नैतिक आचरणले सभ्य समाजको पहिचान गर्छ
- बैशाख २६, २०८३
भक्तपुर, २६ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले जबसम्म राजनीतिक दल र नेताहरू इमानदार र देशभक्त हुँदैनन् तबसम्म देश र जनताको हित नहुने बताउनुभएको छ ।
प्रगतिशील कानुन व्यवसायीहरूको सङ्गठन कानुन अध्ययन समाज नेपालको आयोजनामा राष्ट्रिय कानुन दिवसका अवसरमा शनिबार आयोजित कानुनसेवीहरूको बृहत भेटघाट तथा पिकनिक कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष बिजुक्छेँले विगतका सरकारहरू विदेशी सरकारहरूको दबाबमा काम गर्ने गरेको र अहिले सरकार त झन् संरा अमेरिका र भारतसित झुकेर आएको प्रस्ट पार्नुभयो ।
उहाँले देशमा वेस्ट मिनिस्टर शैलीको संसदीय व्यवस्था भएको तर वर्तमान सरकारले चलिरहेको संसद्को अधिवेशन बन्द गरेर अध्यादेशहरू जारी गर्नु संसदीय व्यवस्थाको भावनाविपरीत छ भन्नुभयो ।
संसदीय व्यवस्थामा सदनको सबैभन्दा ठुलो दलले सरकार बनाउने तर दोस्रो ठुलो दल प्रमुख प्रतिपक्षको भूमिकामा रहने तर एमालेले प्रतिपक्षको भूमिका निर्वाह नगरी सरकारमा जाँदा सरकार र सदन प्रभावकारी नभएको र विदेशी चलखेलको अवस्था बनेको बताउनुभयो ।
अमेरिकी साम्राज्यवादको विश्वव्यापी प्रभुत्व निरन्तर खिइँदै गएको र अरब देशहरूमाथि एकछत्र शोषण गर्न खोज्दा र इरानले त्यसको प्रतिकार गर्दा युद्धको स्थिति आएको हो भन्नुभयो ।
उहाँले अमेरिकी साम्राज्यवादले परमाणु बमको त्रास फैलाएर विश्व कब्जा गर्न खोजेको र त्यसैको प्रतिकारमा
अरू देशहरूले पनि परमाणु बम बनाएका हुन् भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले पुँजीवादी व्यवस्थामा सरकार र ऐनकानुनको कुनै स्थिरता नहुने र देशमा सुव्यवस्था नहुने प्रस्ट पार्नुभयो ।
उहाँले उच्च शिक्षा नियोजन गर्ने आजसम्मका सरकारहरूको नीति देश र जनविरोधी छ भन्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कानुन व्यवसायीहरूले कानुनको पालना गर्ने गराउने मात्र नभई जनविरोधी र देशघाती कानुन परिवर्तन गर्न सक्रिय बन्नुपर्छ भन्नुभयो ।
उहाँले कानुन व्यवसायभित्रका विकृति–विसङ्गति र गलत प्रवृत्तिको विरोधमा तथा न्यायालयलाई न्यायको मन्दिर बनाउन सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
अध्यादेशले देश चलाउने सोच प्रजातन्त्रविरोधी र निरङ्कुश सोच भएको उहाँले बताउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सांसद सुरेन्द्रराज गोसाईले कानुन व्यवसायीहरू पनि सही राजनीतिक विचार उद्देश्यले प्रेरित र सक्रिय हुन आवश्यक छ भन्नुभयो ।
निर्वाचित निरङ्कुशताको विरुद्ध सङ्घर्ष गर्न कानुन व्यवसायीलगायत बौद्धिक समुदाय सक्रिय हुनुपर्ने अवस्था देशमा देखिएको प्रस्ट पार्नुभयो ।
संरा अमेरिकाको दादागिरीले अन्तर्राष्ट्रिय राजनीति निकै धमिलिएको र विश्व अशान्ति र हाहाकार भएको उहाँले बताउनुभयो ।
कानुन अध्ययन समाज नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा अधिवक्ताहरू राजु कैती, कमलराज थापा र निरोज वैद्यलगायतले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा ई. अनिल पाउँले कानुन व्यवसायमा एआईको बढ्दो प्रभावबारे प्रस्तुतीकरण राख्नुभएको थियो ।
Leave a Reply