भर्खरै :

शुभकामना

शुभकामना

२०८२ को एसईई परीक्षा सकाएर शनिबारको दिन मन बहलाउन दुई विद्यालयका साथी राम र अर्जुन सूर्यविनायक घुम्न गए । सूर्यविनायकको दर्शन गरेपछि अगाडिको दुबै मेचमा बसे । दुबैले पूर्वतिर नगरकोट सुन्दर दृश्य नियाले । सुन्दर दृश्य हेरेपछि रामले भने, आहा ¤ कस्तो आनन्द ! लौ हेर, मान्छेले हिजोका अति सुन्दर पहाड अनि जङ्गल विनास र प्लटिङका नाममा आज कुरूप पारे । जग्गा दलालले मालपोत कर्मचारी र जनप्रतिनिधिलाई कति घुस खुवाएर त्यसो बनाए होलान् । जसरी भए पनि धेरै पैसा कमाउन अनि पैसाको लागि मान्छेले आफ्नो आमा बाबु स्वास्नीसमेत बेच्छन् भनेको यसरी नै भएर हो । ल, अब पढाइको कुरा गरौँ । उनले पढाइको विषयमा भने, महाभारतमा अर्जुनले माछाको आँखामा वाण निसाना लगाएजस्तै तिमीले पनि परीक्षामा (ब्ं) मा निसाना लगाउन सकोस् । यही नव वर्ष २०८३ को अवसरमा अग्रीम बधाई एवं शुभकामना ! अनि तिम्रो भविष्यको योजना के छ ? कतै खाडी अमेरिकातिर त उड्ने होइन ?
अर्जुनले पनि रामलाई त्यस्तै बधाई र शुभकामना दिए । साथी रामको जिज्ञासा मेटाउन उनले गम्भीर भएर भने, मेरो त राम्रो पढेर डाक्टर बन्ने योजना छ । तर, घरको आर्थिक अवस्था एकदम नाजुक छ । आमा पार्टी प्यालेसमा जुठो भाडा माझ्न जानुहुन्छ । त्यो पनि कहिलेकाहीँ मात्र हुन्छ । बुबा कुलतमा परेर बिरामी हुनुहुन्छ । म गरिबको छोरोले कसरी डाक्टर पढ्नु खोइ ! ? कमसेकम सरकारले भक्तपुर नगरपालिकालाई १५ लाखमा डाक्टर पढाउन ख्वप विश्वविद्यालय खोल्न दिएको भए नगरपालिका र अरु सहयोगी हातहरूसँग अलिअलि ऋण लिएर भए पनि डाक्टर पढ्ने आस हुन्थ्यो । नत्र मजस्तो थुप्रै भक्तपुरलगायत हिमाल, पहाड, तराईका जनताका छोराछोरीहरू पनि डाक्टर भए होलान् । कहिलेकाहीँ घरको नाजुक अवस्था हेर्दा त तिमीले भनेजस्तो खाडी, अमेरिका उडेजस्तो लाग्छ । तर, एकैछिनमा हामीजस्ता संसारका गरिब देशमाथि प्राकृतिक स्रोत लुट्न, देशभक्त नेताहरूका हत्या गर्न आक्रमण, हस्तक्षेप गर्ने अमेरिकामा म कदापि जान्न, जानैपर्ने भए खाडीतिर जाउँ कि भन्ने विचार पनि आउँछ । त्यसरी विदेश जाँदा हाम्रो देश कसरी बन्छ ? विदेशी आएर हाम्रो देश बनाइदिँदैन क्यारे । त्यसरी बनाइदिएको देश हाम्रो हुँदैन । अफ्रिका, ल्याटिन अमेरिकामा त्यस्तो भयो, भन्छन् । हाम्रो देश बनाउने त हामीजस्ता युवा विद्यार्थीहरूले हो नि, होइन र ? म त विदेश जान्न । देशको माया छ । बरु रुखो भात, रोटी खाएर यहीँ रगत पसिना बगाउँछु । हाम्रा करोडौँ बाध्य पारेर विदेश पठाएका युवा विद्यार्थीले विदेश बनाउँदै छन् । तर हाम्रो देश बनेन । गतिलो देशभक्त सरकारहरू भइदिएको भए पो । सबै कान चिरेका मात्र आउँछन् । हामीले पनि आफ्नो स्वार्थमा यस्तै मान्छे, पार्टीलाई जिताएर पठायौँ नि होइन ?
ल राम तिमीले त अहिले नै हाम्रो देशलाई रामराज्य बनाउने विचार गरेछौ । खुसी लाग्यो । यसको लागि पुनः शुभकामना छ । लौ भोक पनि लाग्यो । तल पसलमा चिया खान जाऊँ भन्दै दुबै गए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *