिस उठ्छ अनि म तपाईँहरूका हरेक कामकुराको ‘गति’ नै बिगारिदिन्छु नि !
पहिला पहिला जे जति गल्ती गर्नुभयो गर्नुभयो, अब यो नयाँ वर्षदेखि चाहिँ ‘ग’ लाई सही ठाउँमा मात्र प्रयोग गर्ने कसम खानुस् । मलाई नचाहिँदो ‘गफ’ गर्न मन छैन, मलाई त काम गरेर देखाउनु छ । मेरो यो गुनासो सुनिदिनुभयो भने म तपाईँहरूको ‘गुन’ कहिल्यै बिर्सने छैन । अब त पक्कै मान्नुहोला नि, कि अझै मलाई कतै झुन्ड्याउने सोचमै हुनुहुन्छ ? आइन्दा मेरो सातो नलिनुस् । मलाई दुःख नदिनुस् । मलाई मेरो स्वतन्त्र आकाशमा उड्न दिनुस् र यो व्याकरणको भुलभुलैयाबाट मलाई सदाका लागि बाहिर निकालिदिनुस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *