भर्खरै :

भीडमा भेडा बन्ने कि भद्र ?

भीडमा भेडा बन्ने कि भद्र ?

हरेक मानिस यो बहुरङ्गी धर्तीमा रुँदै जन्मिएपछि एउटा सुन्दर, सुसंस्कृत र शान्त समाजको स्वर्णमयी परिकल्पना गर्छ । उसको नैसर्गिक, आन्तरिक र हार्दिक चाहना नै यही हुन्छ – सबैको प्रिय बन्ने, कसैको चित्त नदुखाउने र चोक–चौतारीमा ‘आहा ¤ कति असल मान्छे’ भनिने । आफू, समाजको एउटा रौँ जत्रो सानो एकाइ भए पनि सबैलाई मक्ख पार्न सकियोस् र कसैको आँखामा पनि आफू बिझिने काँडो बन्नु नपरोस् भन्ने खालको सुमधुर र सुकोमल सोच राख्नु स्वाभाविकै हो । अर्काको बेखुस मनमा खुसीको गुलाबी रङ्ग भर्नु र कोही बाटो बिराएर कुमार्गको खाल्डोमा खस्न लागेको छ भने उसलाई समातेर, सुधारेर र सुमार्गमा डो¥याएर ‘पुण्य’ कमाउनु मानवीय कर्तव्य पनि हो । तर, जब मानिस आदर्शको आकाशबाट फुत्त भुइँमा खस्छ र व्यवहारको धरातलमा ओर्लिएर हेर्छ तब यो असल बन्ने गन्तव्य निकै चुनौतीपूर्ण र आत्मघाती जस्तो प्रतीत हुन थाल्छ । सबैलाई खुसी पार्ने ख्याउटे अभिलाषा बोकेर हिँड्दाहिँड्दै मानिस कुन मोडमा पुगेर आफ्नै अस्तित्वको अन्त्येष्टि गर्न पुग्छ, त्यसको पत्तो पाउनै गा¥हो हुन्छ । यो संसार यस्तो विचित्र, विरक्तलाग्दो र बहुआयामिक छ कि यहाँ प्रत्येकका आ–आफ्नै रुचि, आ–आफ्नै आदत र आ–आफ्नै अनौठा अहम् छन् । यस्तो अवस्थामा सबैको प्रिय बन्न खोज्नु भनेको कठिन र कष्टकर विषय बन्न पुग्छ ।
मानव स्वभावको एउटा महा–विरोधाभास के छ भने, हामी अक्सर अरूको नजरमा ‘नम्बर वान’ असल देखिनका लागि आफ्ना मौलिक मूल्य, मान्यता र मर्यादाको कतिबेला बलिदानी दिइरहेका हुन्छौँ, बिचरा आफ्नै मगजलाई थाहा हुँदैन । साथीलाई सुखी र खुसी पार्नका लागि ऊ जस्तै कुरूप बन्नुपर्ने बाध्यता समाजको एउटा विशेष अवस्था हो । यदि कोही परम मित्र जड्याहा छ र उसलाई हजुरको सामीप्य प्रिय लाग्छ भने, उसको मन राख्न र मित्रता जोगाउन यहाँले पनि ‘चियर्स’ भन्दै बियर उठाउनै पर्छ । कोही जुवाडे वा तासको अम्मली छ भने उसको चित्त बुझाउन यहाँले पनि कौडाको खालमा कम्मर कसेर जम्नैपर्छ । अनि कोही चुरोटको धुवाँ उडाएर स्वर्गको अनुभूति गर्ने सोल्टी छ भने उसलाई नचिढ्याउन आफ्नै फोक्सोमा पनि कालो विष भर्न अघि सर्न सक्नुपर्छ । कस्तो विडम्बना ¤ कस्तो विकृति ¤ यदि हामीले तिनका ती आत्मघाती र अस्वस्थ रूचिहरूमा ताली पड्काएनौँ वा आफूलाई अलग राख्यौँ भने सम्बन्धमा तत्कालै अमिलोपन, तितोपन र टर्रोपन आउँछ ।
यो संसार– कतिपय अवस्थामा हावादारी सङ्ख्याको बल, सन्काहाहरूको सहकार्य र बहुमतको बबण्डर पनि चल्दो रहेछ जहाँ सत्य, सदाचार र न्याय कहिलेकाहीँ अल्पमतको अँध्यारो कोठामा निसासिएर ‘ऐया–ऐया’ भन्दै बस्न बाध्य हुन्छन् । खानपानकै कुरा कोट्याउने हो भने पनि, कोही मानिस करुणा र अहिंसाको बाटो रोज्दै सात्विक शाकाहारी बन्छ । तर, यदि बहुसङ्ख्यक समाज मांसाहारी छ भने त्यहाँ त्यो एउटा शाकाहारी व्यक्ति अल्पमतको टापुमा एक्लै पर्छ । अचम्मको कुरा त के छ भने, आफ्नो भिन्न र भव्य जीवनशैलीका कारण ऊ मांसाहारीहरूको नजरमा ‘अप्रिय’, ‘असामाजिक’ वा ‘अर्कै ग्रहको प्राणी’ ठहरिन पुग्छ । बहुसङ्ख्यकको आँखामा आफ्नो रुचिभन्दा फरक विमति राख्ने जोकोही पनि अनौठो, अचम्मको र त्याज्य देखिन्छ । मानौँ, असल हुनुको परिभाषा भीडको पछि लागेर भेडा बन्नु मात्रै हो ¤ यो भीडतन्त्रले व्यक्तिको विवेक, विचार र स्वतन्त्रतालाई यसरी मिचिदिन्छ कि मानिस आफू सही हुँदाहुँदै पनि समाजको अदालतमा दोषीजस्तै शिर झुकाएर उभिनुपर्ने स्थिति आउँछ ।
झन् सामाजिक र व्यावहारिक जीवनमा ‘जाती’ वा ‘भलाद्मी’ बन्न खोज्नु त झनै ठुलो पासोजस्तो देखिन्छ । कसैले गर्जो टार्नका लागि असाध्यै अनुनय–विनय गरेर, रुवाबासी गरेर ऋण लैजान्छ, तर पैसा हात परेका दिनदेखि ऊ ‘परम मित्र’बाट ‘प्रख्यात फटाहा’ बनिदिन्छ । अब आफ्नो रगत–पसिनाको पैसा फिर्ता माग्दा आफू ‘खराब’, ‘निष्ठुरी’ र ‘निर्दयी’ भई सम्बन्ध बिग्रने डर ! पैसा नमाग्दा आफ्नै उठिबास हुने – कस्तो ‘धर्मसङ्कट’ ! त्यस्तै, छिमेकीको संस्कृति र चेतनाको स्तर पनि अर्को एउटा ठुलो परीक्षा बनिदिन्छ । पल्लो कोठाको सुप्रसिद्ध छिमेकीले मध्यरातमा वा ब्रह्ममुहूर्तमा स्पिकरमा चर्को स्वरमा ‘डिस्को गीत’ बजाउँछ, जसले आफ्नो शान्ति, अध्ययन, ध्यान वा निन्द्राको निर्मम हनन गरिरहेको हुन्छ । तर, सभ्यता र शिष्टताको नाताले ‘यसो नगरिदिनुस् न’ भन्यो भने ऊ तत्कालै आगो हुन्छ, आँखा तर्छ र शत्रुता साध्न थाल्छ । अर्को छिमेकीको घरमा बा¥है महिना, चौबीसै घण्टा तासको खाल जम्छ, जहाँ हारजितको उन्मादमा चर्को स्वरमा हल्लाखल्ला, गालीगलौज र महाभारत हुन्छ । समाजको एउटा शान्तिप्रिय नागरिक भएर ‘यस्तो नगरौँ, यसले बालबच्चा र समाजमा नराम्रो असर पर्छ’ भनी सम्झाउन खोज्दा गुण्डागर्दी र झगडाको सामना गर्नुपर्छ, मानौँ सम्झाउने मान्छे नै समाजको मुख्य शत्रु हो ।
तल्लो तलामा बस्ने घनिष्ठ मित्रले बिहानको शुभ मुहूर्तमा, जब माथ्लो कोठाको मानिस चिया पिउँदै वा शान्त मनले स्वस्थ खाना खाँदै नयाँ ऊर्जाको सञ्चय गरिरहेको हुन्छ, ठ्याक्कै त्यही बेला सट्ट चुरोट सल्काएर सुइँयाँ स्वादले तान्छ । त्यो कोठाबाट निस्किएको नीलो, विषालु र दुर्गन्धित धुवाँ भ¥याङ, झ्याल, ढोका हुँदै माथिल्लो कोठमा बस्ने मानिसको मुखैमा, नाकभित्र र श्वासनलीमै जबरजस्ती पस्न आइपुग्छ । अब त्यो ‘धुवाँवाल मित्र’ लाई के भन्ने ? केही भनौँ भने रिसाएर, रातोपिरो भएर सम्बन्धमा दरार आउने, नभनौँ भने आफ्नै स्वास्थ्य दिनप्रतिदिन बर्बाद हुने ! अरूको स्वच्छन्दता र स्वतन्त्रताको सम्मान गर्ने धुनमा मानिसले आफ्नै आधारभूत बाँच्ने अधिकार र स्वच्छ हावा पाउने नैसर्गिक अधिकारसमेत गुमाउनुपर्ने यो कस्तो सभ्य समाज हो ?
यहाँ खराबलाई असल बनाउने र सुधार्ने प्रयासहरू कतिपय अवस्थामा बालुवामा पानी हाले सरह, भैँसीको अगाडि बिन बजाए सरह निरर्थक साबित हुन्छन् । चेतना र विवेकको दियो झ्याप्पै निभाएर अन्धकारमा बसेका मानिसहरूलाई सम्झाउन खोज्नु भनेको आफ्नै ऊर्जा, ओज र समयको बर्बादी मात्र जस्तो देखिन्छ । जब समाजमा खराब मानिसहरूलाई आफ्नो गल्तीको कति पनि महसुस हुँदैन र उनीहरू आफ्नै विकृति र विसङ्गतिलाई मौलिक अधिकार सम्झन्छन्, तब असल मानिसहरूका लागि यो समाजमा शान्तिसँग बाँच्ने वातावरण हुँदो रहेनछ ! खराबलाई कसै गरी सुधार्न नसकिने यस्तो पथभ्रष्ट, पतित र खराब वातावरणमा आफू मात्रै असल बनेर, आफ्ना सिद्धान्तहरू जोगाएर र आफ्नो मर्यादाभित्र रहेर बाँच्नु निकै गा¥हो, कष्टकर र मानसिक रूपमा अत्यन्तै पीडादायी र सकसपूर्ण काम हुन पुगेको छ ।
तर, यति भन्दैमा के असलपनको अन्त्येष्टि वा विसर्जन नै यसको समाधान हो त ? अवश्य होइन, कदापि होइन । बरु, ‘सबैको प्यारो’ बन्ने भ्रमको त्यान्द्रोलाई चटक्क चुँडाल्नु नै वास्तविक बुद्धिमानी हुन्छ । असल हुनु भनेको अरूको खराब र कुरूप बानीमा ल्याप्चे लगाउनु वा तिनीहरूका गलत क्रियाकलाप सहेर मौन बस्नु कदापि होइन । सत्य बोल्दा, आफ्नो अधिकार खोज्दा र विकृतिको डटेर विरोध गर्दा यदि कोही रिसाउँछ, कराउँछ वा सम्बन्ध अमिलो हुन्छ भने, त्यस्तो अमिलो र सडेको सम्बन्धको अवसान नै श्रेयस्कर हुन्छ । जड्याहा, जुवाडे वा धूमपान गर्ने साथीलाई खुसी पारेर आर्जन गरिने ‘सद्भाव’ वास्तवमा सद्भाव नभएर विनाशको आमन्त्रण हो, आफ्नै खुट्टामा बन्चरो हान्नु हो । छिमेकी वा कोठावालको गलत बानीलाई सहेर बस्नु भनेको उनीहरूको अपराधलाई मौन समर्थन दिनु र कायर बन्नु हो । त्यसैले, समाजमा असल बनेर बाँच्नका लागि एउटा बलियो आत्मिक साहस, स्पष्ट अडान र बलियो लक्ष्मणरेखाको आवश्यकता पर्छ, जहाँ हामी अरूलाई खुसी पार्नका लागि आफ्नो आत्मसम्मान र विवेकको सौदाबाजी गर्दै गर्दैनौँ । भीडभन्दा अलग उभिएर, भीडतन्त्रको प्रवाहलाई लत्याएर पनि यदि कोही आफ्नो सात्विकता, सदाचार र स्वाभिमानमा अडिग रहन सक्छ भने, ढिलोचाँडो यो संसार र समाजले उसको वास्तविक मूल्य बुझ्न बाध्य हुन्छ । संसारलाई बदल्न नसकिएला, तर संसारको कुरूप, कसिलो र कलुषित प्रवाहमा आफूलाई बग्न नदिनु नै वास्तवमा यो कठिन समाजमा असल बनेर बाँचिरहने एकमात्र उत्तम, उत्कृष्ट र विशिष्ट कला हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *